Advertisement Banner
Advertisement Banner

२० मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लोकतन्त्रमा षडयन्त्र

२० मंगलबार , आश्विन २०८३३ घण्टा अगाडि

लोकतन्त्रमा षडयन्त्र

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ११ घण्टाको गिरफ्तारी र रिहाइ, त्यसपछि दिपक भट्टलाई काठमाडौंबाट सिन्धुपाल्चोक जेलसारी । भनिन्छ, कानुनी क्षेत्रको भूमिगत नेतृत्व पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सम्हाल्दै आएका थिए, शर्माजी नयाँ प्रधानन्यायाधीश बनेपछि त्यो कल्याण श्रेष्ठ आउट, चोलेन्द्र इन भएका थिए भनिन्छ । चोलेन्द्रको महाभियोग पनि मिल्यो, सरसुविधा पाउने भए । त्यसपछि आफूले तल्लोतहदेखि संरक्षण दिएकाहरूलाई चोलेन्द्रले आदेश निर्देश पनि गर्नथाले । रास्वपाले चुनावदेखि शक्तिसम्म सबैबाट लघारेकाहरूसँग बार्गेनिङ गर्नथाले । ठूला ठूला विचौलियाको केन्द्र कल्याण नभएर चोलेन्द्र हुनथाले । चोलेन्द्र भूमिगत शक्तिकेन्द्र बन्नथाले । एमाले, नेकपा र कांग्रेसका नेतात्रय ओली, प्रचण्ड र देउवासँग साँठगाँठ हुनथाल्यो । यो सरकार ढाल्ने, रवि लामिछानेलाई सहयोग गर्ने, आफू राष्ट्रपति बन्ने, कांग्रेसको नेतृत्व देउवाको हातमा हाल्नेसम्मको जालो बुन्न भ्याइसकेका थिए चोलेन्द्रले । भनिन्छ, संवेदनशील निकायको सुराक प्रधानमन्त्री बालेन साहसम्म पुगेपछि माकुरा रूपी चोलेन्द्रको जालो फाँडिन पुग्यो । चोलेन्द्रका षडयन्त्रका सबै रेकर्ड, मोवाइल र अन्य प्रमाणहरू प्रम बालेनको हातमा पुगिसकेको बताइन्छ । यो पर्दाफासपछि नेपाली राजनीति र प्रशासन कुन प्रकारले चलिरहेको रहेछ भन्ने स्पष्ट अनुमान लगाउन सकिन्छ ।
गणतन्त्रात्मक राजनीति कस्तो अवस्थामा पुगिसकेछ । दुई तिहाइको सरकार नै सुरक्षित हुन्न र भूमिगत गिरोहले न्यायालयसम्म प्रभाव जमाउँछ भने आम नागरिक र प्रशासन संयन्त्र कुन प्रकारको बाहुबलीले चलिरहेको होला ?
सरकारले भन्यो– चोलेन्द्रलाई सुरक्षा थ्रेट थियो । चोलेन्द्रका परिवारले सुरक्षा मागेको निवेदन प्रहरीबाट सार्वजनिक भयो । स्वयम् पूर्व प्रधानन्यायाधीशले कुनै गुनासो वा आपत्ति प्रकट गरेका छैनन्, यसको बारेमा आपत्ति संसदका प्रतिपक्षी र पुराना ठूला दलका नेताहरूले गरे । अर्थात् राजनीतिमा ठूलै तरङ्ग निस्कियो । एकप्रकारले नाटकीय रूपमा राजनीतिक चलखेल र षडयन्त्रको मुखुण्डो उत्रियो । आज पनि चोलेन्द्रले वास्तवमा भएको के हो ? मुख खोलेका छैनन् । यसलाई भनिन्छ, पिँध होइन बिड तातिरहेको छ । पुराना ठूला दलहरू आत्तिएका छन् । पुराना ठूला दलहरूले मानवाधिकार आयोगसम्मलाई परिचालित गरेका थिए । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र नबोल्ने, ठूला र पुराना दलहरूको सातो जाने र मानवाधिकार आयोगसम्म परिचालित हुने, गजबैको नौटङ्की देखियो, देखाइयो । यति हुँदा पनि बालेन सरकार मौन छ र आफ्नो काममा जुटिरहेको छ । भनिन्छ, अब धेरै ठूलो माछाहरू र पुराना एकसेएक भ्रष्टाचारका काण्डहरूको फाइल खुल्नेवाला छन् । नेपाली राजनीतिमा ऐतिहासिक पहिरो जाने अनुमान बलियो हुँदैछ ।
बालेन साह सरकारको कमी कमजोरी होलान्, भ्रष्टाचारमा लिप्त भयो भन्ने एउटा समाचार पनि आएको छैन । ६ महिना हुँदैछ, जनताले ५ वर्ष सरकार चलाउने जनादेश दिएका छन् । अहिले नै खिया बनेर राजनीतिक नेतृत्वमा रहेकाहरूको पसिना खलखली छुट्न थालिसकेको छ । ४ दशकदेखि आलोपालो सरकारमा बसेर सेटिङ र भागशान्तिमा देश लुटेकाहरू नयाँ नेतृत्व र नयाँको परिवर्तनका चाहनासँग बिद्रोह, अन्तरिम सरकार, चुनाव र बालेन सरकारसँग एकपल्ट फेरि हार खान पुगेको छ । लाग्छ, अब यस्ता षडयन्त्र हुनै सक्दैनन् । यद्यपि पुराना दलहरूले सत्ता खोसिएको र आफूमाथि कारवाहीको डण्डा चल्ने निश्चित भएपछि दशैं र तिहार सकिनासाथ सडकमा आगो बाल्ने र सरकार ढाल्ने फुइँकी लगाउन थालेका छन् । जनता बालेन साहले केही गर्छ भनेर पर्ख र हेरको स्थितिमा छन् । सरकार प्राकृतिक विपद, पुराना सरकारले थुपारेका कुडाकरकट र समस्याहरूसँग जुध्दैमा काम गर्न भ्याइरहेको छैन । जनतासँग गरेका करार पुरा गर्न भ्याइरहेको छैन । आलोचकहरू भनिरहेका छन्– खोई प्रतिवद्धता । तर सरकार प्रतिवद्धता पूरा गर्न ढिलो भए पनि आफ्नो दायित्व र जवाफदेहीताबाट हटेको देखिदैन ।
ठूलो कुरा इमान हो, नैतिकता हो । बालेन सरकार त्यसमा अडिग देखिन्छ ।
राजनीतिमा अशोभनीय षडयन्त्र देखियो । देश गम्भीर समस्यामा छ । राष्ट्रिय नीति र निर्माण, शासन र सुशासनमा सुधार ल्याउनुछ । पुराना दलहरू धराप थापेर बालेन सरकार पड्काउने साजिस गरिरहेका छन् । मुलुकमा स्थिरताको खाँचो छ । पुराना दल र शक्तिहरू अस्थिरता अराजकता निम्त्याउँदै छन् । बालेन सरकारले फुकी फुकी कदम चाल्नुपरेको छ । अभिभावक स्थापित गर्नुपर्नेछ .