Advertisement Banner
Advertisement Banner

२२ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

राष्ट्रको उत्थानको लागि कल्की अवतारको आशा नारायणप्रसाद मिश्र

२२ मंगलबार , बैशाख २०८३६ घण्टा अगाडि

राष्ट्रको उत्थानको लागि कल्की अवतारको आशा
नारायणप्रसाद मिश्र

मनुष्यको लागि सबभन्दा महत्वपूर्ण र आबश्यक कुरा हो– शान्ति । जुन ठाउँमा शान्ति हुँदैन त्यो ठाउँ बस्न लायक हुँदैन । भला त्यो टोल, गाउँ, शहर, मुलुक होस् बा समाज या परिवार । मनुष्य बस्ने ठाउँमा मुख्यतः शान्ति पाउने बातावरण हुनुपर्दछ । शान्तिको लागि धेरै कुराको आवश्यक पर्ने कुरा हामी सबैलाई थाहा छ । गाँस, बास र कपास नहुनेको लागि सोही कुराको अभावले शान्ति हुँदैन । शिक्षा र औषधोपचार नपाउनेको लागि सोही कुराको कमीले अशान्ति हुन्छ । राम्रो शिक्षा दीक्षा र योग्यता प्राप्त गरेर पनि काम, रोजगार नपाउनेलाई सोही कुराले दुःख दिन्छ । यस्ता थरीथरीका दुःख र अशान्तिका कुराहरू कति छन्, कति । 
हाम्रो जस्तो अविकसित मुलुकमा जन्मेका बहुसंख्यक जनताको जीवनमा जन्मेदेखि मरणसम्म भोग्न पर्ने यी समस्याहरू हुन् । हामी मध्य धेरैले यस्ता समस्याहरूलाई जीवनको अभिन्न अङ्ग अर्थात जीवन पद्धतिकै रूपमा लिइसकेका छौं । यसैले यी कुराहरू राम्रै बेहोर्ने र सहने हाम्रो बानी परिसकेकोले  यी कुराहरू हाम्रो अशान्तिका कारण उतिको परेको देखिन्दैन । यसैले हामी यस्ता असिमित समस्याको बिच पनि शान्तिमै बाचेका छौं । यस स्थितिमा पनि हाँसीखुशी वसेका हाम्रो हसिलो अनुहार देखी बिदेशीहरूले हामीलाई सुखी र शान्तिप्रिय जातिको रूपमा चित्रण गरेको देखिन्छ । हुनत हामी साँचिकै सहनशील र शान्तिप्रिय प्राणी नै हौं ।
कुरा यस्तो भएपनि धनी वा गरीब, शिक्षित बा आशिक्षित जुनसुकै प्रकारको मानवजातीले कुनै पनि समाजमा कमसेकम समानता, न्याय, विधि र कानूनी शासनको आशा र आकांक्षा राख्दछ । कुनैपनि मुलुकमा शान्तिसँग रहन कुनैपनि ब्यक्ति वा समूहको लागि यो नभई नहुने अनिवार्य तत्व हो । जहाँ यो कुरा हुँदैन, त्यो मुलुकमा मान्छे शान्तिसँग रहेका होलान् भन्ने कल्पना पनि गर्न सकिन्दैन । अन्याय, अत्याचार, भेदभाव, हेला, घृणा कुनै पनि मानव हृदयलाई सह्य हुँदैन । संविधान र कानूनमा जुनसुकै कुरा लेखिए पनि, जतिसुकै अनगिन्ति नागरिक अधिकार र नागरिक अधिकारका कुरा लेखिएता पनि व्यवहारमा यी कुराहरूमा अति कमजोर अवस्थामा हाम्रो मुलुक रहेको देखिन्छ । हाम्रो मुलुकमा ब्यवहारमा समानता र न्याय हातीको देखाउने र चपाउने दाँत फरक भने जस्तै छ । ऐन, कानूनमा यथेष्ट कुराहरू छन् तर भोग गर्न र अनुभव गर्न साधारणतः पाइन्दैन । कुनै पनि हाम्रो सरकारी कार्यालयहरूमा कामका लागि आएका मानिसहरूको काम कसरी शिघ्र सम्पन्न गरी छिटो छरितो सेवा दिने होइन, बरू के कुन अत्तो थापी विघ्न वाधा तेस्र्याई झमेला सृजना गरी काममा आएका ग्राहकीबाट कामहेरी धेरै थोरै रकम असुल्ने प्रवृत्ति रहेको सर्व विदित छ । अर्थात मनोबृति र अभिप्राय नै काम कुन तरिकाले कसरी छिटो गरिदिने होइन, कुन अर्घेलो अघि सारी काम नगर्ने किसिमको अभिप्राय सर्वत्र ब्यापक छ । यो कुरा हाम्रो मुलुकमा संस्कार र संस्कृति जस्तै भइसकेको छ । 
यसको ज्वलन्त प्रमाण नागरिकता लिन राज्यसँग लडॉई गरी, बर्षौ बर्षौ सम्म मुद्दा मामिला झेली, अदालतको फैसला बमोजिम मुंद्दा जिती पनि कानून नियम बमोजिम पाउनुपर्ने नागरिकता वडा कार्यालय र अन्य सम्बन्धित निकायहरूको जालझेल, ढीलासुस्ती र उल्झनको कारण पाउन नसकेको पीडा खप्न नसकी बाबु र छोरीले ज्यान फालेको कुरा, प्राण छोडेको कुराको समाचार केही महिना अघि  अगाडि आएको मेरो सम्झनामा छ । सुन्दैमा अति पिडादायी, दुःखदायी, ह्ृदयबिदारक, मनछुने, दिल पोल्ने,  बिश्ब समझ हाम्रो मुलुककै लाजमर्दो बेथिति र कुशासनको यो  डरलाग्दो चित्र हो । यसले समानता, न्याय र सुशासनको ठीक उल्टो मुलुकमा हाल विद्यमान कुशासन, वेथिति, भ्रष्टाचार, पहुँचवालाको राज, निसहायको दुःखपीडा, धनवालाको वल र शक्ति, राजनैतिक समूह र हुल्याहा जमातको मुलुकमा प्रभाव र हातमा शासनका मुलुकमा लुकिबसेका अनगिन्ति कथा, कहानीहरू उजागर गरेको छ । बिभिन्न कामकाजको सम्बन्धमा बिभिन्न अड्डा, कार्यालयहरू – नगरपालिकाको वडा, मालपोत, नापी, भूमिसुधार, जिल्ला प्रशासन, यातायात, ढलपानी, प्रहरी, विभाग, मन्त्रालय  आदि आदि मैले, मेरा आफन्तले, मेरा दायाबायाँका छिमेकीहरूले, साथीभाइले, कार्यालयमा सँगै काम गर्ने कर्मचारीहरूले गत केही दशक यता भोगेका, देखेका, सुनेका यस्तै असहय कुराहरू मेरो मष्तिष्कमा गहिरो जरा हाली बसेका छ्न् । यसैले  असह्यताले प्राण छोड्ने बावु छोरीको पीडाको  त्रासदायी चित्र मेरो मनमा छिन छिनमा आउँछ । म तर्सिन्छु ।
भुक्तभोगीहरूलाई राम्रै थाहा छ– हाम्रो मुलुकमा शासन प्रशासनको शक्ति प्राप्त ब्यक्ति, समुह वा दलसित पहुँच भएका र हुल्याहा जमातको बल र शक्तिसँग पहुँच रहेका जनताले बाहेक अरूले न्याय पाउने कुरा एक किसिमले असम्भव जस्तै भएको छ । कसैले न्याय पाउनु पर्ने काम कुरा,  कुन कार्यालयको कुन साना बा ठूला कर्मचारी वा हाकिमले कुन कुराको अत्तो थापी कहाँ, कसरी कुन कुरामा अल्झाई दिन्छन्, थाहा हुँदैन । निसहायको लागि सहने वा मर्ने बाहेक अरू उपाय हुँदैन ।
देशको शासन प्रशासनको परिस्थिति यस्तो भएपनि भोलि नभनी गर्न पर्ने यस्तो स्थिति सुधार गर्ने काममा कुनै पनि दलको सरकारको ध्यान नगएको मात्र होइन सोच्ने सम्म समय नभएको मैले महसूस गरेको छु । गत तीन दशक देखि मुलुकमा रहेका जुनसुकै प्रमुख दलको सम्पूर्ण ध्यान नियमित, अनियमित जे गरेर पनि सरकारमा पुग्ने, मोजमज्जा गर्ने र सरकार वाहिर रहेका दलको काम जसरी हुन्छ सरकार गिराई त्यो ठाउँमा आफू पुग्ने बाहेक निसहाय जनताको मुलुकमा के स्थिति छ ? त्यसमा ध्यान सम्म दिएको देखिन्दैन । यसैकारण नागरिकताको प्रमाण पत्र पाउन नसकी आत्महत्या गरेका बर्दियाका बाबु छोरीकै स्थितिमा आत्महत्या गरी प्राण छोडनु पर्ने स्थितिमा मुलुकका झण्डै झण्डै ७५ लाख सहकारी पीडित जनता न्यायको माग गरी रोई कराई हिडेका छन् । न्यायको माग गर्दा गर्दै दर्जनौ पीडितहरूले रकमको अभावले खाना औषधोपचार नपाई प्राण त्याग गरिसकेका छन् । यस कामका लागि कहिले काही बिना कामका सानातिना अड्डा अफिस स्थापना गरी आसेपासेलाई काम दिने बाहेक हालसम्म यसबाट कुनै ठोस काम नभएको स्पष्ट छ । न लेखेर, न वोलेर यहाँ केही भयो ? यस स्थितिमा हालै मुलुकमा उदय भएको रास्वपाको वर्तमान सरकार मुलुकको हरेक समस्यामा ध्यान दिई समाधानको उपाय गर्न द्रूत गतिले अग्रसर भएको त महसूस हुन्छ । यसले हालै ल्याएको सहकारी सम्बन्धी अध्यादेशले सम्बन्धित सबैमा ठूलो आशा त जगाएको छ । तर कार्यान्वयनले परिणाम दिन्छ वा दिदैन ? भविष्यले बताउला ।
मुलुकमा   जताततै  रहेको लथालिङ्ग, भताभुङग, वेथिति र अव्यवस्था आदि नियालेर  बिचार गर्दा सानोतिनो प्रयासले यो मुलुक सही बाटोमा लाग्न सकने देखिन्दैन । मुलुकको समस्या समाधान गर्न र मुलुकमा सुशासन स्थापना गर्नको निमित बर्तमान सरकार इमान्दारिपूर्वक प्रभावकारी रूपमा अग्रसर भएको भएपनि मुलुकमा रहेका विरोधी हरूवा दलहरू जुनसुकै कुरामा पनि बिरोधै गरी बाधा, अड्चन पुरÞ्याउने प्रयासमै मात्र लागेका देखिन्छन् । मुलुकमा रहेका प्रमुख राजनैतिक दल र तिनका प्रमुख नेताहरूले जेन जी आन्दोलनको भयङ्कर ठूलो बिद्रोहवाट ज्ञान लिई आफू सुध्रिनुको सट्टा जेनजी आन्दोलनकै खिसीट्युरी गरिरहेका देखिन्छन् । यिनीहरूको रावण र कंश प्रवृत्ति र घमण्ड देख्दा नेपालमा कलियुग शतप्रतिशतले चरम सीमामा पुगेको भान हुन्छ । यस स्थितिमा यो मुलुक अझै ठूलो झगडा र कलहमा फसी  कुनै वेलाको हाम्रो सुन्दर, शान्त देश अझै कुन स्थितिमा जाने हो स्पष्ट छैन । अर्कोतिर बर्तमान सरकारको कमी कमजोरी, अल्प बुद्धि र अल्प अनुभवले गर्दा हाम्रो परराष्ट्र सम्बन्ध तल माथि पर्न गई कुनै मित्र राष्ट्रसँग हाम्रो ठेस् लाग्न गई यसले कुनै समस्या ल्याउने  हो कि ? भन्ने चिन्ता पनि मुलुकमा देखापरेको छ । यो गुनासो गर्ने पो कहाँ ? यस स्थितिमा पापी अत्याचारीको नाश गरी सत्ययुगको स्थापना गर्ने भगवान नारायणको दशौं अवतार कल्की भगवानको जन्म र उदयले बाहेक हाम्रो मुलुक उभो लाग्ने आशा कमै देखिन्छ । यसैले भगवान्को जन्म र उदयको लागि म प्रार्थना गर्दछु । भगवान्ले सबैलाई सद्बुद्धि देऊन् । यस देशका पापी, अत्याचारीको छिटो सर्वनाश होस्, म दिलैदेखि पुकार्छु । मुलुकका निसहाय जनता कोही पनि बर्दियाको बाबु छोरी जस्तै मर्न नपरोस, प्रार्थना गर्दछु ।

narayanshanti70@gmail.com