
प्रधानमन्त्री बालेन्द्र साह संसद गएनन्, जवाफ दिएनन्, प्रतिपक्षीहरू सडकदेखि संसदसम्म रास्वपाको हुर्मत लिइरहेका छन् । बालेन्द्र साहले रास्वपाले पाएको जनमत र पार्टीमा भाँडभैलो मच्चाइदिए भनेर सञ्जार माध्यममा हुँडलो मच्चाउने काम भइरहेको छ ।
के यही सत्य हो त ? रास्वपाभित्रको स्रोत भन्छ– यो सत्य होइन । प्रम बालेन्द्र साहले जेजति निर्णय लिएका छन्, सभापति रविसँग सल्लाह गरेर लिएका छन् । रास्वपा र सरकार रणनीतिक रूपमा चलेका छन् र ऐतिहासिक काम गर्ने मोडमा पुगेका छन् ।
यतिबेला २०४६ सालका परिवर्तनपछिका फोहर सफा गर्ने दायित्व निर्वाह गर्दैछन् प्रम बालेन्द्र । यसमा रास्वपाका सभापति रवि लामिछाने र सिङ्गो पार्टी पङ्ति एक छन् । झट्ट हेर्दा केही सांसदले सरकारको आलोचना गरेको देखिन्छ । यथार्थमा रास्वपा नयाँ राजनीतिक मूलधार बन्दै गएको छ ।
गत फागुन २१ को चुनावपछि नेपाली राजनीतिमा आधुनिक महाभारत चलिरहेको छ । रास्वपा कति राम्रो भन्दा पनि कांग्रेस, एमाले, माओवादी (नेकपा) असफल भएपछि मौका मिलेको हो । यो मौकालाई पुँजीकरण गर्नसके भने रास्वपाले अरू धेरै वर्ष राजकाज गर्नसक्नेछ । राजनीति गर्ने अवसर पाउनेछ । रास्वपा जनताका लागि दशैं तिहारमा स्वाद फेरेजस्तो बनेको छ । रवि र बालेनको जोडी मिलेको छ । एउटा राजनीतिक र अर्को प्राविधिक सतिसाल । यी न भाँचिन सक्छन्, न कुहिन । यिनले तैयार गरेको रणनीति कति लामो समय चल्छ, त्यसमा नेपालको भविष्यको अनुहार निहित देखिन्छ । भन्नलाई त यो जोडी राजा महेन्द्रपथ पछ्याएको भनिदैछ । कम्तिमा ५ वर्ष मिलुन् । प्रतिपक्षीले यो कार्यकालमा सत्ता लालसा बिर्सियुन् । यसपछि प्रत्येक पार्टीले राजनीतिलाई देश र जनता केन्द्रित गर्नेछन् ।
अहिले नै प्रतिपक्षीहरू यो जोडीलाई अमेरिकी भरिया भनिरहेका छन् । यिनीहरू पनि सद्दाम हुसेन अथवा बिन लादेनजस्तै हुन् भनेर आत्मरती गरिरहेका छन् । बालेन्द्र साहलाई युक्रेनका राष्ट्रपति जेलेन्स्की भन्ने आरोप पनि लगाइरहेका छन् । तर बालेन्द्रका स्टाटसहरू र उनको प्रधानमन्त्रीत्वमा देखाएका चरित्र आरोप लगाएजस्तो मेला खाँदैनन् । बालेन्द्रले न भारत, न अमरिका कसैका सामु लम्पसार पर्न चाहेको देखिदैन । प्रम बालेन्द्रले सहिद, जेनजीका सपना साकार पार्ने, रोजगारीको सिर्जना, भ्रष्टाचारको अन्त्य, सुशासनका मुद्दाहरूलाई प्राथमिकता दिएका देखिन्छन् ।
नेपाललाई ग्रेलिस्टबाट निकालेर समृद्धिको मार्गमा अगाडि बढाउने काम बालेन्द्र सरकार गरिरहेको छ, रास्वपाका सभापति होस्टेमा हैंसे गरिरहेका छन् । ३७ वर्षको शासन गर्दा देश बिगार्ने जो थिए, तिनीहरू नै यो जोडी फुटाउन र देशलाई नीति, सिद्धान्त, निष्ठा, चरित्रहीनतामा धकेल्न खोज्दैछन् । रास्वपा चानचुने प्रहारबाट टुक्रिने, फुट्ने देखिदैन । एकाध सदस्य बाउँठिएलान्, त्यसले रास्वपाको शक्ति, सामथ्र्य र लक्ष्यमा खासै फरक पार्ने देखिदैन । पुराना पार्टीहरू अंकगणित र स्वार्थमा केन्द्रित भए, किनारामा पुगे । यो कुरा रवि र बालेन्द्रले बुझेका छन् । रविलाई त पक्राउ गरेर अन्तिम इच्छा सोध्ने यिनै प्रतिपक्ष थिए, कसरी बिर्सने ?
हो, गत भदौ २३ र २४ गते देश जल्यो । यसअघिको ३७ वर्षमा राष्ट्रियता नै जलाउने यिनै प्रतिपक्षी हुन् । देशलाई अनियन्त्रित र अनुशासनहीनतामा अलमल्याउने यिनै प्रतिपक्षी थिए । दाँतले जिब्रो पनि टोक्छ भन्दै प्रतिपक्षीहरू रवि र बालेन्द्रको मित्रता हेरौंला भनेर मुख मिठ्याइरहेका देखिदैछन् । निश्चित कुरो भनेको नेपाललाई फिजी र महेन्द्र चौधरीको कब्जा हुन वा सिक्किमीकरण हुन दिनेछैनन् । राष्ट्रियता बचाउन जतिसुकै अप्रिय निर्णय गर्न सक्छन् । रिमोटबाट चल्ने परजीवी हुन्छन्, यो जोडी नेता नेपाली हुन्, पनामाका नोरियगा होइनन् ।
बहुदलपछिको ३७ वर्षमा आफूले गर्न नसकेका र बिथोलिएका जति पनि विषय छन्, अहिले प्रतिपक्षी सरकारसँग त्यही विषयमा जवाफ मागिरहेका छन् । नयाँ सरकार जो परिवर्तन गर्न आएको छ, जनादेश पाएको छ, त्यो सरकारलाई बाटो देखाउने, संवाद र सहमति गरेर अघि बढ्ने दायित्व पुरानाको थियो । ३७ वर्ष भ्रष्टाचारमा रमाउनेहरू चुके । हो चुक घोप्ट्याउनेहरू चुक्छन्, चुकेका छन् ।


