
यथास्थिति भ्रष्ट भयो भनेर जेनजी पुस्ताले बिद्रोह गरे, चुनावमा नयाँलाई जिताए । यो सबै परिवर्तनका लागि हो । अब कस्तो परिवर्तन आउँदैछ त ? चासोको विषय हो ।
भ्रष्ट राजनीति सच्याउनु, चमत्कार नै हो । यो चमत्कार बालेन सरकारले देखाउन सक्ला कि नसक्ला ? यो रोचकता परीक्षण भइरहेको छ । परिवतर्नकारी संस्था, बहुलवादी समाज, संवैधानिक शासन, सुशासन र समृद्ध अर्थतन्त्रमा परिवर्तन देखिनुपर्छ ।
पुराना पार्टीहरू अराजक बन्दैछन्, अराजकता नियन्त्रण हुनैपर्छ । देशले धान्नै नसक्ने संस्थाहरू खारेज गरिनुपर्छ, विकेन्द्रीत राजनीतिक संगठनले भुइँ छुन पाउनुपर्छ । व्यक्तिवादको अन्त, समानता र क्षमताको कदर परिवर्तनको अर्को कडी हुनुपर्छ ।
राजनीति व्यापार हुनुहुन्न, राजनीतिमा लागेकाहरूले प्रणालीलाई बिकृत पारेका छन्, लोककल्याणकारी राज्यका नीतिमा बिस्तार गरेर जनमुखीपन देखिनुपर्छ । यसपछि देखिनेछ रूपान्तरण र पुस्तान्तरण । जनतामा सन्तोष, सकारात्मकता । यस्तो परिवर्तन बालेन सरकारले ल्यायो भने क्यावात् ।
समस्यामाथि समस्या थपिदो छन्, पुराना दल धराप थापिरहेका छन्, अगाडी अन्धकार छ, उज्यालो देखाउनु छ । समाजमा विद्यामान असन्तुष्टि र उदासी हटाउनु छ । जनताले आफै रोजेको सरकारले जनअपेक्षाअनुसारका काम गर्न सक्यो भने, क्यावात् । परिवर्तनको आहट सुनिन्छ, आउने विश्वास मरेको छैन ।
राजनीतिले बहुदलकालदेखिको ४ दशक र लोकतन्त्रको दुई दशकमा नवराजाहरू धेरै जन्मायो । नीति, निष्ठा, सिद्धान्त र इमानको क्षय गरायो । यी सबै दुस्प्रवृत्तिबाट उद्धार गर्नु बालेन सरकारको प्राथमिकता हो ।
बहुदलदेखि लोकतान्त्रिक गणतन्त्रसम्म सुकुलगुण्डा राजनीति चलिरह्यो । अतिभएपछि जनताले विद्रोहमा साथ दिएका हुन् । जब जेनजी पुस्ता विद्रोहमा उत्रनुपर्छ र जेनजीको समर्थनमा जनताले साथ दिनुपर्छ भने बुझ्नुपर्छ बुढो र प्रौढ, युवापुस्ता बेकम्मा रहेछन्, तिनले विवेकपूर्ण दृष्टि राख्नै सकेनन् । गधापच्चिसे ननाघेका जेनजी पुस्ताले २७ घण्टामा देशमा विद्यमान राजनीतिक ऐंजेरूलाई छिमोल्न सफलता हासिल गरे । योभन्दा ठूलो जनविद्रोहको परिणाम के हुनसक्छ । त्यसपछि आएको बालेन सरकारले केही गर्न खोज्दा छिर्की हानिन्छ भने निर्मम तरिकाले प्रस्तुत हुनुपर्छ र राजनीतिक सिस्नोको झाडी फाँडेर परिवर्तनको झल्का र झिल्का देखाउनुपर्छ । उज्यालो र परिवर्तन त्यसपछि देखिनेछ ।
अब राजनीतिक भाँडतन्त्र सम्भव छैन । आलोचनाले केही बिगार्दैन, राम्रो कामलाई रोक्न पनि सक्दैन । रास्वपा र बालेन साह परिवर्तनका बाहक हुन्, जिम्मेवारी पूरा गर्नुपर्छ, जवाफदेहीता लिनैपर्छ । बहुदलपछि पहिलोपल्ट राष्ट्रसंघमा नेपाललाई विश्वले सुन्यो । ३६ वर्षका युवा प्रधानमन्त्रीले हात फैलाएनन्, न्यायको आवाज उठाए, जसलाई विश्वले प्रशंसा ग¥यो ।
यस्तो नेतृत्वलाई काम गर्न नदिने प्रतिपक्षी, प्राकृतिक विपदपछि विपदले पनि काम गर्न असहज परिस्थिति सिर्जना हुनपुग्यो । यो अवस्थालाई काबुमा लिंदै बालेन सरकार प्रजातान्त्रिक सरकार कस्तो हुनुपर्छ भनेर उदाहरण देखाउँदैछ ।
हिजो निकै गफ चुटिन्थ्यो, भाषणको बहार चल्थ्यो । आज गफ बन्द भएका छन्, भाषण रोकिएका छन् । प्रतिपक्षीलाई छटपटी छ, प्रतिपक्षी प्रधानमन्त्रीमाथि राष्ट्रघातको आरोप लगाइरहेका छन् । यथार्थ के हो भने जनतामा सरकारप्रति विश्वास बढेको छ । जनताको जनादेश लिएर सरकार बन्ने हो, सरकारको सफलताको कडी जनताको विश्वास हो । केही प्रतिपक्षीले लुट्न पाइन अथवा आफूमाथि कारवाही हुने त्रासदीमा परेर गरेको बिरोधले कुनै लछारपाटो लगाउनेवाला छैन ।
बिपक्षी सरकारलाई तर्साउनकै लागि दशै तिहारपछि सडकबाट बिद्रोहको आगो बाल्ने भनिरहेका छन्, जुन आत्मरती हो । जुन नेताहरू जनताका सामु उभिन सक्दैनन्, सुरक्षा घेरामा तिक्त र तीब्र बिरोधका गीत गाइरहेका छन्, तिनले सडकमा आगो बाल्ने भनेको हावादारी गफ लाग्छ, किनकि उनीहरू भीडतन्त्रमा विश्वास गर्छन् । जनता ४ दशकको भीडतन्त्र र भ्रष्टाचार देखेर वाकविधि भइसकेका छन् । जनताले नतिजा खोजिरहेका छन्, बालेन सरकार नतिजा दिनेगरी काम गर्दैछ ।
हो, जनताको सवर गर्ने बानी छ, अति भएपछि जनता रिसाउँछ । जनता रिसाउन्जेल नतिजा दिन नसक्नु बालेनको कमजोरी हुनेछ । त्यो कमजोरीलाई बालेन सरकारले चाँडोभन्दा चाँडो हटाउनुपर्छ, जनताको अपेक्षा संवोधन गर्नुपर्छ ।
एक रसियन विद्वानका अनुसार हामीलाई सम्झाउँछन् कि असल र खराबबीचको संघर्ष कहिल्यै अमूर्त हुँदैन; यो समाजहरूले दैनिक गर्ने छनोटहरूमा बाँचिन्छ । उनको चेतावनी—जब मानिसहरूले प्रतिरोध गर्न असफल हुन्छन् तब खराबी विजयी हुन्छ । यो स्थिति हिजो थियो, आज छैन, भोलि रहनुहुन्न । बालेन सरकारले यो वर्षलाई सुशासनको वर्ष भनेका छन् । सुशासनका साथै सरकारले सामूहिक गरिमा, सामाजिक एकता, र दैनिक जीवनको गुणस्तरलाई बलियो बनाउन सक्षम व्यावहारिक बुद्धिमत्ता विकास जरूरी छ । यी कार्यबाटै नेतृत्व पुस्तान्तरण र राजनीतिक रूपान्तरण देखिनेछ । अहिलेसम्मको राजनीतिले वास्तविकतासँग अनुकूलन गर्न सकेनन् र असफल भए । बहकिए । जनविश्वास गुमाएर शासन गर्ने नैतिक बल पनि क्षयगर्न पुगे । नयाँ नेतृत्वसँग जनताले विश्वासयोग्य परिवर्तन खोजेका छन् । पुरानो भ्रष्ट र नैतिकहीन राजनीतिको कलमी त भयो, नयाँ पालुवा पनि देखियो, यो पालुवा पालुवामै मर्नुहुन्न । आँधीबेहरी, अराजकता र संक्रमण धेरै बेहोरेका नेपालीले प्राकृतिक प्रकोप झेल्न सक्छन्, झेलिरहेका छन्, राजनीतिक प्रकोप झेल्न तैयार छैनन् । यसैका लागि अहिलेको परिवर्तन चुनेका हुन् जनताले ।
बहुदल अकल्पनीय थियो, जनताकै कारण ०४६ सालको परिवर्तन आएको थियो । बहुदल कालरात्रिमा परिणत गराए नेताहरूले । राजतन्त्र फाल्नु अकल्पनीय थियो, फालेर लोकतान्त्रिक गणतन्त्र ल्याएकै हुन् । तर यसलाई पनि नेतृत्वको नैतिकहीनता, सिद्धान्तहीनताले धुलोपिठो पारिदियो । जनताले राजतन्त्रलाई सम्झन बाध्य हुनुप¥यो । यही क्रममा जेनजी पुस्ताले विद्रोह गरे, जनताले नयाँ नेतृत्व चुने, ऐतिहासिक बहुमत दिए । त्यो सरकार छ, यो सरकारले अकल्पनीय अविश्वास र घृणा बेहोर्न नपरोस् । यसका लागि बालेन सरकारले जनतासँग गरेका करार र पार्टीको घोषणापत्रलाई मूलमन्त्रका रूपमा जप्नुपर्छ, व्यवहारमा उतार्नुपर्छ, अन्जाममा देखाउनुपर्नेछ ।
पञ्चायत नीतिहीनताले पतन भयो, बहुदल सिद्धान्तहीनताले पतन भयो, लोकतन्त्र नैतिकहीनताले पतन भयो । रास्वपा र बालेन सरकार असक्षम भएर पतन नहोस्, जनता हार्न सक्दैन । यो परिवर्तन जनताको जीत हो, जनताले जित्नका लागि जनताको मुहारमा परिवर्तनको खुशी देखिनुपर्छ ।
स्टिफन मार्शेले संयुक्त राज्य अमेरिका—विश्वको सबैभन्दा स्थायी लोकतन्त्र र ठूलो अर्थतन्त्र—गहिरो आन्तरिक संकटतर्फ पतन हुन सक्ने सम्भावनाको वर्णन गरेका छन् । भलै ६ महिने बालेन साहको पतनको भविष्यवाणी भइसकेको छैन, जनअपेक्षाअनुसार ढालिन सकेन भने पतन हुनेछ । परिवर्तनको चाहना संवोधन गर्न सक्यो भने यो ५ वर्षमात्र होइन, अर्को चुनावमा पनि जनताले विजयको माला लगाइदिनसक्छ । यही भय विपक्षीहरूका लागि सताउने विषय बनेको छ र बिरोध गरिरहेका छन् ।
राजनीतिमा बिकल्प जिवन्त हुन्छ । विश्वास फेरिन पनि सक्छ । जोडिएको विश्वास तोडियो भने राजनीतिले ओल्टे कोल्टे फेर्न पनि सक्छ । पञ्चायत ढल्न ३० वर्ष कुर्नुप¥यो । बहुदलवादी तुहिन १२ वर्ष लाग्यो, गणतन्त्रवादी गनाउन २० वर्ष लाग्यो । समयले परिवर्तन ल्याउँछ, अहिलेको परिवर्तन पनि समयले ल्याएको हो । यो परिवर्तनलाई लामो समय टिकाउने तरिका भनेको जनताले चाहेअनुसारको शासन हो ।
गत फागुन २१ को चुनावले स्थापित दलहरू र जनतावीच बिच्छेद नै गराइदियो । यो परिवर्तन नेपालको भाग्य र भरोसा ठानिएको छ । नयाँ परिवर्तनले नेपालको स्थिरता र प्रगति, शान्ति र सुशासन ल्याउने अपेक्षा पनि बाक्लै देखिन्छ, सुनिन्छ । सबैभन्दा गजबको विषय त के छ भने अहिलेसम्म बालेन सरकार भ्रष्टाचारमा मुछियो भन्ने कुनै समाचार आएकै छैनन् । बिपक्षीले यतिका सल्लाहकार भनेर जनतामा बितृष्णा फैलाउन खोजेका थिए, ती सल्लाहकार त सेवा सुविधा नै नलिने खालका पो देखिए । देशका लागि काम गर्ने बालेन, बालेनलाई साथ र सहयोग दिने एकसेएक रणनीतिकार, विज्ञ विशेषज्ञहरू । यति हुँदा पनि बालेन सरकार कसरी असफल हुनसक्ला त ?
१० वर्षे जनयुद्ध गरेका, १४ वर्ष जेल बसेका, ५ पल्ट प्रधानमन्त्री बनेका, विज्ञ ठानिएका प्रचण्ड, ओली, देउवा, भट्टराई, र माधव व्यक्तिहरू जनताका आँखामा कसिङ्गर नै सावित भए । अब यिनको सत्ता र शक्तिमा फर्कने सम्भाबना न्यून छ । ती पार्टीका युवाहरू जागरुक हुन जरूरी छ । समय युवाको, युवा जारणको छ । – डा. विनिता


