
सत्तारूढ रास्वपाको महाधिवेशन सम्पन्न भएको छ । अव्यवस्था, भद्रगोल माहोलमा महाधिवेशन भए पनि एकता देखियो । यद्यपि पदाधिकारी र कार्यसमितिमा अनेकन विवाद सतहमा आयो । तथापि आगामी दिनमा सुधार हुनेछ भनेर रास्वपाभित्रै चित्त बुझाइएको छ । सबेभन्दा खतरनाक विषय भनेको रास्वपाकै सांसद डा.अमरेशकुमार सिंहले महाधिवेशन बहिष्कार गरे, त्यसपछि निरन्तर रूपमा देश संकटमा छ भन्दै बालेन्द्र सरकार र रास्वपामाथि आक्रोश पोखिरहेकै छन् । रास्वपाले संघीयता अन्तर्गतका केही संरचना घाउने र रोज्जा मन्त्रालयको मन्त्री बन्न नपाएकोमो डा.अमरेश उग्र विरोधी बनेर देखा परेका छन् । यो परिदृश्यले रास्वपा चर्किने, चिरापर्ने खतरा देखिन्छ । डा.अमरेश नेपाली राजनीतिमा दक्षिणा आशीर्वाद पाएका नेता र अराजक एवम् उग्रताका लागि प्रख्यात छन् । यसकारण उनले बालेन्द्र सरकारलाई अप्ठेरामा पार्ने खतरा बढी देखिन्छ । त्यसो त विचौलिया दीपक भट्टकै अनुचर हुन् यी भनेर पनि समाचारहरू आइरहेकै छन् । त्यस हिसावले उनी रास्वपाको कारवाहीमा पर्ने नेताका रूपमा चर्चित भएका छन् । एकातिर रास्वपाका असन्तुष्टहरूलाई कांग्रेस, एमाले, नेकपाले समेट्न खोजेको र अर्कातिर डा.अमरेशहरू रूष्ट बन्नुले रास्वपाभित्र मात्र होइन, राजनीतिमै ठूलो भूकम्प जाने खतरा देखिदैछ । त्यसो त अहिलेसम्म बालेन्द्र सरकारले राम्रै काम गरिरहेको छ । सहकारी पीडित, सुकुम्वासी र अन्य पीडितहरूको विषयमा छिटो छरितो निर्णय गर्न नसकेकोमा आलोचना गर्दै छिटो काम गर्न दबाब बढेको छ । यसैवीच भारतका गोदी मिडियाहरूले बालेन्द्र साह सरकारको तीब्र आलोचना बढाएका छन् । खासगरी बालेन्द्र साहको राष्ट्रियताप्रतिको अडान भारतलाई बिझेको हुनुपर्छ । त्यसैले नेपाली राजनीतिमा अर्को सुनामी ल्याउन भारतले गोदी मिडिया प्रयोग गरेर प्रम बालेन्द्रलाई जनताको नजरमा गिराउने प्रयत्न गरिरहेको हो । प्रतिपक्षीको आरोप र बिद्रोह, भारतको नकारात्मक प्रवृत्ति बढ्दो छ । त्यसमाथि नेपालमा दलाई लामाको सकृयता बढ्नु र लामाको जन्मोत्सव मनाउन अनुमति दिएको विषयले चीनको मनमा चिसो पसेको छ । बालेन्द्र साहलाई चुनौती बढ्दैछ । त्यसमाथि मन्त्रिपरिषदभित्रै बिबाद बढेको थप समस्या पनि देखिन्छ । यसैवीच राप्रपा, श्रम संस्कृति पार्टीले पनि बालेन्द्रलाई हटाएर रवि लामिछानेलाई नै प्रधानमन्त्री बनाउने चलखेल भइरहेको हावा पनि तीब्र रूपमा बढेको छ ।
तर हालै सम्पन्न महाधिवेशनमा त्यस्तो केही देखिएन । सभापति रवि लामिछानेले झुक्किएर मेरो खुट्टामा बल आयो भने म प्रम बालेन्द्रकै खुट्टामा पास दिनेछु भनेर सबैलाई आश्चर्यमा पारिदिएका थिए । हालै सभापतिले भनेका छन्– प्रम बालेन्द्र साहका नियतमा कुनै खोट छैन । गलत निर्णय भएछन् भने रातारात सच्याइनेछ । यसरी रास्वपाभित्र एकता र विश्वास कायम छ । यति भए पनि नेपाली राजनीतिमा भन्नचाहिं केही सकिन्न । केही दिन अघिमात्र नेकपा र एमालेले मिलेर आन्दोलनमा जाने निर्णय गरेका छन् । सीमा समस्या सुल्झाउन प्रम बालेन्द्र साहले कूटनीतिक नोट पठाएपछि र परराष्ट्रमन्त्रीले समेत प्रमकै लाइनबाट कुरा राखेपछि प्रम बालेन्द्र साह भारतका लागि अपाच्य हुनथालेका हुन् । त्यसमाथि भारतका विदेश सचिवलाई भेट्न चाहेनन्, एजेण्डा तय नभई भारत भ्रमणमा पनि गएनन् । यसकारण भारत प्रम बालेन्द्र साहप्रति नकारात्मक देखिन्छ । प्रम बालेन्द्र र रास्वपालाई सहज छैन, झण्डै दुई तिहाइ भएर पनि अनेकन अल्झो र बिरोध भइरहेकै छ । पुराना भ्रष्ट नेताहरू उचालिने र उफ्रने कारणले पनि राजनीति तातेको देखिन्छ ।
जनताले निर्वाचनबाट पुरानालाई किनारा लगाइदिए । नयाँलाई चुने । नयाँले बहुमतको सरकार त बनाए । पुरानाहरू चुप लागेर बस्ने देखिदैन । निर्णय गर्ने लोसे तरिका र पुराना कुडाकरकटको असहयोगले बालेन्द्रको एकमनाको सरकार अनेकन प्रश्नको घेरावन्दीमा परेको छ । बिरोधी भन्न थालेका छन्– रास्वपा र बालेन्द्र सरकार सडकबाट जान्छ कि ? सदनभित्र टुक्रिएर छिन्नभिन्न भएर जान्छ ? एकथरि यस्तो पर्खाइमा छन् । आमनेपालीहरू जो राष्ट्रप्रति बफादार छन्, जो स्थिरता र विकास चाहन्छन्, जो कुशासनको अन्त्य र भ्रष्टाचारको सफाया चाहन्छन्, राष्ट्रघात नहोस् भन्छन्, तिनीहरू यही सरकारको निरन्तरता चाहिरहेका छन् । ०४६ सालपछि विभिन्न खाले पुराना दलहरूले गरेको फोहर सय दिनमै बढार्न सकिदैन । बढार्ने क्रम सुरू भएको छ । खान्तेपिन्ते भ्रष्टहरूलाई छटपटी भएको छ, भ्रष्टका विदेशी अभिभावकहरू छटपटिएका छन्, आम नेपालले भने विश्वासका साथ धैयर र सहनशील भएर बालेन्द्र सरकारलाई काम गर्न दिनुपर्छ, भ्रमको पछि लाग्नु हुन्न । बालेन्द्र सरकारले गर्ने संविधान संशोधनका राजतन्त्रलाई स्थान दिन्छ कि दिन्न, जनताका लागि महत्वको विषय यही हो । त्यसका लागि पनि धैर्यता चाहिन्छ ।


