Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

०३ सोमबार , माघ २०७३९ बर्ष अगाडि

नेपाल सुधार्ने कसले ?
राजन कार्की
राजनीतिक नेतामा राष्ट्रपतिको एउटा सोच हुन्छ, जनताप्रतिको जिम्मेवारीवोध पनि हुन्छ । त्यही सोच र बोधको मार्गमा एउटा अर्जुनदृष्टि बनाएर राजनैता राजनीति गर्छ । नेपाली नेताहरुमा त्यस्तो चरित्र देखिन्छ त ?
यो गहन प्रश्न हो । किनभने पञ्चायत निरंकूश भनेर फालियो र बहुदल ल्याइयो । बहुदल बहुलायो, अचाक्ली भ्रष्टाचार अर्थात बहुदलीय शासनकाल भ्रष्टाचारकाल भनेर आज पनि बदनाम छ । सानो कार्यकालका लागि राजाले शासन हातमा लिए, उनमा सोच थियो, बोध हुनसकेन । अर्थात राजतन्त्रले जनतालाई बुझाउनै सकेन र राजनीतिक दल र विदेशी छलको समायोजनले राजतन्त्रलाई सामन्त र निरंकूशताको पहाड बनाएर बदनाम गरिदियो । जसका कारण आमनागरिक घरघरबाट सडकमा निस्किए । निरंकूशता र सामन्तको अन्त्यका लागि ऐतिहासिक आन्दोलन देखियो । ऐतिहासिक यस अर्थमा पनि कि जनयुद्ध गरिरहेको माओवादीसमेत यो आन्दोलनमा उत्रियो र राजतन्त्र फालेपछि आफ्नो जगजगी हुने सपना देखेर जंगलबाट लोकतन्त्र भन्दै सडकमा आएको हो ।
नभन्दै आन्दोलन सफल भयो । राजाले जनताका सामु आफूलाई नतमस्तक पारिदिए, मूर्दा संसदमा ज्यान हालिदिए । संसद ब्यूँझियो, राजतन्त्र बेहोस भयो र २०६३ सालमा बेहोस भएको राजतन्त्रलाई २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गरेर समाप्त पारियो । अर्थात लोकतन्त्र स्थापित भयो, लोकतन्त्रमा लोकनेताहरु राजनेताका रुपमा उभिनुपर्ने हो, ०६३ सालदेखि २०७३ साल माघसम्म आइपुग्दा प्रष्ट देखिन्छ, नेपालमा राजनीतिक नेता, राजनेता कोही पनि छैनन्, जे छन्, जे देखिन्छ, छद्म रुपमा बसेको शक्तिले नेपाली धर्ती र नेपाल सरकारका नाममा बुख्याँचा उभ्याइदिएको छ र बुख्याँचाले तर्साइरहेको छ ।
आफू बन्ने चिन्ता सबैलाई छ, देश बनाउने इच्छा शक्ति, प्रेरित गर्ने तत्वको अभावले नेपाल बिग्रदै गएको हो । व्यक्ति फेरियो, व्यवहार फेरिएन, व्यवस्था फेरियो, मनस्थिति फेरिएन । कुवाको व्याङ उफ्रेझैं भएको छ हाम्रो राजनीतिक परिवर्तन । देश बनाउन इमानदार देशभक्त हुनुपर्छ, तीनपाथी कालो मनमा राखेर मुखले सख्खर दलेको भाषण गर्दैमा देश बन्नसक्दैन । चुरो कुरो, नेपाल बिग्रनुको मूल जरो यही हो ।
जर्मनीमा विस्मार्क भन्दा कम थिएनन् नेपालका पृथ्वीनारायण शाह । इटलीका ग्यारीवाल्डीभन्दा सुरवीर, महत्वकांक्षी र देशभक्त थिए महेन्द्र । आफूलाई नेपाली भन्छन्, नेपाल निर्माता पृथ्वीनारायण शाहलाई बिस्तारवादीको आरोप लगाउूछन् । महेन्द्रलाई प्रजातन्त्रको दुश्मन भनेर थाक्दैनन, त्यही महेन्द्रको विकासमा नाक फुलाएर शासन गरिरहेका छन् । पृथ्वीनारायण शाहले नेपाल निर्माण गरिदिए, महेन्द्रले नेपालीत्वको जगेर्ना गरिदिए, त्यो राम्रो कुरामा गौरव गरेर सुनमा सुहागा बनाउने प्रयास कुनै नेताले गरे ? गरेनन् । राम्रो कुराको अनुकरण गर्दैमा राजतन्त्र फर्कने होइन । बरु नराम्रो, देशघातक र राजनीतिक पातक कामले यी नेताहरुको श्री र श्रेय दुबै बिनष्ट भइसकेका छन् ।
राष्ट्रलाई गौरवपूर्ण बनाउने राजनीतिले हो । स्पेनलाई इसावेल र फर्डिनान्डले सम्पन्न बनाइदिए, अमेरिकालाई आजको अमेरिका बनाउने श्रेय जर्ज वाशिङ्टन र अब्राहम लिंकनलाई जान्छ । शक्तिशाली बृटेनको निर्माणमा चर्चिलको योगदान छ, भारतले महात्मा गान्धी, नेहरुलाई कहिल्यै बिर्सन सक्ला ? हाम्रा नेताहरु जय प्रकाश नारायण भन्छन्, माओ, माक्र्स, गुजभानको चेलाचपेटा हुू भनेर नाक फुलाउूछन्, पृथ्वीनारायण शाह भन्यो भने जातै जान्छ भनेजस्तो गरिरहेका छन् । सातु खाएर पेडाको धाक भनेको यही हो ।
राजतन्त्रलाई गाली गर्दै बिस्तारवादको तलुवाचाट्नेहरु विदेशीका सामु लम्पसार परेर अहिले पनि भ्रमको खेती गरिरहेका छन् र राज्यशक्तिमा ढसमस्स बसेर डुङडुङ्ती गनाइरहेछन् । १० वर्षे जनयुद्ध जनआन्दोलनमा रुपान्तरण भएर लोकतन्त्रको सुरुआत हुूदा हामी सबैले माओको चीनमाजस्तै अव नेपालमा पनि आर्थिक विकासको मूल फुटाउने देङसियाओ पिङ जन्मने सपना देखेका थियौं । हाम्रा जनयुद्ध र जनआन्दोलनको राजनीतिक भुङ्ग्रोमा खारिएर निस्केका नेताहरुले मलेसियाको आर्थिक कायापलट गर्ने महाथीर महोमद वा रछ्यानमा भातका सिता टिपेर खाने कोरियाली जनतालाई सम्पन्नताको शिखरमा पुर्‍याउने पार्क गुन हेलाई माथ गर्नेछन् भन्ने विश्वास गरिएको हो ।
हाम्रा नेताहरुले नेल्सन मण्डेलाले जस्तो संघर्ष त गरे तर भ्रष्टाचारमा आहाल बसेकी श्रीमती बिन्नी मण्डेलालाई त्याग गरेर दक्षिण अफ्रिकी जनताका लागि जीवन अर्पण गरेजस्तो देशभक्ति देखाउन सकेनन् । देशलाई सम्पन्न, शक्तिशाली र सहज बनाउने नेतृत्वले हो । हाम्रो नेतृत्व न मेहनती भयो, न मानवीय मूल्यमा खरो उत्रियो, न समृद्धिको अर्जुनदृष्टि नै राख्न सक्यो । छानोमा आगो सल्काएर खरानी बेच्ने बनिया र हाम्रा नेतामा भिन्नता देखिन्न । राजनीतिलाई हाठबजार बनाएर नेताहरु फौबञ्जार बने, फलत राष्ट्रिय नीति, उद्देश्य, योजनामात्र होइन, शान्तिव्यवस्थासमेत नराम्ररी खलबलिन पुगेको छ । लोकतन्त्रमा चरित्र मूल्यवान हुन्छ, त्यो मूल्यवान चरित्रको अभाव स्यालको सिङ् हराए जसरी हराएको छ । लोकतन्त्र आम नागरिकका लागि इन्तु न चिन्तुको व्यवस्था साबित भइसक्यो । विश्वका जो कसैले नेपाल हेर्‍यो, देख्यो, उसका लागि नेपाल प्राकृतिक सुन्दरताको खानी– क्लियोपेट्रा हो । क्लियोपेट्रा रोमकी सुन्दरी थिइन्, उनको सुन्दरताका प्राप्ति गर्ने महत्वकांक्षा राख्दा रोमको सभ्यतामात्र होइन, इजिप्ट र ग्रीसको समेत पतन भएको इतिहास छ । सगरमाथा, बुद्ध र हिन्दुधर्मको शिखर राष्ट्र नेपाल, प्राकृतिक रुपमा संसारमै सुन्दर त छ नै, आधुनिक सामरिक महत्वको भूमि पनि हो । स्ट्राटफरजस्ता सैनिक विश्लेषक संस्थाको किटानी रिपोर्ट पनि नेपाली भूमिबाट एसिया कन्ट्रोल गर्न सकिन्छ भन्ने छ । यसबाट नेपालको महत्व कति छ, भनिरहनु पर्दैन ।यसैले उत्तर र दक्षिणमात्र होइन, पश्चिमाहरु पनि नेपालमा कूटनीतिक अड्डा जमाएर राजनीति बगारिरहेका छन् । नेपाल यसै गरेर असंलग्नबाट कहिले कता, कहिले कता संलग्न हुूदै जाने र नेपालीत्व नेताहरुको लहडमा जोखिममा पार्दै जाने हो भने विध्वंसकारी युद्धको विभिषिका यही भूमिबाट नसल्केला भन्न सकिन्न । किनकि त्यस्ता डरलाग्दा आहडहरु विश्लेषकहरुले सुन्न थालिसकेका छन् । 
हाम्रा नेताहरु सत्ता, शक्ति र सम्पत्तिका लागि हदैसम्मको लोभमा फस्दै गएका छन् । उनीहरुले मानवीयता र लोकतन्त्रका आचरण भुलिसकेका छन् । पहिले बिद्रोहको उवालमा थिए, अहिले शक्तिको उन्मादमा उम्लिरहेका छन् । इजिप्ट र रोमका सिजर र एन्टोनीजस्तै बनेका छन्– हाम्रा राजनीतिक नेता र दलहरु जो सुन्दरी किल्योपेट्रा प्राप्त गर्नजस्तै सत्ता र शक्तिका लागि आपसमै माराकाटको मैदानमा उत्रिसकेका छन् । त्यो गृहयुद्धले सभ्यताको बिनास गर्‍यो, यो मारामारले जनयुद्धमा १७ हजार मारिएजस्तै अर्को नरसंहारको मृत्युघण्ट बजाइरहेको छ । नेपाल बिग्रनुमा नेतृत्व भ्रष्ट भएर हो । यो निष्कर्ष एम्नेष्टी, ट्रान्सप्यारेन्सीदेखि स्वतन्त्र पर्यवेक्षकहरुको हो । नेपालमा विकासका नाममा, सुशासनका नाममा, न्याय र समानताका नाममा कामभन्दा बढी कागजी घोडा दौडाइन्छ । जहाू कागजी घोडा दौडिन्छ, त्यहाू विकास भाषणमा मात्र सिमित हुनु स्वभाविक हो । नेपालमा अपार स्रोत, साधन, क्षमता, योग्यता केही कुराको कमी छैन । कमी छ त इच्छाशक्ति र इमान्दारिताको ।
शंका छैन, आमनेपाली स्वाभिमानी छन्, सहनशील छन् र सरल छन् । शायद लडाकु जातिको पहिचान यही हो । यस्ता जनताका नेता कस्ता ? जनताको यही प्रवृत्तिले नेताहरुलाई नैतिकहीन बनाइसकेको छ । जसको महगो मूल्य राष्ट्र र जनताले चुकाउन थालिसकेको छ । जनयुद्धमा भारत जम्यो, ज्यान नेपालीको गयो । परिवर्तनपछि अवसरवादी र विदेशी हावी भए, हार नेपाल र नेपालीको हुँदैछ । नेतृत्व परजीवी भइदिएपछि नेपालको विमारी सुरु भयो, नेपाल बिग्रदै बिग्रदै गयो । व्यवस्था नीतिमा चल्नुपर्छ । राष्ट्रसूग राष्ट्रिय नीति हुनुपर्छ । वर्तमान कालखण्डमा न व्यवस्था व्यवस्थित छ, न नीति नै कायम छ । कुनै पनि क्षेत्र नीतिमा बाँधिएको छैन । नेता नीतिमा नबाँधिएपछि सुशासन कूशासनमा स्वत: रुपान्तरण हुनेरहेछ । अग्लो नेतृत्व स्वार्थलम्पट भएपछि कसरी धरासायी हुनेरहेछ । फलामलाई खियाले खान्छ, नेतृत्वलाई स्वार्थले सिध्याउने रहेछ । नेतृत्व सिद्धिए हुन्थ्यो, यहाँ त देशै सिद्धिन बेर नलाग्ने आहड सुनिन थाल्यो । नेताहरुमा जनयुद्ध र जनआन्दोलन गर्ने क्षमता र आत्मबल, यतिबेला भिजेको परालजस्तो बन्न पुगेको छ । यिनीहरुभित्र रहेको राजनेता बन्छु भन्ने तत्कालीन सपना शोम शर्माको घैंटो बनिसकेको छ । राणा र राजालाई सत्तोसराप गरेर मात्र के गर्नु, तिनको जत्ति पनि राष्ट्रभक्ति वर्तमान नेतृत्व एकजनामा पनि छैन ।
हाम्रो नेतृत्वले राष्ट्रको आर्थिक हड्डी बलियो बनाउने कल्पना गरेका थियौं, यिनीहरु राष्ट्रलाई भ्रष्टाचारको दलदल बनाएर आफै कुवेर बनेर देखाइदिए । हामीले यिनै नेतामा सिँगानपुरलाई सिंगापुर बनाउने ली क्वान यु खोज्यौं, यिनले त स्वर्गजस्तो नेपाललाई नर्क बनाइदिए । हामी देश बनाउने अठोठ खोज्दै थियौं, यिनीहरु रेमिटान्स अर्थतन्त्र चलाउन अभ्यस्त बनिरहेका छन् ।
नेपालमा अब्बल स्तरको युरेनियम भण्डार भेटियो । ट्राउट माछा, फ्रेस वाटर, नवीकरणीय उर्जाको त सदावहार खानी नै हो यो हिमाली मुलुक । प्राकृतिक सुन्दरता त माथि नै भनियो, प्राकृतिक क्लियोपेट्रा हो नेपाल । प्रजातन्त्र आयो, देश निर्माणको खाका आउन सकेन । लोकतन्त्र भनियो, आर्थिक विकासभन्दा बिनासको मात्रा बढ्दैछ । छलछामको राजनीति र छली कुराले घुन लागेको अन्नजस्तो खोक्रो बन्दैछ मुलुक । अमेरिकीहरु भन्छन्– नेपालको मुख्य शक्ति विविधतामा एकता हो । त्यो एकतालाई भताभुङ्ग, लथालिङ्ग पारेर नेपाललाई कमजोर पार्न विदेशी चालमा फसेका विदेशपरस्त नेताहरु सफल भइसके । मिलापको देश नेपालमा यतिखेर जता गयो उतै चित्कार सुनिन्छ, विलापै बिलाप देखिन्छ । नेपाल बिगारिदिए ।
नेपाल सपार्ने कसले ? खै चिन्ता ?