
नेपाली कांग्रेसको टुटफुट, जुट कुनै नौलो विषय होइन । टुटफुटले कांग्रेसलाई खासै असर गरेको थिएन । कांग्रेसले सिद्धान्तमा खेलाची गरेको र कम्युनिष्टको पछि लाग्दा कांग्रेस दुरावस्था हुँदै हुँदै जेनजी आन्दोलन झेल्न पुग्यो, त्यसपछिको चुनावमा कांग्रेसले आफ्नो सक्कली अनुहार देख्यो ।
अब त चेत्नुपर्ने हो । एकता र सिद्धान्तमा अडिग बस्न आत्मसमीक्षा गर्नुपनेै हो । सभापति देउवा उपचारका नाममा सिंगापुर, हङकङतिर भागे । देउवा दम्पत्तिलाई सम्पत्ति शुद्धीकरणदेखि भ्रष्टाचारका अनेक मुद्दामा पक्राउ गर्ने तैयारी थियो । पक्राउ नगर्नु भन्ने आदेश गराउने प्रयास पनि नेपाल फर्कने तैयारीकै लागि हो भन्ने सबेले बुझेकै छन् ।
यथार्थमा पूर्वसभापति शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्कालाई अगाडि सारेर पार्टी फुटाउन परे फुटाउने र आफै सभापति बन्ने तरखरमा छन् भन्ने यतिबेला चर्चाको विषय बनेको छ । यही उद्देश्य पूरा गर्न खड्कालाई अघि सारेर अलग सम्पर्क कार्यालय खोलेका छन्, राष्ट्रिय भेला गर्दैछन् । गगन थापाको अन्डरमा कुनै हालतमा बस्न नचाहेको देखिन्छ ।
देउवा कांग्रेसजन भन्छन्– साउनभित्रै पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कनेछन् । देउवा समूहले छुट्टै पार्टी सम्पर्क कार्यालय खोलेका छन् भने विशेष अधिवेशनबाट सभापति बनेका गगन थापा कांग्रेसभित्रको आन्तरिक विवादमा सहमति जुट्छ भन्दैछन् । दुई खेमामा बाँडिएका र पार्टी टुक्रिने मोडमा पुगिसकेको स्थिति आँकलन गर्नेहरू भन्छन्– मनमुटाव बढेको छ, कसरी सहमति जुट्ला ?
चुनावमा १७ लाख भोटमा खुम्चिएको र त्यो पनि घट्ने क्रममा रहेको कांग्रेस सभापति गगन थापा यो चुनौती सामना गर्न पार्टी एकता अपरिहार्य रहेको भन्दै एकतामा असर पर्ने कार्य नगर्न आग्रह गरिरहेका छन् । थापाले पार्टी एकता दबाब अभियानले साउन १६ गते गर्न लागेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गरेका छन् । खड्का पक्षले आफ्ना सर्तहरू अमान्य भए आफ्ना कृयाकलाप नरोक्ने जनाउ दिएका छन् । गगन थापा देउवासमूहबाट २ जना प्रतिनिधि पठाइदिन भन्दै आफ्ना पक्षका ४ सदस्य राखेर केही दिनमै एकताको सहमति जुटाउने प्रयास थालेका छन् । गगन थापाको एकलकाँटे पाराले एकता र विश्वासको वातावरण बनाउन नसकिने देउवापक्षको भनाइ रहेको छ ।
कांग्रेस एक भएन र नीति सच्याएन भने ठूलो संकटमा फस्ने देखिन्छ ।


