
गत शुक्रवार टुँडिखेलमा राष्ट्रपतिको भाषणसहितको गणतन्त्र दिवस केवल कर्मकाण्डमा सिमित देखियो । गणतन्त्र दिवसप्रति आमनागरिकको यसपल्ट पनि कुनै चासो देखिएन । गणतन्त्रवादी हुँ भन्ने पूर्व प्रधानमन्त्रीहरुले समेत उपस्थिति जनाएनन् । झलनाथ खनालले चाहिं निम्तो पाइन भनेका थिए । प्रधानमन्त्री बालेन्द्र साहले उपस्थिति जनाए पनि तमासामा मात्र हेरेका थिए । गणतन्त्र नामको भाँडतन्त्रका बारेमा राष्ट्रपतिले प्रशंसा गरे पनि कसैले उनको भाषणमा ध्यान दिएको देखिएन । कुनै चर्चासम्म पनि भएन ।
गणतन्त्र दिवसमा गणतन्त्र ढल्नुपर्ने थियो, एकजना सैनिक ढले । यो भाँडतन्त्रले सबैलाई पीडा दिएको छ भन्ने सांकेतिक घटना थियो त्यो । यो भाँडतन्त्रले दिनुसम्मको हण्डर दिएपछि गत भदौ २३ र २४ मा जेनजी आन्दोलन, बिद्रोह भयो । यसको परिणाम फागुन २१ मा आमनिर्वाचन भयो र जेनजी पुस्ता सत्तामा पुगे । यो जेनजी पुस्ताले पुरानै भाँडतन्त्र पछ्याएको आरोप लागे पनि केही क्रमभङ्गताका श्रृङ्खला सुरु भएका छन् । सय दिन पनि नपुगी पुराना दल र नेताहरुले यो जेनजी सरकारको दोहोलो काढिरहेका छन् । आलोकाँचो भएकाले गल्ती हुनसक्छ, कमजोरी देखिन सक्छ । परिपक्व सल्लाहकारहरु राखेर जनताको अपेक्षा पूरा गर्नतिर लाग्दा बालेन्द्र सरकार र रास्वपाका लागि उचित हुनेछ । लोकप्रियतावादले सीमा नाघेको छ । देश र जनताको भविष्यको चिन्ता गरेर निर्णयहरु गर्दै सुशासनतिर लाग्नुपर्नेछ । भ्रष्टाचारीहरुमाथि केही फाइल खोल्दैमा अदालतबाट धरौटीमा रिहा भइरहेका छन् । किन यतिसम्मको लापरवाही भयो, कसले ग¥यो, सरकारले केलाओस् ।
बजेट आयो, बजेटको तीब्र बिरोध भइरहेको छ । विद्युतमा आत्मनिर्भर हुने भनिएकोमो ५० युनिट भन्दा बढीको खपतमा भ्याट लगाएर यो सरकारले हरेक बस्तुमा महगी लादेको छ, यसको असर आमनागरिकलाई नै पर्ने हो । यसमा बालेन्द्र सरकारले संशोधन गर्न जरुरी छ । उत्पादनमा जोड लगाउन र खपतमा सुपथ गर्नसके यसबाट महगी नियन्त्रण र आत्मनिर्र्भरता नै बढ्नेछ । ऋणमाथि ऋण थोपर्ने काममा अर्थमन्त्री किन अगाडि सरे ? हुन त उनैले भनेका थिए, ऋण नलिने हो भने सुत्न पनि सकिन्न । यसको अर्थ अर्थतन्त्र नराम्ररी भत्किएको छ । यो भत्किएको अर्थतन्त्रलाई सच्याउने, सुल्झाउने कसरी ? यसतिरको बहस देखिन्न ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट सन्देश दिएका छन्– ढुक्क हुनोस् । सुशासन, भ्रष्टाचारीमाथि कारवाही, रोजगारीको बृद्धि, उद्योगधन्दको सञ्चालन, कुन कुन विषयमा ढुक्क हुने हो । सार्वभौमिकता भूराजनीतिको चपेटामा परिसकेको छ, कसरी स्वराज बचाउने हो ? प्रम बालेन्द्रजी कुन कुन विषयमा ढुक्क हुने हो । तपाई र तपाईका मन्त्रीले घूस नखालान्, देश र जनताका लागि गर्न चाहिँ के गर्छन् ? त्यसतिर ढुक्क हुन सक्ने स्थिति निर्माण भइरहेको छ कि छैन ? झण्डै दुई तिहाईको सरकार देश र जनताका लागि झन खतरनाक नबनोस् । जनताले के चाहेका हुन्, जनतासँग के के करार गरेको हो, जनतालाई देखाएको सुनाएको वाचापत्र के हो ? यसको सुत्र सूत्रमा काम भइरहेको छ कि छैन ? यो सरकार असफल भयो भने के के हुनसक्छ भनेर अनेक प्रकारका चर्चाहरु घनिभूत भइरहेका छन् । ढुक्क हुनका लागि बालेन्द्र सरकारले त्यही प्रकारका कामहरु गरेर देखाउन जरुरी छ ।
नेपालको सत्ता राजनीति भनेकै खुकुरी र हिंसाको छ । फेरि फेरि यस्तो हिंसात्मक घटना नहोस् भन्नका लागि सबै राजनीतिक शक्तिहरुवीच संवाद, सहमति र सहकार्यको थालनी गरिहाल्नुपर्छ । खासगरी अभिभावक नहुँदा खबरदारी गर्ने कोही भएनन् । जो सत्तामा गए, मीठो भाषण गरे, सत्तालाई अपराधिकरण गरेर स्वार्थमात्र पूरा गरे । अब यो स्थितिको अन्त हुन्छ भन्ने विश्वास गरेरै जेनजी सरकार सत्तामा पुगेको हो । यो सरकारले परम्परागत शक्तिलाई अभिभावकमा राखेर अर्को क्रमभङ्गता गर्न अबेर नगरोस् । कुशासन हुनगयो भने जनताले यो परिवर्तन र यी जेनजी पुस्तालाई दिएको विश्वास खण्डित हुनेछ । यसकारण संविधान संशोधन बहसपत्र तैयार भइरहेको छ र कार्यदलले मागेको सुझावमा ९० प्रतिशत सुझाव संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रका पक्षमा आएको छ । त्यसमा अमल होस् । संघीयताको खारेजी, सांसदको संख्या कटौतीमा पनि उल्लेख्य सुझाव आएका छन् । सुशासनका लागि आवश्यक पर्ने अरु फेरबदल जे जे गर्नुछ गरे हुन्छ, राजनीतिक मुद्दाहरुको छिनोफानोले चाहिं संविधान संशोधनमा प्रमुखता पाउनैपर्छ । अब पनि राजनीतिक मुद्दाहरुमा अल्झेर अस्थिरता, अराजकता मच्चाउने हो भने अस्तित्वको संकटमा पुगिसकेको धरापबाट सग्लै मुलुकलाई निकास दिन सकिनेछैन ।
निष्कर्षमा भन्नुपर्दा, संवैधानिक राजतन्त्र, हिन्दुराष्ट्रसहितको संविधान संशोधन गरेर प्रजातन्त्र सुनिश्चित गर्ने हो भने अहिलेको परिवर्तन सार्थक हुनेछ ।


