Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

लोकनेता कि लेण्डुप?

२० सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

सिक्किमको दर्दनाक कहानी छ, चोग्यालको सामन्ती शासन सिध्याउने नाममा लेण्डुप दोर्जीले सिक्किमलाई भारतमा मिलाइदिए। भारतको त्यो प्रयास नेपालमा पनि भएको हो। नेपालले आफ्नो स्वतन्त्र हैसियत गुमाउन चाहेन, भारतले सुरक्षा छाता ओढाउन खोज्दा इन्कार गरेकै हो। नेपालको सुरक्षा र विदेशनीतिको जिम्मा भारतलाई दिन नेपालले सधै अनिच्छा प्रकट गरिरहेको थियो र भारत हिमालयलाई आफ्नो उत्तरी सुरक्षा ढाल बनाउने रणनीति सार्थक गराउन कस्सिएर लागेको थियो। जसको परिणति आजको परिवर्तन हो। यो परिवर्तन नेपालको हितमा थिएन, भएन। 
यसका लागि नेपालको सामन्त होला, देशभक्त नेतृत्वले काम गरेकै हो। जुन आजका दिनमा राजतन्त्रविरोधीले पनि सम्झना गर्न थालेका छन्। विदेशी मालिकभन्दा स्वदेशी सामन्त ठिक भनेर देशहितमा बोल्न कलेजा, मुटु चाहिन्छ, त्यो मुटु बाबुरामले समेत देखाए र भने– १२ बुँदे सम्झौता दिल्लीमा गर्नु ठूलो भूल थियो। त्यो नसच्चिएसम्म भारतीय हस्तक्षप बढिरहन्छ। तैपनि नेताहरुलाई चेतना आएन। 
राजतन्त्र थियो, समाजवादी वीपी कोइरालाजस्ता नेता थिए, जसले भारतको भात बान्ता गरेर राजतन्त्रसँग घाँटी जोडे, आफूलाई सुधारे र माटोवादी नीति अघि सारे।  राजाले स्वतन्त्र नेपालको हैसियत अघि सार्दा वीपीले त्यसको पक्षपोषण गरे, राजाविरोधी थिए तर देशहितमा वीपी अडे। 
एक विश्लेषक लेखेकले लेखेका छन्– टंकप्रसाद आचार्यलगायत बीपीदेखि सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि र उनीहरूबाट दीक्षित नेपाली कांग्रेसका नेताहरूमा राष्ट्रियता र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता र समर्पण रहेकाले मुलुकको वैदेशिक र सुरक्षा नीतिप्रति नेपाली कांग्रेस लामो कालखण्डमा संवेदनशील रहिरह्यो। ०७ सालपछि महत्वपूर्ण ठाउँहरूबाट क्रमशः भारतीय सल्लाहकार, प्रशासनिक र सैनिक निकाय हटाइादा सबैको समर्थन रह्यो। पञ्चायतलाई जति गाली गरे पनि, नेपालको राष्ट्रियताको संवर्द्धन र विकास तथा भौतिक पूर्वाधार निर्माणमा त्यो समय अत्यन्त उत्पादक र महत्वपूर्ण रहेको अहिले सबैले स्विकारेका छन्। पूर्वाग्रह राखेर गाली गर्नु एउटा कुरा, यथार्थ आत्मसात गर्नु अर्को कुरा हो। 
२०६३ सालदेखि परिवर्तन सुरु भयो। परिवर्तनको नतिजा के हो भने नेपाल विघटनतिर उन्मुख हुनपुगेको छ। कहिल्यै समाप्त नहुने विवादमा फस्न पुगेको छ। नेपालले राष्ट्रिय हैसियत र स्वतन्त्रता गुमाउन थालेको छ। 
वीपीको देहावसान र २०४६ सालको परिवर्तनपछि मनमोहन अधिकारीमात्र त्यस्ता नेता हुन्, जसले देशलाई शिरमा राखेर सोचे। बाँकी आजसम्मका कुनै पनि नेताले देशलाई प्राथमिकतामा नै राखेनन्। यहीकारण हो, मुल्य र मान्यताविहीन छ लोकतन्त्र। मान सम्मान र इज्जतविहीन छन् लोकनेताहरु। 
राष्ट्रहितभन्दा आत्मतुष्टिले महत्व पाएको छ। आत्मतुष्टि र राजनीतिक स्वार्थका लागि देश टुक्य्राउन पनि अघि सर्छन् पार्टीहरु। र, भागबण्डातन्त्रलाई लोकतन्त्र भनिरहेछन्। 
चरित्रहीन र नैतिकताहीन भएपछि लोकतन्त्र कसरी नेतातन्त्र हुनेरहेछ? हाम्रा लोकनेताको अनुहार र लेण्डुप दोर्जीको अनुहारमा भिन्नता देखिन छाडेको छ। नेपाली मरे, नेपाली मारिए, राजा मारिए, राजतन्त्र फालिए, भयो के? यो सब घटनाक्रमको एउटै निष्कर्ष भनेको नेपाल भारतको पराधीनता स्वीकार गर्दै गएको श्रृंखलाका अध्याय बनेका छन्। यो अध्याय रोक्ने कि हामी सिद्धिने?