Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

राष्ट्रसंघमा हिमाल र मानवता

०६ मंगलबार , आश्विन २०८३एक घण्टा अगाडि

राष्ट्रसंघमा हिमाल र मानवता

प्रधानमन्त्री बालेन साह आज अमेरिकाका लागि उड्नेछन् । पर्सी ८ गते राष्ट्रसंघको बैठकलाइृ संवोधन गर्नेछन् । बालेन साह हिमाल बोल्नेछन्, जलवायु परिवर्तनले नेपाललाई कसरी तहस नहस ग¥यो, जलवायु परिवर्तनबाट आउनसक्ने प्रकोपलाई कसरी रोक्न सकिन्छ, कसरी सामना गर्न सकिन्छ, विश्वशक्ति–औद्योगिक कार्वन उत्सर्जनबाट नेपालले यो नोक्सानी बेहोर्नुपरेको छ, राहत, उद्धार र पुननिर्माणमा हिमालले, नेपालले न्याय पाउनुपर्छ भन्ने आवाज उठाउने तथा साइडलाइनमा विश्व नेताहरूसँग भेटवार्ता गरेर नेपाललाई न्याय दिलाउन प्रम बालेनले जबरजस्त लविङ गर्नेछन् भन्ने विश्वास नेपालभरि जागेको छ ।
यो विश्वास जाग्नुको आधार के पनि छ भने नेपालमा जेनजी पुस्ताले विद्रोह गरेर सत्ता उल्ट्याए, बालेन सत्ता सिर्जना गरे, ३५ वर्षे युवालाई नेपाली जनताले अपार जनादेश दिए । ती बालेन कस्ता होलान् ? तिनको बौद्धिक स्तर, तिनको राष्ट्र बनाउने सोच जान्न विश्वका कतिपय नेताहरूले भेट्ने इच्छा देखाएका छन् । राष्ट्रसंघका महासचिवले पनि भेट्नेछन्, यसकारण पनि राष्ट्रसंघमा नेपालको यसपालीको सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ । धेरले सामाजिक सञ्जालमार्फत प्रम बालेनलाई सुझाव दिएका छन् ।
हुन त तत्कालीन प्रम माधवकुमार नेपालले सन २००९ मा हिमालको काख कालापत्थरमा मन्त्रिपरिषदको बैठक गरेर राष्ट्रसंघमा हिमालको चित्कार सुनाउने प्रयास गरेका थिए । तर ढङ्ग नपुग्दा विश्वजगतले गम्भीरतासाथ लिएन । जलवायु परिवर्तनले कठोर स्वरूप धारण गर्दै गयो, पृथ्वीको तामक्रम बढ्दै गयो । हिमबाढी, हिम पहिरोका अनेक घटना घटित हुँदै गए । जलवायु परिवर्तनले कृषि, जनजीवन, पूर्वाधार सबैतिर बिनासका श्रृङ्खला बढाउँदै लगेको थियो ।
सन २०११ मा डा.बाबुराम भट्टराई प्रधानमन्त्री बनेको बेला उनी राष्ट्रसंघ पुगेका थिए । राष्ट्रसंघको त्यो मञ्चमा लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल र सुशीला कार्कीले भने भाग लिने अवसर गुमाएका थिए । उनले जलवायु परिवर्तनको मुद्दालाई उठाएका थिए । जलवायु परिवर्तनको मुद्दा ठूलै चुनौती हुने बताएका थिए । त्यो बोलीलाई विश्वले सुनवाई गरेन ।
प्रधानन्यायाधीश र प्रधानमन्त्री दुबै जिम्मेवारी निभाएका खिलराज रेग्मी सन २०१३ मा राष्ट्रसंघ पुगेर संवोधन गर्ने अवसर पाउने व्यक्ति हुन्, उनले जलवायु परिवर्तन र कम विकसित देशलाई सहयोग गर्नुपर्ने बताएका थिए ।
सन २०१७ मा शेरबहादुर देउवा प्रम थिए, राष्ट्रसंघको मञ्चमा पुगेर जलवायु परिवर्तन र विपत्का मुद्दा दह्रोसँग राखेका थिए । उनले विश्वमा हतियारका लागि खर्च हुने खर्बौँ डलरको केही हिस्सा कम विकसित देशका लागि खर्च गर्न मा गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले सन २००८ र २०२३ को राष्ट्रसंघको साधारण सभामा सहभागी भएका थिए । उनले जलवायु मुद्दामा जोड दिएकै हुन् । जोखिमबारे बताएकै हुन् । हिमाल जोगाउनु हिमाल मात्र जोगाउनु नभएर ‘मानवता’ जोगाउनु भएको प्रचण्डले त्यतिबेला भनेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सन २००६, २०१९, २०२४ गरी ३ पल्ट राष्ट्रसंघमा भाग लिएका थिए । उनले प्राकृतिक प्रकोपबारे बोलेका थिए । तर पूर्वप्रधानमन्त्रीहरू गम्भीर भएनन्, राष्ट्रसंघमा सहभागी हुने र अमेरिकी राष्ट्रपतिसँग फोटो खिचाएर फर्कने र नेपालमा फुइँकी लगाएर फोटो प्रचार गर्नेमा सिमित हुनपुगे । उपलव्धि शून्य भयो ।
यसपल्ट प्रम बालेन साहले अमेरिकी राष्ट्रपतिले दिने भोजमा सामेल हुनेछैनन्, फोटो सेसन पनि गर्नेछैनन् । तर राष्ट्रसंघमा जोडदार आवाज उठाएर साइडलाइनमा केही मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूसँग भेटवार्ता गरेर तत्काल नेपाल फर्कने कार्यक्रम छ । नेपालका प्रम बालेन साहले हिमालको चित्कार र मानवताको संवेदनशीलताको हृदयस्पर्सी संवोधन गरेर विश्वको ध्यान नेपालतिर तान्न सफल हुनुपर्नेछ । हिमाल नरहे २ खर्ब मानिसले पिउने पानीको संकट बेहोर्नुपर्ने, मानवता नरहे विश्व नै तहस नहस हुनसक्ने आवाज उठाउने र विश्वलाई झक्झक्याउने अवसर प्रम बालेन साहलाई प्राप्त भएको छ । यसकारण पनि केही समय निकालेर प्रम बालेन साह राष्ट्रसंघ जाँदैछन् ।
राष्ट्रसंघमा नेपाल देखिने होइन, नेपालको आवाज विश्वसमुदायले कान ठाडो पारेर सुनाउने जिम्मेवारी बालेनमा छ ।
सिङ्गो नेपाली र राजनीतिक दलहरूले उनलाई साहस र शक्ति, उत्साह दिनुपर्छ । राजतन्त्रकालमा नेपालको आवाज सुन्थे, अब फेरि सुन्नैपर्ने बनाउनुपर्नेछ ।