Advertisement Banner
Advertisement Banner

१० बुधबार, मंसिर २०८३23rd November 2026, 12:23:53 am

Image

बालेन - स्थिरताको तोड कि राजनीतिक मोड ?

राजन कार्की

०९ मंगलबार , मंसिर २०८३१८ घण्टा अगाडि

बालेन - स्थिरताको तोड कि राजनीतिक मोड ?

बालेन साह प्रधानमन्त्री बनेको ८ महिना भयो । अराजनीतिक बालेनको कार्यकालमा नेपालको राजनीति कृष्णभीरको सुख्खा पहिरोभन्दा खतराक मोडमा छ । गत भदौ २३ र २४ को जेनजी विद्रोहले लोकतान्त्रिक नेता र व्यवस्था दुबैको ढाडको हाड नै भाँचिदिएको थियो । त्यसपछि फागुन २१ को निर्वाचनमा जनताले रास्वपालाई ऐतिहासिक मतादेश दिए, त्यही मतादेशले बालेन साहलाई प्रधानमन्त्री बनाएको हो ।
जनादेशले नयाँ पुस्तालाई शक्तिशाली बनायो, सरकारलाई जनताप्रति उत्तरदायी, सक्षम र प्रत्यक्ष वा अप्रत्यक्ष सबै प्रकारका रणनीतिक चुनौतिको सामना गर्ने शिरोभारो सुम्पेको छ । यसकारण प्रम बालेन साह शक्तिशाली छन् ।
८ महिनामा नतिजा आउने कुरा थिएन, आएको छैन । हो, संकेतहरू देखिएका छन् ।
यो अवधिमा प्रम बालेनको इमान डगमगाएको छैन ।
तथापि प्रश्न छ, रास्वपाले जनतासँग जिम्मेवार बन्ने करार गरेको थियो, घोषणापत्रमा परिवर्तन गर्ने प्रतिवद्धता थियो । पार्टी सभापतिले भनेकै हुन्– आमा, बालेनले देश बनाउँछ ।
यो वाचा पूरा गर्नेतिर प्रम बालेन अग्रसर देखिन्छन् । चुनाव जितेपछि हुने हाहा हुहु, उद्घाटन, स्वागत, भाषण, सुरक्षाको लावालस्कर, सलामीको क्रम भङ्ग भएका छन् । अनावश्यक रूपमा भीड बोकेर विदेश जाने, मौका परे नागरिक बेचेर आउने, राष्ट्रिय ढुकुटी उडाउने निरन्रता पनि बन्द भएका छन् । अमेरिका पुगेर ८ घण्टामै फर्कनु, भारत भ्रमणमा जाँदा २५ घण्टामा औपचारिक कार्यक्रम सम्पन्न गरेर फर्कनु र राष्ट्रसंघमा जुन प्रकारले प्रम बालेन प्रस्तुत भए, त्यसले नेपालको शिर उठेको छ । ८ महिनाको बालेन सरकारको विधि व्यवहारले रूपान्तरणका झिल्का र झल्काहरू देखिएका छन् ।
प्रधानमन्त्रीले भनेकै हुन्– पहिलोवर्ष सुशासनको वर्ष । भ्रष्टाचारको जरा र शासनसत्तामा लागेका ऐंजेरू छिमोल्ने क्रम तीब्र रूपमा अघि बढेका छन् । दोषीलाई कानुनी दायरामा ल्याउने जिम्मेवार पूरा गर्न अदालत नै विचौलियाको प्रभावमा परेको घटनाक्रमले सरकारलाई गाह्रो परेको छ । लघुवित्त, सहकारी ठग, मिटरव्याज, जनयुद्धपीडित र सुकुमवासीहरूको व्यवस्थापनमा ढिलासुस्ती भएको छ । छिटोभन्दा छिटो भोटेकोशी र अन्य बाढीपहिरो पीडितको व्यवस्थापन गर्दै पूर्वाधार निर्माणमा तीब्रता ल्याउनु छ । काम धेरै छन्, काम गर्न तगोरो हालिरहेका छन् प्रतिपक्षीले । जसरी पनि बालेन सरकार ढाल्न र रास्वपा फुटाउन पाए सत्तामा पुग्न सकिनेथियो भनेर बुढा नेताहरू असन्तुष्टिलाई सडक आन्दोलनको साँचोमा ढाल्ने प्रयास गरिरहेका छन् ।
राजनीतिक यथार्थ के हो भने– जेनजी विद्रोहको काँडे कोर्रा खाएका पुराना दल र नेताहरू राजनीतिक सन्निपातले सुकेका छन् । अहिलेसम्म यिनीहरू ढोडको तोक्माबाट उठ्न सकेका छैनन् । यिनीहरू सतिसाल बन्न समय लाग्नेछ, त्यतिबेलासम्म बहुदलपछिको चार दशक शासनको रजगज गरेकाहरूको उमेर साथ नदिनसक्छ । यसकारण यिनले दशैं, तिहार, छठपछि देशव्यापी आन्दोलनको आगो बाल्ने भनेर जुन हुँकार गरेका थिए, त्यो हामी पनि छौं भन्ने हाजीरीभन्दा बढी केही होइन, हुने छाँट छैन ।
सत्य के पनि हो भने जसरी नेपोलियनले युद्धका अनेक मोर्चा खोलेका थिए, जसका कारण उनले हार बेहोर्नुपरेको इतिहास जान्नेहरू भन्छन्– बालेन सरकारसँग विद्यार्थी, कर्मचारी, प्रतिपक्षी पार्टी–नेताहरू, सांसदहरू, संवैधानिक निकायमा रहेकाहरू, अदालतका न्यायाधीशहरू, वकिलहरू सबै नै रूष्ठ छन् । अब त प्रम बालेनले कूटनीतिक मोर्चा पनि खोलेका छन्, बढ्दो भूराजनीतिलाई नेपालअनुकूल बनाउने प्रयास पनि थालेका छन् । नेपालको सार्वभौमिकता कमजोर छैन भन्ने देखाउने प्रयास चानचुने साहस होइन । राजनीतिक र कूटनीतिक, आन्तरिक शासनमा समेत सरकार स्वच्छता खोजिरहेको छ, पुरानो सत्ताको नालीमा रमाउनेहरू कारवाहीको घेरामा छन्, रिसाउनु स्वभाविक हो । कतै प्रम बालेनले अनेक मोर्चामा लड्दा लड्दै असफल हुनपुगे भने ? यद्यपि आमनागरिकको साथ ८ महिनाको अवधिमा कमजोर भएको छैन । यसको मूल कारण प्रम बालेनमा भएको इमान हो । त्यो इमानले राजकाज, सुशासन, समृद्धि, परिवर्तनको कमान धान्न सक्नुपर्छ, बालेनले सक्छन् भन्ने विश्वास अहिलेसम्म दृढ देखिन्छ, जुन नेपालको राजनीतिक रूपान्तरणका लागि उत्तम मानिएको छ ।
बालेन सरकारले पाएको बिरासत, पुरानै ढर्राको छ । यही बिरासत परिवर्तन चाहने युवा सरकारका सामु जोखिम र चुनौतीको पहाड पनि हो । पुरानो ढर्राको बिरासत र नयाँ युवा सोचका वीच द्वन्द्व चर्कदो छ, परिवर्तनको आधार यही विवादको विजयमा निर्भर देखिन्छ ।
प्रम बालेन इमानको जगमा उभिएर पुस्तान्तरण र रूपान्तरण स्थापित गर्न चाहन्छन् । यसमा जतिसुकै पार्टीभित्र मतभेद, मनभेद र सभापति तथा प्रधानमन्त्रीवीच खट्पट्को प्रचार भए पनि रास्वपाको साथ र सहयोग कायम छ ।
प्रम बालेन सरकारले विधिको शासन बसाल्न र विधिबाट चल्न चलाउन सक्नुपर्छ । सार्वजकि सेवालाई जनताप्रति उत्तरदायी बनाउनुछ । भ्रष्टाचार गर्ने मनस्थितिलाई त्रसित पार्नुछ । नेपोटिजमको अन्त्य र योग्यता, क्षमता, पारदर्शिताको विश्वास जगाउनुछ । देश पहिले, त्यसपछि देशमा जनअपेक्षाअनुसारको सुधार प्रमुख एजेण्डा हुन् । जसको परिपूर्तिमा बालेन सरकारको सफलताको मापन हुनेछ ।
रास्वप नयाँ उदय भएको पार्टी र राजनीतिक शक्ति हो । यो पार्टीको संस्थागत वैधताका लागि पनि सरकार सफल हुनैपर्ने सर्त हुन् । अब स्थानीय चुनाव सम्पन्न गरेर संविधान संशोधनको प्रकृया अगाडि बढाउनुछ । यसका लागि सकभर सर्वदलीय सहमति जरूरी छ । जनताले संघीयता चाहेका छैनन्, राजतन्त्रलाई यथास्थान दिनुछ, धर्मनिरपेक्षतालाई हिन्दुराष्ट्रमा फर्काउनुछ । कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको ध्येय पनि यसमा समावेश हुनसक्छ । संविधान संशोधनका लागि व्यापक सहमति निर्माण भए रास्वप राजनीतिक मूलधार बन्नसक्छ ।
पुराना पार्टी, नेताहरूले बालेन सरकारलाई चुनौती दिए भने बालेन सरकारले मध्यावधिभन्दा पनि सुर्रिएर जनमत सङ्ग्रहको निर्णयमा पनि पुग्नसक्छ । प्रतिपक्षीहरू यसैकारण रास्वपा टुक्य्राउने, बालेन र रवि वीच फाटो ल्याउन अनेक दुस्चक्र चलाइरहेको अनुभूति गर्न सकिन्छ । देश रहे, राजनीति गर्न सकिन्छ भन्ने सामान्य ज्ञानसमेत प्रतिपक्षीहरूले भुलेको देखिन्छ ।
राजनीतिक दलहरूवीचको टकराव नेपालको दुर्भाग्य हुनेछ । सरकारको दायित्व हरेक विमतिमा बहसका लागि जति धेरै छ, प्रतिपक्षीहरूको जिम्मेवारी पनि त्यत्तिकै छ । दुर्घटना हुनुपूर्व हरेकले आफू, आफ्ना पुस्ता र आफ्नो पहिचानप्रति सोच्नु आवश्यक हुनेछ ।
हो, गत फागुन २१ को चुनावमा परम्परागत राजनीतिक दलहरूले जनविश्वास गुमाए । उनीहरू समाप्त भएका छैनन् । वर्तमान राजनीतिक स्वतन्त्रताको युगमा दलहरू समाप्त हुनुहुन्न पनि । मुख्य कुरा राजनीतिक दलहरूवीच राजनीतिक प्रतिस्पर्धा हुनुपर्छ । विभेद, निषेध, प्रतिषोधले ठाउँ पायो भने १२६ जाति, अनेक धर्मसम्प्रदाय मिलेर बसेको नेपालका लागि हिंसा र रक्तपातको बिजोरोपण हुनपुग्नेछ, जुन जेनजी विद्रोहभन्दा निकै नै भयावह हृदयविदारक हुनपुग्नेछ ।
बालेन सरकार सचेत छ, सचेत हुनुपर्छ । पुराना दलहरूसँग राजनीतिक प्रतिस्पर्धामात्र गर्नुपर्छ र नयाँ परिस्थिति र परिवर्तनको बाहक आफू र आफ्नै दल हो भन्ने भुल्नुहुन्न । कसरी अस्थिरता न्यून हुन्छ, पार्न सकिन्छ भन्ने हरहमेर सोच राख्नुपर्छ । विपक्षी छन् र आफू सच्चिन र सफल हुन सकिन्छ भन्ने पनि हेक्का राख्नुपर्छ । एकदोस्रालाई खुइल्याउने होइन, आफ्ना निर्णय र कायान्वयनको सम्पूर्णतामा सरकारले ध्यान दिनुपर्छ । जसरी संवैधानिक र प्रशासनिक अनुशासन कायम गराउनुछ, त्यसैगरी रोजगारी सिर्जना र युवाहरूलाई सशक्तिकरण पनि गराउनु छ । ४ वर्षमा संसदमा २२ सिट र अहिले झण्डै दुई तिहाईमा फैलिएको रास्वपा र जुद्धशमशेर जबरापछिको ऐतिहासिक सरकार भनेको खेलाची होइन । यो अवसरका लागि जनताले कति विश्वास गरेका रहेछन् भन्ने विषय रास्वपा र प्रम बालेनले बरादानका रूपमा लिनुपर्छ । पुराना शैलीलाई जनताले नकारेका छन्, नयाँ शैलीलाई सकार्ने वातावरण बालेन सरकारको व्यवहारमा निर्भरछ ।
सुरूका दिनदेखि असंवेदनशील बनेका विपक्षीहरूले यतिबेला उत्तजनात्मक र भ्रामक प्रचारवाजीलाई तीब्र पारेका छन् । प्रजातान्त्रिक स्वतन्त्रताका मापदण्डलाई स्वीकार गरेर सरकारले भ्रमपूर्ण सूचनालाई चिर्दै जनतामा सुसूचित बनाउने दायित्व निर्वाह गर्नैपर्छ । भ्रम चिर्न सकिएन भने राष्ट्रिय समस्या बढ्नसक्छ ।
भूराजनीतिक जोखिम बढेको छ । उत्तर दक्षिणका क्षिमेकमात्र होइन, पश्चिमी विश्वशक्ति र रूस, युरोपियन युनियन लगायत अनेक अन्तर्राष्ट्रिय मिसनहरू नेपालमा सकृय छन् । तिनीहरू सुरक्षाका मामिला उठाइरहेका छन् । आतंकवादले चलखेल गर्न पायो भने त नेपालको अस्तित्वमाथि नै खतरा आउनसक्छ । यसकारण नेपालले सुरक्षा रणनीतिलाई पुनर्विचार, पुनर्गठन र सशक्त पार्न गम्भीर हुनैपर्छ । सुरक्षाका सबै पक्षहरूमा सवलता ल्याउन जरूरी छ । नेपालको कुनै शत्रु छन् भने ती नेपालका आफ्नै गरीबी, पछौटेपन र आफैभित्र रहेको साधन, स्रोत, समृद्धिका सम्भाबनालाई पहिचान गर्न नसक्नु हो । 
केही महिनाका वीचमा भोटेकोशी बाढी, अतिवर्षा र पहिरो, दिनहुँका दुर्घटनाका घटनाले सचेत रहनुपर्ने समयको संकेत छ । जलवायु परिवर्तनका कारणले नेपाल उच्च जोखिम छ, यसका लागि बाढी पूर्वानुमान प्रणाली सुदृढ गर्न प्रम बालेनले भनेझैं नेपाल, चीन र भारतले संयुक्त प्रयास गर्नैपर्ने देखिन्छ ।
सरकार ८ महिनाको भयो । बिस्तारै नागरिकहरूले प्रशासन र कूटनीतिमा सुधारका साथै विश्वसनीय लोककल्याणकारी आधारहरूको खोजी गर्न थाल्नेछन् । रोजगारमुखी अर्थतन्त्र, राजनीतिक स्थिरता र उत्पादनमुखी राष्ट्र नागरिकको चासोमा पर्नेछन् । यसमा वैदेशिक लगानीबृद्धि, उद्योग सञ्चालन, निर्यात जलविद्युत्, पर्यटन, उर्जा, सूचना प्रविधि, कनेक्टिभिटी, कृषि, ढुवानी तथा डिजिटललगायतका विविध सेवाहरू पर्नेछन् । रेमिटान्सले अर्थतन्त्र धानेको छ, तर युवा अग्रसर नभएसम्म आत्मनिर्भरता आउनसक्नेछैन, यसमा सवल नीति नागरिक चासोमा पर्नेछ । यो सरकारले पाएको ऐतिहासिक जनादेश रणनीतिक स्वायत्ततामा रूपान्तरण नगरी परिवर्तनको नतिजा आउन सक्नेछैन ।
भारत र चीन नेपालका छिमेकीमात्र होइनन्, नेपालका हरेक विषयका साझेदार पनि हुन् । अमेरिकाजस्ता शक्तिराष्ट्रहरूले नेपालको प्रविधि, लगानी, शिक्षा, विकास सहयोग तथा अन्तर्राष्ट्रिय साझेदारीका माध्यमबाट नेपालको प्रगतिमा महत्वपूर्ण भूमिका खेल्नसक्छन् । महाशक्तिहरूको प्रतिस्पर्धा छ, नेपाल कसैको पनि उपकरण बन्ने होइन, सबैसँग असंलग्नताको सम्बन्ध विकास गर्न जरूरी छ । नेपालको मूल नीति सबैसँग साझेदारी, आत्मनिर्भरतातिर उन्मुख, सार्वभौमिकताको रक्षा र भूराजनीतिक महत्वमा आफूलाई उभ्याउने हुनुपर्छ । नेपाल अब बफर स्टेट रहेन, विश्व जगतको साझेदार मुलुक हो ।
नेपाल यतिबेला जरो गाडेर बसेको दण्डहीनता र भ्रष्टाचारको चक्रव्यूह तोड्ने परीक्षामा छ । सुशासन स्थापित गर्ने कर्तव्य पूरा गर्न अग्रसर छ । यसका लागि सरकार कडा रूपमा प्रस्तुत हुनैपर्छ, विधिको शासनले मात्र यो सम्भव छ । विधिका कडीहरू खुस्किएका छन्, त्यसलाई मरमत गर्नुपर्नेछ । सक्षम बनाउनु पर्नेछ । तवमात्र जनादेशले अपेक्षा गरेको राज्यको हैसियत स्थापित हुनसक्नेछ । जेनजी विद्रोहको सपना वर्तमान शासनसत्ताको मूल लक्ष्य हो । त्यो लक्ष्य परिवर्तनको अनुभूति बिना सम्भव छैन । यो परिवर्तनको अपेक्षा पूरा गर्नसक्ने क्षमता अभिबृद्धि भयो कि भएन ? केही समयमा मिमांसा गर्नैपर्नेछ । किनकि यही नै परिवर्तनको कोशे ढुंगा हो । रास्वपा र प्रम बालेन साहले जुन ऐतिहासिक जनादेश पाएका छन्, त्यो अवसर हो । सफलताको नमूना कार्यशैली, निर्णय र जनताको अपनत्व हो । यसका लागि जनताप्रति जवाफदेही शासन देखिनुपर्छ । जनताप्रतिको जवाफदेहीता नै सफलताको साँचो हो ।
नेपालको वर्णपटमाअनेक प्रकारका राजनीतिक परिवर्तन भएका छन् । जेनजी सरकार पनि पछिल्लो परिवर्तन हो । यो राजनीतिक परिवर्तनले सामाजिक रूपान्तरण स्थापित गर्नसक्यो भनेमात्र यो परिवर्तन सार्थक होला । अन्यथा घुम्दै फिर्दै रूम्जाटार भन्ने उखानमा सिमित हुुनुपर्नेछ । समयले अवसर दिन्छ, कसैलाई पर्खदैन । हेक्का रहोस् ।