
रतन बहादुर रावल(मुगु । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल किनारको मिलिचौरमा रहेको ऐतिहासिक ‘महेन्द्र चौतारी’ करिब ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ । लामो समयसम्म मर्मतसम्भार र संरक्षणको अभावमा जीर्ण बन्दै हराउन थालेको उक्त चौतारी नेपाली सेनाको पहल तथा विभिन्न सरोकारवाला निकायको सहकार्यमा नयाँ स्वरूपमा तयार पारिएको हो ।
रारा राष्ट्रिय निकुञ्जको हुटुमा तैनाथ नेपाली सेनाको श्री हनुमान ध्वज गुल्मको विशेष सक्रियतामा चौतारी पुनर्निर्माण कार्य सम्पन्न भएको हो । पुनर्निर्माण सकिएसँगै उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी पदमबहादुर बुढाले एक कार्यक्रमका बीच नवनिर्मित चौतारीको उद्घाटन गर्नुभएको छ ।
ऐतिहासिक तथा साहित्यिक महत्व
राराको मिलिचौरस्थित यो चौतारीसँग नेपालको आधुनिक पर्यटन र साहित्यको रोचक इतिहास जोडिएको छ । मुर्मा गाउँका समाजसेवी बिर्खबहादुर रोकायाका अनुसार विक्रम संवत् २०२० सालमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह रारा भ्रमणमा आउँदा मिलिचौरमा आफ्नै नाममा यो चौतारी निर्माण गर्नुभएको थियो ।
रोकायाका अनुसार राजा महेन्द्रले यही चौतारीमा बसेर राराको अनुपम सुन्दरताबाट मोहित भई “हिमालमा नेपाल कहाँबाट झर्यौ तिमी स्वर्गकी अप्सरा रारा” शीर्षकको चर्चित कविता कोर्नुभएको थियो । सोही भ्रमणपछि राराको चर्चा चुलिएको र रारालाई ‘महेन्द्र ताल’ समेत भन्न थालिएको स्थानीयको भनाइ छ ।
संरक्षणमा जुटे सेना र स्थानीय व्यवसायी
विसं २०२० मा बनेको चौतारी दशकौंसम्म उचित संरक्षण नहुँदा मासिँदै जाने जोखिममा पुगेको थियो । स्थानीय तह वा अन्य निकायबाट ठोस पहल हुन नसकिरहेका बेला ऐतिहासिक सम्पदा जोगाउने उद्देश्यले नेपाली सेनाले अग्रसरता लिएपछि चौतारीले पुनर्जीवन पाएको समाजसेवी रोकायाले बताउनुभयो ।
उहाँका अनुसार चौतारी पुनर्निर्माण अभियानमा रारा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, डाँफे होटल एण्ड लज, मष्ठो कुल देवता प्रतिष्ठान, स्मार्ट कटेज एण्ड रेष्टुरेन्ट र मनकामना रिसोर्ट लगायतका निकाय तथा पर्यटन व्यवसायीहरूले सहयोग गरेका छन् ।
पर्यटकका लागि थप आकर्षण
रारा तालको किनारैमा रहेको खुला चौर र मनमोहक दृश्यका कारण मिलिचौर पहिलेदेखि नै पर्यटकको रोजाइमा पर्ने स्थान हो । ऐतिहासिक चौतारीको पुनर्निर्माणसँगै रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण बढेको छ । हाल रारा घुम्न आउने पर्यटकहरूले चौतारीको इतिहास र राजा महेन्द्रसँग जोडिएको प्रसंगबारे चासो राख्दै त्यहाँ बसेर फोटो तथा भिडियो खिच्ने गरेका छन् ।


