
८०, ९० को उमेदहद पार गरेका मोहनविक्रम सिंह राजनीतिबाट शायद निरास भएर पुस्तक लेखनमा व्यस्त छन् । सकृय राजनीतिमा सिंहको उपस्थिति देखिदैन । जीवनको उत्तराद्र्धमा मोहनविक्रम सिंह उपादेयताविहीन भएका छन् ।
जनयुद्धका सकृय नेता मोहन बैद्य किरणलाई स्वास्थ्यले नै साथ दिन छाडेको छ । अक्सर बिमारी भइरहने र उपचारमा बढी समय दिनुपरेकाले बैद्यको सकृय राजनीतिमा ब्रेक लागेको लामो समय भइसक्यो । अब नेपाली राजनीतिलाई सजग बनाउने र सर्वहारा जगाउने काममा मोहन बैद्यले सकृयता देखन मुस्किलै होला ।
मोहनचन्द्र अधिकारी ः जीवनमा सबैभन्दा बढी हण्डर, ठक्कर र अभावको सामान गरिरहेका अधिकारीको जीवन कष्टमय र निस्कृय रहेको छ ।
तर, प्रचण्ड, देउवा र ओली आफ्नो राजनीतिक सकृयता समाप्त भएको मान्न तैयार छैनन् । यी तिनै नेता नयाँ पुस्तालाई सत्ता हस्तान्तरण र पुस्तान्तरण गर्न राजी छैनन् । प्रचण्ड जब्बर भएर बालेन सरकार उल्ट्याउन जागरण अभियानमा छन्, देउवा अझै कांग्रेसको सभापति मै हुँ भन्ने भ्रममा छन् भने ओलीले आफ्नो स्वार्थका लागि पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी प्रवेश गराएका छन् ।
बालेन सरकारलाई सय दिन पनि काम गर्न नदिएर विरोधको झ्याली पिट्ने नेकपा अब दुईमहिने जागरण अभियान मा देशव्यापी परिचालित भएको छ ।
यो जागरण अभियानमा बालेन सरकारविरूद्ध अभिव्यक्त हुने नेकपाको चर्को आलोचनालाई जनताले कति साथ र सहयोग दिने हुन्, त्यो केही दिनमै देखिनेछ । बालेन साह जेनजी पुस्तामात्रको सहयोगमा उभिएको छैन, त्योभन्दा साना र माथिका पुस्ताले समेत साथ दिएकाले दुई तिहाईको सरकार गठन गर्न सफल भएका हुन् । रास्वपाले आगामी पालिका निर्वाचनमा उमेदवार चयन गर्न सुरू गरिसकेपछि स्थानीय निर्वाचनलाई समेत ध्यान दिएर नेकपाले जागरण अभियान थालेको हो । यही अभियानमा देखिनेछ, रास्वपा र बालेन साहको लोकप्रियता र नेकपा लगायतका पार्टीहरूलाई जनताले हेर्ने दृष्टिकोण र साथ सहयोग ।
नेपाली कांग्रस अझै गुट र फुटबाट मुक्त भइसकेको छैन । गगन थापा समूहले महाधिवेशन सम्पन्न गरिसकेको छ भने देउवा समूह महाधिवेशनको तैयारीमा जुटिरहेको छ । जबसम्म यी दुबैथरि कांग्रेस एक हुनेछैन, नेपाली कांग्रेसको बल शक्तिशाली हुनेछैन र कांग्रेसले स्थापित रास्वपालाई टक्कर दिन पनि सक्नेछैन । कांग्रेस भुलभुलैयामा नै रहेकाले नेकपाले एमाले र अन्य ससाना पार्टीहरूलाई समेटेर जागरण अभियान थालेको हो । जागरण अभियानको कमाण्ड स्वयम प्रचण्डल े सम्हालेका छन् र उनलाई साथ र सहयोग दिन माधवकुमार नेपाल अग्रसर भएका छन् । माधव नेपालले अब सहिन्न भन्दै आक्रोश पोखिसकेका छन् ।
प्रचण्ड र माधव नेपालले वालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति तीब्र असन्तुष्टि जनाउँदै नेकपाले महिना अघि नै दशैं, तिहार, छठपछि सडक आन्दोलन गर्ने, बालेन बिरूद्धमा आँधीबेहरी ल्याउने उद्घोष गरेको थियो । तिहार र छठपर्वलाई पनि नपर्खेर जागरण अभियान सुरू भएको छ । उता एमालेका अध्यक्ष ओलीका सहयोगी महेश बस्नेतले त बालेन सरकारलाई जनताको बाढी ल्याएर बढार्ने कुरा पटक पटक गरिसकेका छन् ।
राजनीतिक विश्लेषकहरू भन्छन्– नेकपाको यो जागरण आन्दोलन आफूमाथि सरकारले कुनै कारवाही नगरोस् भनेर दबाब दिन र पार्टी थप बलियो बनाउँदै, स्थानीय निर्वाचनमा पार्टीको माहोल निर्माण गर्ने उद्देश्यले भएको बताएका छन् । जेहोस्, नेकपाको जागरण अभियानले रास्वपा र बालेन सरकारप्रतिको जनताको आस्था, विश्वास र अपनत्व कति छ भन्ने मापन गर्नेछ भने यो जागरण अभियानले नै स्थानीय निर्वाचनमा कुन पार्टी कति पानीमा छ भन्ने स्पष्ट संकेत पनि गर्नेछ ।


