Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

जनवाद भन्दाभन्दै सुस्तायो बुढो कम्युनिष्ट पुस्ता

०३ सोमबार , माघ २०७३९ बर्ष अगाडि

    मदन भण्डारीलाई त्रिशुलीमा हालेर मारियो, कुनै छानबिन हुनसकेन । यो दुर्घटना हो कि हत्या, आजसम्म रहस्य नै रहेको छ । यसवीचमा माधव नेपाल, झलनाथ खनाल र केपी ओली तीन शीर्ष नेता प्रधानमन्त्री भए र अहिले उनै मदन भण्डारीकी पत्नी राष्ट्रपति छिन् । तैपनि मदन भण्डारीको अवसान आश्चर्यमै छ ।
    यसरी बुढा कमरेडहरु मदन भण्डारी फाउण्डेशनमा जम्मा भइरहेका थिए, मदन भण्डारीलाई सम्झना गरिरहेका थिए र कम्युनिष्ट आन्दोलनको अनुभव सुनाइरहेका थिए । राष्ट्रपति विद्या भण्डारी संवैधानिक प्रमुखहरुलाई शितल निवासमै बोलाएर घ्यूचाकु ख्वाइरहेकी थिइन् । सबैभन्दा चिसो दिन, भूकम्प र बाढी पहिरो पीडित कसरी बाँचेका छन्, चासो नै थिएन ।
    राष्ट्रपति कमरेड विद्या भण्डारी ठूला दलहरुलाई निम्याएर घ्यूचाकु ख्वाउँदै थिइन्, मदन भण्डारी फाउण्डेशन अस्ताचल पुगिसकेका कम्युनिष्ट पितामाताहरुलाई बोलाएर पाटनको यलमाया केन्द्रमा जमघट गराउँदै थियो ।
    सबैभन्दा चिसो दिन छिप्पिदै गर्दा लागेको पारिलो घाम ताप्न जम्मा भए– मोहनविक्रम सिंह, कृष्णराज बर्मा, डिपी अधिकारी, कमलराज रेग्मी, अरबिन्द रिमाल, मोहन बैध, मोदनाथ प्रश्रित । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पनि बुढो भएको अनुभूति गर्न थालेछन् कि के हो, उनी पनि उपस्थित भए र कम्युनिष्ट आन्दोलनबाट थाकेका र जनवाद ल्याउने अभियान सफल पार्न नसकेका पुस्ताका कुरा सुनिरहेका थिए । एकप्रकारले यो स्कूलिङ थियो, कम्युनिष्टका हेड सरहरु जम्मा भएका थिए, तर विद्यार्थी थिएनन् । एमालेलाई एमाले बनाउने मदन भण्डारीको सम्झना उनकै धर्मपत्नी, आजकी नेपालकी राष्ट्रपति विद्या भण्डारीले समेत मूल्याङ्न गर्न सकिरहेकी देखिन्नन् । एमालेका अन्य अगुवा नेताहरुले मदन भण्डारी फाउण्डेशनमा उपस्थित हुने प्रयास समेत गरेनन् ।
    आश्चर्य, पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवस मनाउनु पर्छ भनेर अगुवाई गर्ने एमाले नेता मोदनाथ प्रश्रितले पृथ्वी जयन्तीको कुरा उच्चारण समेत गरेनन् । राष्ट्र निर्माताप्रति कम्युनिष्ट नेतृत्वको शासनले न हिजो, न आज मान्यता दियो, न सम्मान नै गर्‍यो भनेर बहस चलाएनन् । विषयको उठान नै नभएपछि अन्य दिग्गज कमरेडहरुले त्यसबारेमा विचार दिने कुरो पनि भएन । पुराना नेताहरुले बोले, जे बोले, कम्युनिजम बगारे । राजतन्त्र भएकै बेलामा पनि कम्युनिष्ट शासन बनाएर विश्वलाई चकित पारेको सम्झना गरे, लोकतन्त्र ल्याउनुमा कम्युनिष्ट आन्दोलनको अनुपम देन रहेकोमो मख्ख परे अनि लोकतान्त्रिक आन्दोलनको राष्ट्रिय चरित्र र राष्ट्रवाद लाई परिभाषित गर्न नसकेकोमा गुनासो पनि गरे । फाउण्डेसनलाई धन्यवाद दिए तर विदेशी हस्तक्षेप बढेको, कम्युनिष्ट शासन विदेशीको गुलाम बन्न थालेकोमा कुनै चासो र चिन्ता प्रकट गरेनन् । मानौं, प्रचण्ड शासन प्रतापि शासन हो, यसको गुणगानमात्र गाउनुपर्छ भन्ने यी बुढा नेताहरुको बोधो दिमागमा पसेको रहेछ कि के हो ? 
    मदन भण्डारीको सम्झना चाहिं गरे, घाम तापे र कार्यक्रम सकियो ।
    मोदनाथ प्रश्रितले सबै बुढा नेताहरुलाई योगको महिमा गुणगान गरे, नियमित योगा गरेर आयु बढाउन सकिने सुझाव दिए ।
       – न्यूज डेस्क