Advertisement Banner
Advertisement Banner

२४ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रसंघमार्फत न्याय मागिदै

२३ मंगलबार , भाद्र २०८३२० घण्टा अगाडि

राष्ट्रसंघमार्फत न्याय मागिदै

२ वर्ष विदेश भ्रमणमा नजाने निधो  गरेर रातदिन सुशासनका लागि खटिरहेका प्रधानमन्त्री बालेन साह अन्ततः भोटेकोशीले राष्ट्रलाई महाविपद्मा पारिदिएपछि राष्ट्रसंघको शिखर सम्मेलनमा सहभागी हुन जाने भएका छन् । प्रम बालेन साह इतिहासमै सबैभन्दा सानो टोलीका साथ राष्ट्रसंघ पुग्ने, संवोधन गर्ने र विश्वको ध्यान नेपालको विपद्तिर तानेर नेपालले जलवायु परिवर्तनको कारण भोग्नुपरेको महाविपद्को क्षतिपूर्तिको न्याय पाउनुपर्ने आवाज उठाउने र तत्काल स्वदेश फर्कने तालिकासहित परराष्ट्रमा होमवर्क थालिएको एक अधिकारीले बताए ।
०४६ सालपछि हरेक वर्ष प्रधानमन्त्री राष्ट्रसंघ पुग्ने, अमेरिकी राष्ट्रपतिसँग हाईहलो गरेर फोटो खिच्ने र फर्कने परम्पराजस्तै बनेको थियो । गतसाल जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री गएनन्, यसपल्ट परिस्थिति साह्रै जटिल बनेको छ र त्यो जटिलताको कारण औद्योगिक राष्ट्रहरूले उत्सर्जन गरेको कार्वनका कारण हिमाल पग्लिएको, हिमनदी फुटेको, बाढीले नेपाललाई अस्तव्यस्त, ध्वस्त पारेको परिदृश्य देखाएर नेपाल अन्यायमा परेको आवाज राष्ट्रसंघमा प्रम बालेन साहले गुञ्जायमान गराउने छन् ।
कार्वन उत्सर्जन गर्ने राष्ट्रहरूको पहिलो नम्बरमा चीन, दोस्रोमा अमेरिका, तेस्रोमा भारत र अन्य औद्योगिक राष्ट्रहरू छन् । नेपालले कार्वन उत्सर्जनमा नगण्य भूमिकामा छ । यसकारण विश्वका वातावरणविदहरूले नेपालमाथि अन्याय भएको र क्षतिपूर्ति दिनुपर्छ भन्ने आवाज उठाइरहेका छन् ।
भोटेकोशीमा बाढीको विपद् आएपछि छिमेकी चीन, भारत र अमेरिका लगायतका दर्जनौं राष्ट्रहरूले राहत सामग्री, नगद सहयोग गरेको छन्, घोषणा पनि गरिरहेका छन् । तर मागेको भीख, बाटैमा ठिक भनेझैं दान दातव्यले क्षणिक रूपमा पीडितको घाउमा मलम लगाउन उद्धार र राहतमा सहयोग होला तर पूर्वाधार पुननिर्माणमा हात्तीको मुखमा जिरा हुनेछ । पुननिर्माण आफैले गर्नुपर्नेछ । तर अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि जलवायु परिवर्तनको मार परेको, अन्याय भएको अनुभूत गर्नुप¥यो र न्याय दिलाउनु पर्नेछ । नेपाल राष्ट्रसंघको १९५५ देखिको सदस्य राष्ट्र हो । यो आधारमा पनि राष्ट्रसंघमा नेपालले उठाउने आवाज विश्वले सुन्ने छ र नेपालले खोजेको न्यायमा विश्व जगतको सहयोग, समर्थन रहने निश्चित छ ।
राष्ट्रसंघमा नेपालले के बोल्छ भन्ने कुराको ०४६ सालपछि कसैले मतलव नै राख्ने गरेका थिएनन् । कि त राजा महेन्द्र, कि वीरेन्द्रले राष्ट्र संघमा बोल्छन् भनेपछि विश्वले कान ठाडो पारेर सुन्ने गरेका थिए । बहुदल र लोकतन्त्रमा नेपालले के बोल्छ भनेर कुनै पनि मुलुकले ध्यान दिने गरेका थिएनन् । बोल्नका लागि जाने, फोटो खिचाएर आउने परम्परा भइसकेको थियो ।
तर यसपल्ट राष्ट्रसंघमा जनताले ऐतिहासिक समर्थन गरेका युवा प्रधानमन्त्री बालेन साहले के भन्छन्, के बोल्छन् भनेर नेपाललाई विश्वले ध्यान दिनेछ । प्रम बालेन साह विश्वको ध्यान आकृष्ठ गर्ने तैयारीका साथ जाँदैछन् ।
असोज ६ गते अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्नेछन् र त्यही दिन पार्टी पनि दिनेछन् । यो पार्टीलाई विशेष मानिन्छ । त्यो पार्टीमा नेपालको प्रतिनिधित्व प्रम बालेनले गर्नेछन् । फोटो सेसन पनि होला । तर बालेन साह विदेश भ्रमण र फोटो सेसनका लागि अथवा न्यूयोर्कको चमक धमक हेर्न जान लागेका होइनन् । जसरी न्यूयोर्कका मेयर ममदानी अमेरिका र विश्वभरि चर्चित छन्, नेपालका मेयरापछि प्रम बनेका बालेन साह पनि विश्वभरि चर्चित छन् । यी दुबै हिपप गायनबाट राजनीतिमा आएका हुन् । यी दुईको भेटवार्ता पनि महत्वपूर्ण नै मानिने छ । साह्रै छोटो समयका लागि अमेरिका जान लागेका बालेन साहको प्रत्येक कृयाकलापमा विपक्षीहरूले आँखा च्याती च्याती निगरानी गरिरहनेछन् । त्यसै पनि बालेन साहलाई अमेरिकी समर्थन रहेको छ भन्ने गरिएको छ ।
राष्ट्रसंघमा नेपालले ८ गते बोल्नेछ । नेपालको आवाजको ओजन, आजेनको  मापन तत्काल राष्ट्रको बैठकबाटै देखिनेछ । यसकारण यो महत्वको भ्रमण हो ।
मूल कुरो प्रम बालेन साहलाई राष्ट्रपति ट्रम्पले भेट्छन् कि भेट्दैनन् ? साइड लाइनमा अमेरिकी अधिकारीहरूसँग भेट हुनेछ । विश्वका नेताहरूसँग पनि साइड लाइनमै भेटवार्ता हुनेछ । ट्रम्पले विशेष भेट दिए भने त्यो धेरै अर्थपूर्ण हुनेछ । नेपालको बाढीको भिडियो हेरेर नेपालले जे माग्छ, नेपाललाई जे चाहिन्छ, दिन तैयार छौं भन्ने अमेरिकी राष्ट्रपतिले प्रम बालेन साहसँग भेटवार्ता गरे भने त्यो नेपालका लागि उपलव्धिपूर्ण हुनेछ । यो अवसरमा नेपालका अन्य समस्या, सम्बन्ध विकासका विषयमा पनि वार्ता हुनसक्छ ।