
धेरै अघि नेपाली सेनाको साइज घटाउनु पर्ने विवाद झिक्ने र ‘मनरो डक्ट्रिन’को वकालत गर्ने अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि राष्ट्रवादको सामान्यीकरण गरेको र भारतीय सत्ताको चाकरीमा लिप्त भएको आरोप लागेको छ ।
भारतीय ‘एनडीटीभी वल्र्ड समिट २०२६’को एक कार्यक्रम, जहाँ भारतीय प्रम नरेन्द्र मोदीले पनि संवोधन गरेका थिए, त्यो कार्यक्रममा सहभागी हुन पुगेका अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा ‘भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको’ भनेका थिए । यो अभिव्यक्तिलाई लिएर पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, डा. दिनेश भट्टराई र कमल थापा, पत्रकार युवराज घिमिरे लगायतले रास्वपा र अर्थमन्त्री वाग्लेले राष्ट्रहित विपरित भारतीय सत्राको दलाली गरेको आरोप लगाएका हुन् । उनीहरूले राष्ट्रियताको आधार र नेपालको परराष्ट्र नीतिमाथि प्रश्न उठाएको उल्लेख गर्दै राष्ट्रवादको आधार केलाई मान्ने भनेर चर्को बहसको सिर्जना गरिदिएका छन् । राजनीति तरङ्गित बन्नपुगेको छ ।
वाग्लेले कुनै समय नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिए पनि अहिले त्यो युग सकिएको भनेपछि कुनै समय भनेको १९४७ पछि कि पञ्चायतकाल वा बहुदल काल अथवा २०६३ को परिवर्तनपछिको कालखण्ड भनेर स्पष्ट पारेका छेनन् । एक रास्वपा सांसदले वाग्लेको अभिव्यक्ति सुझबुझपूर्ण भनेर बीचबचाउ गरेका छन् । रास्वपा र अर्थमन्त्रीले यसबारे थप स्पष्ट पारिसकेको अवस्था छैन । पहिले प्रम बालेन साहलाई सीमाका बारेमा राष्ट्रघात गरेको आरोप लगाउनेहरू अहिले अर्थमन्त्रीको भनाईको गहिराई नाप्न थालेका छन् ।
मन्त्री वाग्लेको अभिव्यक्ति भारतभक्ति थियो कि थिएन, स्पष्ट पार्ने दायित्व अर्थमन्त्री र रास्वपाको हो । कूटनीति र परराष्ट्र मामिलाका जानकारहरूलाई बुझाउने र राष्ट्रलाई सुसूचित गराउने दायित्व सरकारको हो ।


