कात्तिक १४ गते ४ बजे हामीलाई बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्ष नेपालमा बसेका अंगीकृत नागरिक कुनै पनि संवैधानिक पदमा, राष्ट्रपति समेत बन्न सक्ने गरी संविधान संशोधनको प्रस्ताव तैयार गरिएको जानकारी दिएकै हो, भनेकै हो भनेपछि कात्तिक २१ गते प्रवक्तामार्फत त्यसो भनेको छैन भनेर भन्न लगाउनुको के अर्थ भनेर मधेसी मोर्चाका राजेन्द्र महतो लगायतका व्यक्तिहरुले सरकारको खण्डनको तीब्र मण्डन गरिदिएका छन्। सामाजिक सञ्जाल, फेसबुकमा अंगीकृतलाई पनि राष्ट्रपतिलगायतका पदहरुमा नियुक्त गर्न सकिने प्रावधानसहितको संविधान संशोधनको मस्यौदा तैयार भएको ूचना मन्त्रिपरिषदबाटै चुहिएपछि व्यापक बिरोध भएको थियो। त्यो बिरोधको उवाल सडकमा व्यापक नहोस् भनेर अस्ती आइतवार प्रवक्तामार्फत प्रम दाहालले ती सबै भ्रम हुन्, कहाँबाट प्रायोजित रुपमा सार्वजनिक भयो, त्यस्तो केही होइन भन्न लगाएका थिए। आमनागरिकले पत्याएका छैनन्, किनभने स्वयं प्रधानमन्त्रीले पटक पटक अन्तरिम संविधानको प्रावधानमा फर्कन सकिने बताउँदै आएका छन्। आफू एकथरि बोल्ने र प्रवक्तामार्फत अर्कोथरि बोल्न लगाउने प्रधानमन्त्रीको चातुर्यले कुनै काम गरिरहेको देखिदैन।
भारतीय राष्ट्रपतिको ३ दिने भ्रमणकालमा ३ पटक संविधान संशोधन के भयो भनेर सोधेपछि त्यो दबाब थेग्नका लागि प्रधानमन्त्रीले संविधान संशोधनको प्रस्ताव छठ लगत्तै संसदमा पेश गरिने र सहमति खोजिने आश्वस्तता भारतलाई दिएका थिए। यसअघि भारतीय विदेशमन्त्रीले भारतको संसदमै नामै किटेर दाहाल, देउवा र ओलीले समेत संविधान संशोधन गरेर असन्तुष्ट मधेसीको माग संवोधन गर्छु भनेर विश्वास दिलाएको बताएको सन्दर्भमा त्यो आफूप्रतिको विश्वास खण्डित नहोस् भनेर अंगीकृतलाई १० वर्ष नेपालमा बसेको आधारमा राष्ट्रपतिसम्म बन्नसक्ने प्रावधानसहितको संशोधन प्रधानमन्त्रीले गर्न लागैकै हो। \u000aप्रधानमन्त्री दाहालले भनेकै हो, अव उनी आफ्नो भनाईबाट कसरी पछाडि हट्लान्, हेर्नु त्यही छ।


