Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

ह्याप्पी भ्यालेन्टाइन : रोशन कार्की

०३ आइतबार , फाल्गुण २०७१११ बर्ष अगाडि

भ्यालेन्टाइन अर्थात प्रेम दिवसको महत्व युवायुवतीलाई भन्दा बढी राजनीतिक बुढा नेताहरुलाई आवश्यक देखिन्छ। बोलचालै बन्द गरेर, सत्ताविरुद्ध सडक आन्दोलन गर्न हिडेका शान्ति र संविधानलाई द्वन्द्वमय बनाउने बुढा नेताहरुको मुहारमा पनि हाँसो देखिएको छ, भेटघाट बाक्लिन थालेको छ, कानेखुशी हुनथालेको छ। यो अवसरमा किन नभन्नेस् ह्याप्पी भ्यालेन्टाइन डे। यस्तै प्रेमले नमिलेका कुरा मिल्न सक्छन्। अड्किएको हलो निक्लिन सक्छ। तिक्तता मिठासमा बदलिन सक्छ। फेब्रुअरी १४ अर्थात फागुन २ गते युवायुवती, बृद्ध, पाकाहरुले प्रेम दिवस मनाए, त्यही दिन राजनीतिक गाँठो फुक्न थालेको र नेताहरुवीच भेटघाट र बोलचाल हुनथालेको छ। स्वयम् प्रचण्डले 'अव वार्ता हुनसक्छ' भनेर बाले। खबर आयो– राष्ट्रसंघ र अमेरिकी राजदूतको क्रियाशीलताले नेपाली राजनीतिमा रङ् चढ्नथाल्यो। त्यसैले हामी बुढा नेताहरुलाई भन्छों– ह्याप्पी भेलेन्टाइन डे।
भेलेन्टाइन डे– फागुन २ गते नेपालका लागि शुभ हुनसक्छ। यही दिन प्रचण्ड र केपी ओलीवीच कुरा भयो, प्रधानमन्त्री सुशील कोइराला र ३० दलीय मोर्चाका नेता प्रचण्डवीच धमिलो राजनीति संग्लो पार्ने प्रेम–वार्ता भयो। एकले अर्कोलाई खुइल्याउने कुरा गर्थे यी नेताहरु, अव हातेमालो गर्न थालेका छन्। यो सब भेलेन्टाइन डेको करामत नभए के हो? यो प्रेमले संविधान निर्माण र घोषणा गर्ने प्रेरणा देओस्। असहमतिहरु प्रेमपूर्ण सहमतिमा बदलिन थालोस्।
प्रणय दिवस अर्थात प्रेम, सद्भाव र मेलमिलाप हो। प्रेम जोडीहरुले रातो गुलाफ साटासाट गरे होलान्, नेताहरुले विचार साटेका छन्। हठ र शठबाट हटेका छन्, प्रेममा पदार्पण गरेका छन्। राजनीति प्रेममय बनेको छ। जय होस्, प्रणय दिवस। घरिघरि आए हुन्थ्यो यो प्रणय दिवस। ताकि टुसाएको प्रेम, सद्भाव र सदाचार अझ बढी फल्ने फुल्ने थियो। संविधान सम्भव हुनेथियो। माघ ५ को मारामार, माघ ११ पछि बन्द भएको बोलचाल र सुरु भएको मुठभेडको स्थिति रोकिएको छ। यो मुठभेडलाई रोक्ने काम प्रणय दिवसका दिन सुरु भएकोले अव संविधान बन्ने सम्भाबना प्रवल बनेर गएको छ। अविश्वास बिस्तारै विश्वासमा रुपान्तरण हुनथालेको छ। यही हो प्रणय भनेको छ।
गहिरो छ संक्रमण। अव धेरै लम्ब्याउन सकिन्न यो संक्रमणलाई। संक्रमणको अन्त्यका लागि राजनीतिक सहमति र सहकार्य जरुरी छ। द्वन्द्वका तुषहरु कांग्रेस, एमाले र एमाओवादीभित्र व्यापक छ। ती सबै बिझेका काँडाहरु रहिरहनु भनेको कुनै पनि बेला स्थिति असहज र अराजक बन्नसक्छ भन्ने भय हो। सहमतिको सुरुआत भएको छ। यो सहमति चारशक्तिका लागि होइन, मुलुकका लागि हुनुपर्छ। प्रणय दिवसले त्यतातिर नेताहरुलाई आकर्षित गरुन्। \u000aभनिन्छ, प्रेम र राजनीतिमा सबैकुरा जायज हुन्छ। त्यस्तो नहोस्। प्रेम होस्, राजनीति पनि होस् तर देशका लागि के जायज हुन्छ, त्योमात्र होस्।