धर्मरत्न श्रेष्ठ-
अमेरिकामा हिलारी क्लिन्टनले चुनाव जित्ने हावामात्र चलेन, हुरी नै चल्यो । जता हेरे पनि हिलारी हिलारी देखियो । जब चुनावको मतगणना भयो, पपुलर भोट हिलारीको पक्षमा देखिए पनि अमेरिकी चुनावी पद्धतिअनुसारको चुनावमा हिलारी धेरै पछाडि परिन्, हिलारी चुनाव हारिन् ।
चुनाव सकिएपछि डेमोक्य्राट राष्ट्रपति बाराक ओवामा, हिलारी र उनका समर्थकहरुले रुसमाथि आरोप लगाइरहेका छन् । वेभसाइट ह्याक गरेर रुसका राष्ट्रपति पुटिनले हिलारीलाई हराएको आरोप लगाएर हार स्वीकार गरेका छन् ।
अर्थात ट्रम्पले चुनाव त जिते, उनको जितको पछाडिको कारण चर्को राष्ट्रवाद प्रमाणित हुनपुग्यो । ट्रम्पले अमेरिकावादको यसरी प्रचार गरे कि त्यो प्रचारका सामु हिलारी क्लिन्टनको आकर्षक व्यक्तित्व र ओवामाको राष्ट्रपतित्व पनि फिका भयो ।
त्यही भय देखेका छन् नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा पनि । बाबुरामको कथन छ– नेपालमा ओलीजमको हावा बग्ने खतरा छ ।
छ, किनभने केपी ओलीले यति चर्को राष्ट्रवाद र भारतीय हस्तक्षेपको आवाज उठाएका छन् कि ओलीको आवाज सुन्न सिंगो मुलुक तैयार छ । संविधान संशोधन र भारतवादको पक्षमा सत्ताधारी कांग्रेस र माओवादीमात्र रहेका छन् । यतिमात्र होइन, संसद र सडकमा भएका कम्युनिष्टहरुसमेत सत्ताधारीको विपक्षमा छन् । डा.बाबुराम भट्टराई राम्रो विश्लेषक पनि हुन् । उनको विश्लेषण सही देखिदैछ ।
यही स्थितिमा अथवा संविधान संशोधन गरेर निर्वाचन घोषणा गरियो भने ओलिजमले काम गर्ने निश्चित छ । विकल्प यिनै दलहरुमा खोज्ने हो र कम खतरनाक एमाले देखिएकाले जनताले एमाले रोज्नेछन्, बाबुराम सही हुनेछन् ।


