Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

कांग्रेस, एमाले ३० दलका सामु दयनीय

०६ बुधबार , फाल्गुण २०७१११ बर्ष अगाडि

 नेपाली कांग्रेस र एमालेले बहुमतीय संविधान बनाउन गरेको प्रयास पानी पानी भएको छ। ३० दलीय मोर्चाले विभिन्न समयमा भएका पूर्व सम्झौता र अन्तरिम संविधानअनुसार सहमतिकै आधारमा संविधान निर्माण गर्ने प्रतिवद्धता नजनाए वार्तामा बस्दैनौं भनेपछि कांग्रेस, एमालेको सत्ता 'थाल खाउँ कि भात खाउँ'को दोधारमा अड्किएको छ। प्रक्रिया अघि बढाएर भएको दुई तिहाईले संविधान बनाउन पनि नसक्ने, एमाओवादी, मधेशवादीको पहाड तराई छुट्याउने र पहिचानका नाममा जातीय राज्यको शर्तलाई स्वीकार पनि गर्न नसक्ने अप्ठेरो स्थितिका रकाण कांग्रेस, एमालेको दुई तिहाई ३० दलीय मोर्चाका सामु 'दयनीय' बन्न पुगेको छ।
लोकतन्त्रको महिमा मण्डन, जोकतन्त्रमा रुपान्तरण भनेको यही हो भन्छन् विश्लेषकहरु। प्रचण्ड कांग्रेस, एमालेको थरथर कामेको मनस्थिति बुझेपछि वार्ता हुन्छ, हुन्छ जस्तो पनि गर्ने, प्रधानमन्त्री र केपी ओलीसँग कुराकानी पनि गर्ने र १६ गतेदेखि हुने जनविद्रोह, जनसभालाई सबैभन्दा शक्तिशाली रुपमा प्रदर्शन गर्ने तैयारीमा जुटेका छन्। प्रचण्डले मोर्चाका सबै ठूला नेताहरुलाई जिल्ला जिल्ला खटाएका छन् र राजधानीमा भीड जुटाउने जिम्मा पनि दिएका छन्। जनप्रदर्शनको पहिलो रिहर्सल आइतवार सबै जिल्ला कार्यालयमा धर्ना दिएर सुरु गरिएको छ। यसको फाइनल प्रदर्शन फाल्गुन १६ गते राजधानीमा गरिनेछ र त्यही सभाको रुपरङ्ग, भीडभाड र मुड हेरेर प्रचण्डले मञ्चबाट सरकार घर्ने, सरकारी कार्यालय कब्जा गर्ने, सडक संविधानसभाको बैठक गर्ने, समानान्तर सरकार चलाउन, संविधानसभा नै परित्याग गर्ने लगायतका अनेक घोषणा गरेर कांग्रेस, एमालेको प्रक्रियाबाट संविधान निर्माण गर्ने प्रयासलाई धुलोपिठो पार्न 'अन्तिम झट्का' दिने तैयारीमा लागेका छन्। प्रचण्डको जनयुद्ध जनआन्दोलनमा रुपान्तरण भएपछिको पहिलो रौद्ररुप हुने प्रचण्ड निकटस्थहरुको अनुमान छ।
हुन त प्रचण्ड संविधान निर्माणको अनिवार्य तत्व हुन् र उनको सहमति बेगरको संविधान कल्पना पनि गर्न सकिन्न। एमाओवादी पाँच टुक्रा भए पनि संस्थापन पक्ष प्रचण्डकै नेतृत्वमा कायम छ र उनको असहयोग, असहमति र आलोचना भयो भने संविधान एकघण्टा पनि चल्न सक्दैन। यही बुझेका कांग्रेस, एमाले प्रचण्डलाई दुई तिहाईका सामु निहुरीमुण्टी 'न' पार्न सम्पूर्ण राजनीतिक शक्ति लगाइरहेका छन्। प्रचण्ड पनि कांग्रेस, एमालेलाई आफ्ना शर्तमा 'घोप्टिन' बाध्य पारेरै छाड्ने रणनीतिमा अडिग छन्। प्रचण्डका लागि सबैभन्दा महत्वपूर्ण उपलव्धि भनेको सत्ता नभई पानीबिनाको माछाजस्तो छटपटिने मधिशे नेताहरुलाई कसरी इन्ट्याक्ट राख्न सके र मधिशे नेताहरुले अहिलेसम्म कसरी प्रचण्डलाई समर्थन गरेर बसेका छन् भन्ने विषय आश्चर्यपूर्ण परिदृश्य हो। यसको मूल कारण भनेको ठूला नेता महन्थ ठाकुर, राजेन्द्र महतो, हृदयस त्रिपठीलगायतले चुनाव हारेका छन् र उनीहरुकै कारण मधेसे पार्टीहरु प्रचण्डका साथमा बस्न बाध्य भएका हुन्। चुनाव जित्ने उपेन्द्र यादव र विजय गच्छदारले पटक पटक वार्तामा बस्नुपर्छ भने पनि उनीहरु अदृश्य आकाशवाणीका कारण कांग्रेस, एमालेलाई साथ दिन वा प्रचण्ड मोर्चालाई छाड्न नसकिरहेको विश्लेषण पनि भइरहेको छ।
जेहोस्, कांग्रेस–एमाले सँग दुईतिहाई मतको समर्थन छ। तर, तुरुपको एक्का बनेर प्रचण्ड घुर्की, धम्की, शर्तबन्दी गरेर फकिरको लकिर बनेर बसिरहेका छन्। यहीकारण हो, कांग्रेस, एमाले न संविधान निर्माण, न सहमति भएर रनभुल्लमा परेको छ। सभामुख सुवास नेम्वाङले अनिश्चितकालका लागि संविधानसभा स्थगित गरिदिएका छन्। यो अनिश्चितकालको अन्त्य फाल्गुन १६ को प्रचण्ड जनप्रदर्शनपछिमात्र आउने हो जस्तो देखिदैछ। प्रचण्डलाई कुनै जनताले साथ दिदैनन् भन्ने सत्ताधारीहरुको मत छ। प्रचण्ड त्यो धारणालाई गलत र आफ्नो अडानलाई यही जनप्रदर्शनबाट सही शिद्ध गर्न खोजिरहेका छन्। यदि जनताले साथ दिएको देखियो भने फाल्गुन १६ गते खुलामञ्चबाटै प्रचण्डले कांग्रेस, एमालेलाई तिमीहरु गलत हौ भनेर धमास दिनेछन्। नेपाली राजनीतिले फागुन १६ गते देखि नै कोल्टे फेर्न सक्छ भन्छन् राजनीतिक विश्लेषकहरु।