Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

पापडतिर पनि ध्यान दिनुपर्‍यो

०९ मंगलबार , असार २०८३४ घण्टा अगाडि

पापडतिर पनि ध्यान दिनुपर्‍यो

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले गतहप्ता शुक्रवार माइतीघरतिर एउटा ¥याली निकाल्यो । पेशागत भनिए पनि सहभागी सबैजसो गत भदौ २३ र २४ भन्दा अघिका सत्तारूढ दलसँग आवद्ध धेरै थिए । चिकित्सक संघ, नेपाल बार, इन्जिनियर्स एशोसियशन, नेपाल पत्रकार महासंघहरूको सहभागिता रहेको उक्त ¥यालीको मुख्य नारा थियो– वर्तमान बालेन साह सरकारको कार्यशैलीले लोकतन्त्रका आधारभूत मूल्यमान्यता कमजोर बनायो । यो नाराको भित्री कुत्सित उद्देश्य चैं अर्कै थियो भन्ने लख काट्न सकिन्छ । होला, वर्तमान सरकारका कामकारवाहीले सीमा नाघेका होलान् । कानुन, ऐन र नियम कतिपय अवसरमा संविलानलाई समेत नजरअन्दाज गरे होलान, तर जनताले कुनै आपत्ति जनाएका छैनन् । यसकारण भन्नैपर्छ, भदौ २३ अघि र २०४६ पछि जस्तो अराजकता, भ्रष्टाचार, लूट, राष्ट्रघात चाहिं गरेको छैन । त्यसो त सरकार गठन भएको सयदिन पनि पुगेको छैन । तसर्थ अहिले नै गाली बिरोध वा मूल्याङ्कन गर्नुको कुनै तुक पनि छैन । तैपनि हिजोका बिकृति, बिसंगतिलाई सफा गर्ने क्रममा केही कडाइ गर्दा तलमाथि पर्न गएको हुनसक्छ ।कहिं कतै यो असक्षम संविधानका मूलभूत कुराहरूलाई मिचिएको हुनसक्छ । कमसेकम भ्रष्टाचार, नाताबाद र लूटतन्त्रको नाङ्गो नाचचाहिं देखिएको छैन । सबैले बुझ्नैपर्ने विषय के हो भने यो सरकार परिवर्तनका लागि काम गर्न आएको हो, काम गर्न दिनुपर्छ ।
हो, गत जेठ १७ गते नेपालले पनि भारतको जमिन मिचेको छ र साथीजसरी मिलेर सीमा समस्या समाधान गर्ने छौं भनेर दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले ठूलै हल्लाखल्ला गरेका छन् । खास कुरो परराष्ट्र मन्त्रीले जवाफ दिइसकेका छन् । यो सरकारले राष्ट्रको शिर झुकाउने काम गरेको छैन ।  भ्रष्टाचारमा शून्य सशनशीलता अपनाउने क्रममा केही कडाइ भएकै हो । भ्रष्टाचारको गन्दकी सफा गर्ने कि नगर्ने ? अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा ९ घण्टा थुनियो, करका दर हेरफेर गरियो भन्दै यही विषयमा तानाशाही भयो, लोकतन्त्र नै समाप्त पार्न लाग्यो भनेर हुइया गर्नुको तुक केही देखिदैन । सरकारका मन्त्रीले सवालको जवाफ दिइसके । गृहमन्त्रीलाई सुनपानी हालियो, संसदीय छानबिन भएन जस्ता कुनै विषय नै नभएजस्तो विपक्षी अल्झिरहेका छन् । खास कुरो जनजिविकाको छ, सुशासन र विकासको छ । संविधान संशोधनको बहसपत्र तैयार हुँदैछ, कसरी संशोधन गर्ने हो । त्यसतिर विपक्षी दलहरूको कुनै ध्यान नै गएको छैन ।
जहाँसम्म पापड नामक संस्थाको प्रदर्शनको कुरो छ, त्यसमा सबै पुराना भ्रष्ट दलहरूका प्रतिनिधिहरूमात्र छन् । तिनलाई लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता, मानवाधिकार, सुशासन आदिभन्दा दानापानी बन्द भएकोमा चिन्ता छ । आआफ्ना दलका सरकारहरू हुँदा  विभिन्न शिर्षकमा रकम लिएर आआफ्ना स्वार्थ पूरा गर्दै आएकाहरूको अहिले दानापानी बन्द भएको छ । अब यो पापडलाई जसरी भए पनि बालेन सरकारको रास्वपाको सरकारलाई हटाउनु छ । संसदको अंकगणितबाट सकिएन, तसर्थ ती दलका भ्रष्ट नेताहरूको निर्देशनमा यस्ता ¥याली प्रदर्शन आयोजना गरिएका हुन् भनेर बुझौं । हिजोका दिनमा, गत सालको भदौ २३ अगाडि र ०४६ पछिका दिनहरूको कुरा गर्दा त हरेक दिनजसो संविधान मिचिन्थ्यो, भ्रष्टाचारका समाचार सुन्नमा आउँथ्यो, नेपाल र नेपालीको शिर निहुरनेमात्र होइन, नुहिनेगरेको थियो । कुशासक, बेथिति, अराजकता त राष्ट्रको पर्यायवाची नै बनेको थियो । तर अहिले, सफाइको काम हुँदैछ । त्यसमा कडाइ त हुन्छ नै । हिजोको दिनमा जस्तो जेमन्त गर्ने छुट पापड वा कसैलाई पनि कहाँ हुन्छ र ? बालेनले भनेका पनि छन्, काम गर्ने हो, काम गर्दा कसैका सामु झुक्दिन । झुक्ने छैन । त्यसकारण उडन्ते र स्वार्थयुक्त ¥याली, प्रदर्शनहरूमा राष्ट्रभक्त नेपाली अल्मलिने छैनन् । पर्खौं, बालेन सरकारले गरेको सफाइ र विकास अभियान हेरौं । भ्रष्टाचारीहरूको जेलयात्राको दृश्य हेर्न पर्खौं । चुरो कुरो, संविधान संशाधनमा आम नेपालीको भावनालाई समेटिन्छ कि समेटिन्न ? त्यो विचार गरौं । पुराना दल र नेताहरूले जनताको आँखामा भ्रम छरेर सडक तताउने दिन सकिएजस्तो छ । ०४६ पछि, अराजनीतिक, सिद्धान्तहीन गठबन्धन गरेर विदेशीको सामलमा राजालाई तर्साउन सजिलो भएको थियो । बालेन सरकार त जनादेश लिएर आएको जनताको सरकार हो । यो सरकारले जनतासँग करार गरेको छ, वचनबद्धता गरेको छ, त्यो अनुसार काम गर्छ भने त्यो मतादेश हो, जनबलमा भएको मान्नुपर्छ । जनतालाई मूर्ख बनाउने आयाम सकियो । माइतीघरका सडकमा पापड वा अन्य यस्तै नाममा शक्ति प्रदर्शन गर्नुको अर्थ छैन अब । नागरिकलाई शरणार्थी बनाएर, राष्ट्रका सम्पत्ति बेचीखानेहरूले विधिको शासनका नाममा बोलेको सुहाउँदैन । बालेन सरकार काम देखाउ, काम चाहियो ।