Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

किन बढ्यो अराष्ट्रियहरुको चुरीफुरी?

०८ सोमबार , कार्तिक २०७३९ बर्ष अगाडि

राजन कार्की -
पहाड, माटो, खोला राष्ट्रियता हो। राष्ट्रियता नभए एक इन्ची सिमानाका लागि किन युद्ध हुन्थ्यो। एकधरो कपडा जो देशको झण्डा हो, झण्डा राष्ट्रियता हो। ठूला ठूला युद्ध, झण्डाकै आरोहण, अवरोहणमा टुङि्गने गरेका छन्। राष्ट्रिय पोसाक, झट्ट देखिने पहिचान हो। जसलाई राष्ट्राध्यक्ष, सरकार प्रमुखदेखि नागरिकसम्मले पहिरेका हुन्छन्। ती सबै राष्ट्रियता हुन्। किन मान्छे अर्को मुलुक पुग्दा बिरानो अनुभव गर्छ। किनभने उसले त्यहाँ आफ्नोपन, देशको सुगन्ध भेट्टाउँदैन। राष्ट्रियता आफ्नै मन हो। राष्ट्रियताका लागि मान्छे सहादत हुन्छ, शहिद हुन्छ। माटोप्रतिको ममता राष्ट्रियता हो। विविधिता, बहुलता र बिधि अमेरिकी राष्ट्रियता हो। अनेकतामा एकता 

नेपाली राष्ट्रियता र शक्ति हो। भनिन्छ, सबैभन्दा उत्तम धर्म मानवधर्म र सबैभन्दा उच्चवाद राष्ट्रवाद हो। 
नेपालमा त्यो राष्ट्रवाद जिवन्त छ कि छैन? समयले उठान गरेको अहं प्रश्न यही हो। नेपालको एकीकरणको इतिहास, २००७ सालको परिवर्तन, २०१७ सालमा पञ्चायतको जन्मदेखि २०४६ सालमा पञ्चायतको मरण र बहुदलको पुनरोदय हाम्रा बिगत हुन्। ०४६ सालदेखि २०६२–६३ सालसम्मको अवधि पनि इतिहास नै हो। 

इतिहासबाट हामीले सिक्ने, शिक्षा लिने हो। ०६३ सालदेखि सुरु भएको नयाँ नेपालको ११ वर्षे गणतान्त्रिक लोकतन्त्रको अभ्यास हाम्रो वर्तमान हो, जुन जग बस्यो,  पद्धितिको घर बन्न सकेन। सुरु भयो, संस्थागत हुनसकेन। 
यसकारण प्रश्न उठेको छ– हामीले खोजेको यस्तै अराजकता हो त? ११ वर्षे लोकतान्त्रिक अवधिमा अधिकतम समय कम्युनिष्टले शासन गरे। ०६५ सालको ९ महिने अवधिको सरकार र अहिले पनि क्रान्तिकारी कम्युनिष्टले शासन चलाएको छ। वीचमा माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईजस्ता कम्युनिष्टले शासन गरेकै हुन्। कुनै पनि कम्युनिष्ट नेतृत्वको शासन सुशासन बन्नसकेन। राष्ट्रवादी पनि हुन सकेन। जुनै पनि कम्युनिष्ट सरकारमाथि राष्ट्रघाती आरोप लागेकै छ। वर्तमान कमरेड प्रचण्डको सरकारमाथि पनि असंलग्नता त्यागेर भारतपरस्तताको कालो पोतिन पुगेको छ। कूटनीतिक ज्ञाताहरु नेपालको परराष्ट्रनीति संवेदनशील चरणमा प्रवेश गरेकोमा चिन्तित छन् र रबर्ट डेभिडको सम्झना गर्न थालेका छन्। रबर्टले सन २०१२ मै दी रिभेन्ज अफ जिओग्राफीमा लेखेका थिए– नेपालले राज्य क्षमता बृद्धि गर्न सकेन भने बिघटनको ओरालो लाग्नेछ। संसद, सांसद, सरकार र राजनीतिक पार्टीहरुले राष्ट्रियता, राष्ट्रिय धर्मछाडा बनिदिदा हामी मैनबत्ती पग्लिए झैं पग्लिदै गएका छौं। 
कम्युनिष्टहरु स्टालिनलाई माइबाप ठान्छन्। माओ, लेनिनको तस्वीरमुनी बस्न गौरव गर्छन्। यी कम्युनिष्टहरुले कहिल्यै देशको नक्सा, पहाडमुनी आफूलाई राखेर हेरे? स्टालिनले जर्मन सेनालाई बन्दी बनाएपछि जर्मनले स्टालिनका छोरालाई बन्दी बनायो र बन्दी सेना छाडे, स्टालिनका छोरालाई रिहा गरिदिने प्रस्ताव गर्‍यो। 

स्टालिनले मलाई छोरोभन्दा राष्ट्रियता प्यारो छ भनेर जर्मनलाई ललकारे। स्टालिनका छोरा जेकव जर्मन जेलमा सडेर मरे। आज पनि जर्मनीहरु यसकारण स्टालिनलाई सम्झना गर्छन्, स्टालिन राष्ट्रवाद अमर छ भन्छन्।हामीलाई राष्ट्रियताको मूल्यमा व्यक्तिगत स्वार्थ प्यारो छ किन? 
नेपाली कम्युनिष्टहरुलाई सम्झना गर्ने त्यस्तो कुनै राष्ट्रिय घटनाक्रम छैन। प्रचण्डले १० वर्षे जनयुद्ध हाँके, १७ हजारको बली चढाए। उनलाई सत्ता, शक्ति र सम्पत्ति प्राप्त भयो। मरेकाका परिवारजन न्याय खोजिरहेका छन्, लडाकाहरु अन्याय भयो भनेर चिच्याइरहेका छन्, प्रचण्ड कहिले लण्डनआई पुग्छन् त कहिले भारतको गोवा पुगेर श्रीमती र छोरासँग सेल्फी खिच्न व्यस्त देखिन्छन्।
कम्युनिष्टका गुरु मोहनविक्रम सिंह स्कूलिङ राम्रो भएका कम्युनिष्ट नेताहरु बिग्रेको देखेर थुइक्क भन्न थालेका छन्। मोहनचन्द्र अधिकारीलाई भारतका नेता चन्द्रशेखरले मण्डेलाको उपमा दिए, ती मण्डेला मरीच चाउरिएझैं चाउरिएर रुद्राक्षको माला जप्न थालेका छन्। मोहन वैद्य, विप्लवहरु अर्को क्रान्ति खोज्दैछन्, बिप्पा सम्झौता गरेर एयरपोर्ट नै भारतलाई हिल्ला लगाउन खोज्ने क्रान्तिकारी नेता बाबुराम भट्टराई कम्युनिष्ट सिद्धान्तलाई खिया लागेको भन्दै नयाँ शक्ति निर्माणमा जुटेका छन्। 
समाजवादी कांग्रेसलाई गिरिजाले यता न उता मकैबारी भित्ता पुर्‍याएर छाडिदिए। वीपीले रोपेको कांग्रेसमा केही त प्राण थियो, त्यसैले पहिलो पार्टी बनेर संविधान जारी गर्नसक्यो र सत्तामा भागिदार बनेको छ। वीपीवादमा फर्केर पाइन हाल्न सक्यो भने कांग्रेसले कम्युनिष्ट पछार्न सक्ला अन्यथा फेरि पनि कांग्रेस कम्युनिष्टबाट पाहा पछारिएझैं पछारिने निरन्तरता रोकिने छैन। 
राष्ट्रभन्दा व्यक्ति, पार्टी र सत्ता ठूलो हो र? 
१ सय ४ वर्ष एकतन्त्र भोगेका नेपालीले राजतन्त्र, गणतन्त्र देखे। जनयुद्ध भोगे, संविधानसभामा मतदान गरे, संविधान जारी भयो, हातलाग्यो शून्य। यो शून्यताको भय, त्रास, पीडा घट्नुको बदला दिनदिनै बढिरहेकै छ। जनप्रतिनिधि हुँ भन्नेहरुले नेपालको आन्तरिक मामिलालाई विदेशीकरण गरिसकेका छन्। विदेशीले पुनर्निर्माण, सहयोग, विकास, सशक्तिकरण, चेतना अभिवृद्धि अनेक मानवीय नाममा देशका अन्तरकुन्तरसम्म पुगेर समानान्तर सरकार चलाइरहेका छन् र नेपाललाई झन झन भ्रष्टाचारमय बनाइरहेका छन्। नेपालको दुःख, पीडा, गरिबी विदेशीका लागि डलर कमाउने राम्रो कारण बन्नपुगेको छ। ती विदेशीलाई अवसर दिने र विदेशीबाट केही झरल परल खानेहरु नेपाली नेता, नेपालको प्रशासन, नेपालका समाजसेवा, नेपालका अधिकारकर्मी, नेपालमा विद्वतबर्ग। यी सबै राष्ट्रवादीरे? 
असोज मसान्तमा ब्रिक्स, बिमेस्टिकको वैठक भारतले गोवामा सम्पन्न गर्‍यो। यी दुबै बैठकको एउटै उद्देश्य छ, दक्षिण एसियामा पाकिस्तानलाई एक्ल्याउने र बाँकी मुलुकहरुमा भारतीय हैकमवाद स्थापित गर्ने। पाकिस्तानसँग सीमा बिबाद गरेर भारतले सार्क सम्मेलनलाई असफल पारिदिएको छ। अव कहिल्यै सार्क सम्मेलन नहुन पनि सक्छ। सुरुदेखि नै भारत नेपालको शान्ति क्षेत्रको प्रस्ताव र सार्कको बिरोधी रहदै आएको हो। त्यो विरोधलाई भारतले असोज ३० गतेबाट सार्कको काम छैन भनेर कूटनीतिक जोल्ट दियो। सार्कको सचिवालय नेपालमा छ र प्रमले नेपाललाई अन्तर्राष्ट्रिय मामिलामा एकै विचारमा चल्ने पिछलग्गु बनाएर असंलग्न नेपाललाई भारत संलग्न र नेपाल भारतीय छातामुनी पुग्यो भन्ने प्रतिक्रियालाई पुष्टि गरिदिएका छन्। 
नवसम्भ्रान्त, नवसामन्त केही व्यक्तिहरु सधैंको कस्तो खिच खिच, बरु नेपाललाई भारतमै मिसाइदिए हुन्छ भन्न थालेका छन्। लोकतान्त्रिक गणतन्त्र यसैका लागि खोजेका हौं त? केही वर्ष अघि बीबीसीले नेपाललाई भारतमा मिसाउँदा के हुन्छ? भनेर सर्भेक्षण चलाएको थियो। त्यतिबेला नेपाली राष्ट्रवाद जुरुक्कै उठेर प्रतिवाद गर्दा बीबीसीले सर्भेक्षण रोक्यो। त्यसपछि भारतीय दूतावासमा राजदूत जयन्त प्रसादले नाङ्ले पत्रिका, स्वनामधन्य कूटनीतिक ज्ञाता, केही नेता र ओपिनियन क्रियटरहरुलाई निम्त्याएर सिक्किममा आधामूल्यमा खाद्यान्न उपलव्ध छ, सिक्किमेलीहरु एक लाखमा नानो कार चढ्छन्, सडक, बाटो, बत्ती, रोजगारीको व्यापक प्रवन्ध मिलाएको छ भारतले भनेर मानसिकता परिवर्तन गर्ने मन्त्रदान गरेका थिए, निम्तालु नेपालीहरु मुख मिठ्याएर त्यो जयवाणी मजाले सुनेर फर्किए। त्यसको कुनै सार्वजनिक प्रतिक्रिया सुन्न पाइएन। आज पनि त्यो क्रम उपक्रम राजदूत रंजितरेले चलाइरहेकै छन्।
खुला सीमा राखेर र नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक विकासमा सोझै बजेट निकासा गर्ने छुट नेपालका पार्टीहरुको समर्थनमा सूर्यबहादुर थापाको सरकार भएका बेलामा भारतलाई दिएको हो। विश्वका कुनै मुलुकमा पराई राष्ट्रले स्वदेशमा सिधै बजेट बितरण गर्नसक्छ? एकातिर मधेस टुक्य्राउने उच्चाटन, अर्कोतिर दलाई लामा नेपालबाट तिब्बत स्वतन्त्र गराउन भित्रभित्रै संगठन गरिरहेका छन्, हतियार थुपारिरहेका छन्, तालिम दिइरहेका छन्। 

भारो अमेरिकीधुरी चीन केन्द्रित अभेद्य कूटनीतिक चक्रव्यूह निर्माण गरिरहेकै छ। १९५० को सन्धि पुनरावलोकन गर्न २ वर्षे प्रवुद्ध समूहको भुलभुलैयामा भुलाएको भारतको रणनीति नबुझ्ने संसद, सरकार, स्वाधीनताको भाषण गर्ने नेताहरुलाई बिदेशी हस्तक्षेप, चलखेल कतै पनि बिझाएको छैन। हामी बुद्धका देशका बुद्धु नभए के हौं? लोकतान्त्रिक गणतन्त्र भनेर हामीले खोजेको नैतिकहीन नेतृत्व, प्वाल परेको पद्धति र किरा परेको कूशासन नै हो त?
हो, दुःख छ, दुःख बेसाउनु पर्दैन किनकि दुःख दिनेहरु हाम्रै शासक, प्रशासकहरु हुन्। तथापि नेपाल स्वतन्त्र छ, स्वतन्त्र रहन्छ किनकि नेपाली जनजनभित्र राष्ट्रियता कुट कुट भरिएको छ। फरक यत्ति छ, आमनागरिक सहनशील छन्। जब जव नागरिक उठ्छन्, तव तव परिवर्तन भएको छ। किनकि कानुन छ न्याय छैन। 

व्यवस्थापिक छ व्यवस्था छैन। कार्यपालिका छ कामै गर्दैन। त्यसकारण राष्ट्रियताको रक्षा, सुरक्षाका लागि एकपटक नागरिक उठ्ने बेला भएको आहट सुन्न सकिन्छ। धर्ममा बिबाद छ, संघीयतामा बिबाद छ, कूटनीतिदेखि शासन व्यवस्थ्ाामा विवाद छ। यी सबै विवादको निर्णायक नेता होइनन्, जनता हुन्। अन्तिम निर्णय जनतालाई दिनैपर्छ, यही विकल्पलाई प्रस्थान विन्दु मानेर अघि बढ्न बाहेक अर्को बाटो छैन। यही बाटोबाट सुसुप्त राष्ट्रियता जागृत पनि हुनेछ। राष्ट्रियता जगाउन सकिएन भने देशको भविष्य अन्धकार भएर जाने निश्चित छ। राजनीतिक नेतृत्वतहले बुद्धि पुर्‍याउनु पर्ने र जनताको आकांक्षा, जनादेश लिएर अघि बढ्नुपर्ने बास्तविक समय भनेको यही हो, अहिले गल्ती गर्नु दुर्भाग्य हुनेछ।