Advertisement Banner
Advertisement Banner

११ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

संसदमा प्रश्न, जनतालाई जवाफ

११ बिहिबार , असार २०८३१२ घण्टा अगाडि

संसदमा प्रश्न, जनतालाई जवाफ

असार ७ गते चितवनमा रास्वपाको पहिलो अधिवेशन सम्पन्न भएको छ । यो अधिवेशनभन्दा पनि सभापति रवि लामिछाने र प्रम बालेन साहले जे बोले त्यसले राजनीतिक र कूटनीतिक तरङ्ग उठाइदिएको छ ।
बालेन र रविवीच मित्रता छैन, यिनीहरू फुट्छन्, अब रवि प्रधानमन्त्री बन्न सक्छन्जस्ता अनेक चर्चा चर्काएका विपक्षीहरू महाधिवेशन मञ्चा दुबै एकसाथ प्रवेश गरेको, अङ्कमाल गरेको, दुबैले मिले घण्टी बजाएर उद्घाटन र समापन गरेको, दुबैले पटक पटक एकदोस्रालाई हेरेर मुस्कुराएको दृश्यले प्रम बालेन विरोधीहरू निराश भएका छन् । प्रधानमन्त्री कहाँ छन् ? भन्ने श्रम संस्कृति पार्टीका हर्क साम्पाङले निम्तो बहिष्कार गरे पनि कांग्रेसका सभापति गगन थापा, एमालेका तर्फबाट प्रदीप ज्ञवाली, नेकपाका तर्फबाट वर्षमान पुन, राप्रपाका तर्फबाट राजेन्द्र लिंगदेन, पूर्व प्रम बाबुराम भट्टराई, मधेस वादी पार्टीका सीके राउत, उपेन्द्र यादवहरू सहभागी भएका थिए ।
विपक्षी दलहरूले पाएको मतको सदुपयोग गर्न सुझाए, जनताले सुशासन–समृद्धि, सामाजिक सुरक्षा खोजिरहेको बताए । नेकपाले सामाजिक न्यायमा रास्वप अझ स्पष्ट हुनुपर्छ भन्यो । कांग्रेसका संसदीय दलका नेताले संसदमा अब बालेन साहलाई नखोज्ने भने पनि पार्टी सभापति गगन थापाले हात मिलाए, खुशी हुँदै बधाई दिए र विधि नमिचियोस् भनेर खबरदारी गरे । एमालेको उही पुरानै बिरोध स्वर सुनियो, विरोधकै वीच बधाई दिने काम पनि भयो । डा.बाबुराम भट्टराईले बैकल्पिक उपलब्धि हो रास्वपा, यो मौका नगुमोस् भनेका छन् । मूल विषयको उठान राप्रपाले ग¥यो । आफ्नो पार्टीका कार्यकर्ता, मतदाताले समेत घण्टीमा भोट हालेर अपूर्व मौका दिएका छन् । बालेन ले राजा ल्याउँछ भनेर भोट दिएका हुन्, ती मतादातालाई पनि संवोधन गर्नुपर्छ भन्दै सुशासन कायम गर्ने ऐतिहासिक मौका पाएकोमा शुभकामना दिए ।
सबैको चासो थियो, प्रधानमन्त्री बालेन साहले के बोल्छन् भन्ने ।
जेठ १७ गते संसदमा प्रम बालेनले राष्ट्रघात गरे भन्दै चियाको कपमा आँधी ल्याउने जुन बिरोधको अभियान चलिरहेको छ, सबै प्रश्नको जवाफ जनताका सामु राखिदिएका छन् ।
प्रम बालेन साहले नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै सबैमा नमस्कार गरे, त्यसपछि अगाडि बोले–
हामी हाम्रो छिमेकीसँग आफै कुरा गरेर मिलाउँछौं । लिपुलेक, लिम्पियाधुराका विषयमा हामीसँग प्रमाण छ । हामी ल्याउँछौं ।  यसमा आशंका मान्नुपर्दैन । मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नुपर्दैन। कसैले मान्नुपर्दैन ।
भारतसँग सीमा विवादको समाधानका लागि ब्रटिशले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । ब्रिटिशलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौं ।
प्रधानमन्त्री बालेन साहले भारत, चीन, बेलायतले समेत सुन्नेगरी संसदमा प्रतिपक्षीले गरेको बितण्डा, चर्को बिरोधको जनतालाई जवाफ दिएका हुन् ।
सरकारको तीब्र आलोचना भएको विषय हो, अख्तियारलाई बन्दी बनाएको किन ? यसबारे प्रधानमन्त्रीले प्रष्टै भनिदिएका छन्– अख्तियारलाई ५ घन्टा हैन, आवश्यक परे पाँचै वर्ष राखेर छलफल गर्छौं । सरकारको काम अलि बाहिरबाट हेर्दा अनियन्त्रित नै देखियो होला, तर सबै नियन्त्रणमै छ । अख्तियारलाई ५ घण्टा सोधपुछ गर्न पर्छ, सरसल्लाह लिन पर्छ भने ५ घण्टा मात्रै होइन, हामी ५ वर्ष नै गर्छौं । त्यसमा चिन्ता लिइराख्न पर्दैन । हाम्रो पार्टीले निहुँ खोज्नै परे कस्तो केशमा भने विगतमा फटाइँ भएको छ भने । सरकारी सम्पत्ति, रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्छौं । यस कामका लागि सामाजिक सञ्जालमा सरकार अनियन्त्रित देखिएको हुनसक्छ, नियम कानुनमा बसेरकै काम गर्छौं । नियम भन्दा बाहिर जाँदैनौं । अनियन्त्रित देखिएला । त्यो देखिएको मात्रै हो । आउट अफ कन्ट्रोल गएको छैन ।
सरकार भनेको गाडी जस्तै हो, गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ र ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता व्यक्त गर्नेहरूलाई प्रम बालेनले भने– हाम्रो गाडी अनियन्त्रित पनि छैन । वातावरण पनि मिलेरै गएको छ ।जुन चिन्ता व्यक्त गर्नुभएको छ, त्यसका लागि धेरै–धेरै धन्यवाद दिन चाहन्छु । चिन्ता लिनु राम्रो कुरा हो । सरकार अहिले एक्सप्रेस वेमा गति लिइरहेको गाडी हो । यो गाडी अब गन्तव्यमा पुगेर मात्रै रोकिने छ । रास्वपा स्पटलाइटमा नभई जनतालाई स्पटलाइटमा ल्याएको र पार्टी विकासवादी हो । पार्टीभित्र गुटबन्दी नगर्न आग्रह गर्दै सुशासन र समस्या समाधानमा पार्टीको ध्यान केन्द्रित छ ।
जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर पनि चिन्ता व्यक्त गरिएको छ । तर हामीले कुनै हावा चलाएका छैनौँ । हामीले बाढी ल्याएर खोला फर्काएका हौँ । र खोला एक चोटि आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ । यो हावा जस्तो कहिले बायाँ, कहिले दायाँ, कहिले उत्तर, दक्षिण, पूर्व वा पश्चिम बग्दैन ।
तर म यहाँ सबैलाई के भन्न चाहन्छु भने, हामी स्पटलाइटमा आएका होइनौँ, हामीले जनतालाई स्पटलाइटमा ल्याएका हौँ । हाम्रो सूर्य नेतामाथि मात्र चम्किँदैन, हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ । प्रम बालेनले भनेकाछन्– सुशासन ल्याउँछौँ भनेका छौँ, सुशासनका एजेन्डा बोकेका छौँ । हामी यही कार्यकालमा सुकुमबासी, सहकारी समस्या पनि समाधान गर्छौँ ।
हाम्रो सरकार गठबन्धनको सरकार होइन, एकल पार्टीको सरकार हो । र एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भने हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक केन्द्रीय सदस्य प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो ।
प्रधानमन्त्री, रक्षा मन्त्री खोज्नेदेखि विपक्षी आक्रोशलाई समेत प्रम बालेनले मुखभरिको जवाफ दिएका छन् । विश्लेषकहरू भन्छन्– कम बोल्लान् तर सटिक बोल्छन्, जिम्मेवार बोल्छन् । पार्टीका बरिष्ठ नेता तथा प्रम बालेन साहको अभिव्यक्तिले रास्वपाका भुइँस्तरका कार्यकर्तासमेत पुलकित हुनपुगेका छन् । जनताप्रति जवाफदेही यस्तै हुनुपर्छ । प्रम बालेनले भनेका छन्– पार्टीलाई एक बनाइराख्नुपर्छ । आज, हामी पार्टीको बारेमा सोचौँ, त्यसपछि पाँच वर्ष देशको बारेमा सोचौँ । धेरै–धेरै धन्यवाद । 
राजनीतिमा परिवर्तन आएकै हो । 
त्यसपछि मुस्कुराउँदै पार्टी सभापतिले खुलेर बोल्दै प्रधानमन्त्री बालेन साहलाई आग्रह गरे– महाधिवेशनको उद्घाटन समारोहमा लामिछानेले सरकार सञ्चालनबारे चुनाव अघि नै सहमति भइसकेको छ, यसमा दायाँबायाँ हुन्न ।
सरकार सञ्चालन गर्नका निम्ति रास्वपाले चुनाव अघि नै बालेन्द्र शाहको खुट्टामा बल पु¥याएको छ । अब भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन शाहको हो । झुक्किएर बल आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो । 
यहाँ मुख मिठ्याउने धेरै छन् । चुकुली लगाउने पनि धेरै छन् । म तिनलाई जवाफ दिन बोलिरहेको छैन । म त इतिहासलाई जवाफ दिन खडा भएको छु । आज जन्मेकाहरूले मात्र होइन, भोलि जन्मनेहरूले पनि मलाई र बालेनलाई प्रश्न गर्नेछन् । यो मौका किन गुमाउन दियौं । हामी त्यो प्रश्न भाँच्न चाहन्छौं । यो अवसरलाई सदुपयोग गर्न चाहन्छौं ।
सभापति लामिछानले बल पास गर्ने विषय उठान गर्दा प्रधानमन्त्री बालेन्द्र शाह खुलेर हाँसेका थिए । रास्वपाका कार्यकर्ताहरूले उठेर ताली बजाएर उच्च सम्मान प्रकट गरेका थिए ।
झन झन आक्रामक
रास्वपाको चितवन अधिवेशनमा जेजस्ता दृश्य देखिए, पूर्ण बहुमतको सरकारले जनतासँग गरेका वचतवद्धता र करारलाई पूरा गर्न अझ आक्रामक शैली अपनाउने संंकेतहरू देखिएका छन् ।
हुनसक्छ, संसदमा पनि रास्वपाको कडिकडाउपन देखिनेछ । सुशासन कायम गराउन र सेवाग्राहीलाई सेवा प्रदान गर्ने तौरतरिकामा आएको परिवर्तनमा अझै सुधार हुनेछन् । कुनै पनि कर्मचारी, संवैधानिक निकायका प्रमुख वा जो कसैले सरकारलाई छल्ने, ढाँट्ने, लुट्ने काम गरेको थाहा पाउनासाथ कारवाही गर्ने फास्ट ट्य्राकको सञ्जाल भित्रभित्रै सकृय भइसकेको छ ।
व्यक्ति फेरिएको होइन, व्यवहार बदलिएको, पद्धति परिवर्तनमात्र होइन, ढाँचा मै नयाँपन दिन बालेन सरकार लागिपरेको आभाष देखिन्छ । प्रतिपक्षीहरू जे जसरी चुनावमा खुम्चिए, उनीहरूले बालेनलाई खोज्दिन भने पनि सबैको नजरमा पर्नेगरी काम गर्न कस्सिएका छन् । रास्वपा एकढिक्को हुँदा प्रतिपक्षीको सातो गएको छ ।