
राष्ट्रसंघमा दमदार अभिव्यक्ति दिएर विश्वकै मथिङ्गल हल्लाएर फर्केका प्रम बालेन साहको प्रतिपक्षीको विरोध कम, बालेनको प्रशंसा ज्यादा भइरहेको छ । तथापि अनाहकमा भरत दाहाल, किशोर श्रेष्ठ, दुर्गा प्रसाई, पूर्व प्रधानन्यायाधीशहरूलाई पक्राउ गर्ने र छाड्ने लुकामारी पनि चलिरहेको छ । जुन हुनुहुन्नथ्यो । सञ्चारमन्त्रीले स्वरोजगारमूलक प्रत्रिकाको घाँटी अँठ्याउने र सिङ्गो सरकारले निरङ्कूश शैली देखाउनाले बालेनको इमानदारितामा प्रश्न उठ्न थालेको छ । उनले भ्रष्टाचार गरेका छैनन् तर काममा जुन गतिका साथ अघि बढ्नुपथ्र्यो, सुशासनका लागि जुन तरिकाले काम गर्नुपथ्र्यो, जनताको पीडा बुझेर तत्काल गर्नुपर्ने निर्णय तत्काल र दूरगामी महत्वका निर्णय त्यहीअनुसार गर्नुपथ्र्यो । हुनसकेका छैनन् । घूस खाने प्रवृत्ति कार्यालयहरूमा चलेकै छ ।
संविधान संशोधन सेलायो । संवाद, सहमति र सहकार्य हरायो । सबै राजनीतिक दलहरूसँग मिलेर अघि बढेको खण्डमा बालेन साह र रास्वपाको इज्जत बढ्नेछ, जनआकर्षण प्रतिपक्षीको विरोधलाई लतारेर उक्सिने छ । यसतिर सभापति रवि लामिछाने र प्रम बालेन साहको ध्यान नपुगेकै हो । स्थापित ठूला दलहरू किनारा लागे, लगाइए । जनताले विश्वास गरे, त्यो विश्वासको जगमा जुन तीब्रताका साथ काम हुनुपर्ने हो, हुनसकेको छैन । नियतमा शंका छैन, निर्णय पनि सकेको छैन ।
राजतन्त्र पनि नेपालमा राजनीतिक शक्ति हो । यो शक्तिलाई पुराना दलहरूले पनि मानेका थिए, कार्यरूपमा नल्याउँदा आज पुराना र ठूला दलहरू नराम्ररी पाहा पछारिएझैं पछारिएका छन् । पुराना पछारिए, नयाँले मौका पाए । नयाँले अब परिवर्तन गरेर देखाउनुपर्ने छ । ६ महिना भइसक्यो, जनतासँग गरेका करारअनुसार काम भइरहेका छैनन् । घोषणापत्र अनुसार कम काम भएका छन् । त्यसै पनि पुच्छर लुकाएर भागेकाहरू सतहमा उभिएर फुइँकी हान्न थालिसके । तिनको मुखमा बुजो हाल्नका लागि पनि बालेन सरकारले जनअपेक्षाअनुसारको काम गर्न दिलोज्यानले लाग्नुपर्नेछ । प्रम बालेन, अब पनि भिजेको परालखुट्टे चाला नदेखाउ ।


