काठमाडौं । पूर्वराजा मधेस दर्शनमा निस्केका छन् । मधेस यतिबेला राजतन्त्रमय बनेको छ । पूर्वराजाको एउटा सानो चिर्कटो वक्तव्यले हल्लिएको क्याविनेटभित्र पूर्वराजाको तराई दर्शनको चर्चा त छ तर विमलेन्द्र निधि, प्रधानमन्त्री प्रचण्ड अथवा राजतन्त्रविरोधीहरु जिब्रो तालुमा टाँसेर बसेका छन् । प्रतिक्रिया दिएका छैनन् ।
सुरक्षाको लावालस्कर लिएर हिड्ने सत्ताधारी नेताहरुभन्दा पृथक पूर्वराजा मोटरमा जनताका माझ पुगिरहेका छन्, जयजयकार सुनिरहेका छन्, मुसुमुसु हाँसिरहेका छन् । पूर्वराजाको पूर्वी मधेसमा राम्रै स्वागत, सत्कार भइरहेको छ । आमनागरिक पूर्वराजाका सामु माउरीले रानो छोपेझैं छोप्न थालेका छन् । लोकतान्त्रिक गणतन्त्रमा राजतन्त्रको यो आकर्षण आश्चर्यजनक हो । मधेसका जनताको नाडी छाम्नमात्र पूर्वराजा तराई झरेका होइनन्, अव उनी मैदानमा उत्रिएका हुन् भन्ने छनक देखिन्छ । फागुन ७ गतेको सन्देशमा समेत ठाडो शव्दमा पूर्वराजाले प्रजातन्त्र भनेको यही हो ? भन्ने प्रश्न गरेका छन् । बुझ्नेका लागि यो ठूलै प्रहार हो ।
राजावादी भनिने राप्रपा अधिवेशनका लागि राजधानीमा भेला भएको छ । राप्रपाले लोकतान्त्रिक राजतन्त्र र हिन्दूराष्ट्रको पार्टी सिद्धान्त पारित गरिसकेको छ । तर पूर्वराजा यही बेलामा तराई झर्नु र तराईका आमनागरिक झुम्मिनुले राजतन्त्र समाप्त भइसकेको छैन भन्ने पर्याप्त प्रमाणहरु देखिन्छन् ।
सिके राउत अथवा मधेसी मोर्चामा के त्यस्तो आकर्षण होला र ? पूर्वराजाले पूर्वी तराईलाई राजतन्त्रमय नै बनाइदिएका छन् । राजधानीमा चुनावी रन्को र सहमति खोजिदैछ, पूर्वराजा तराई दर्शन गरेर राजतन्त्रको माहोल खडा गर्न सफल भइसकेका छन् । उनको यो तराई दर्शन अझ व्यापक भयो भने के होला ?


