Advertisement Banner
Advertisement Banner

१५ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

भ्रष्ट नेतृत्वको परिणाम र नयाँ नेतृत्वको आश्वासन

१५ मंगलबार , बैशाख २०८३७ घण्टा अगाडि

भ्रष्ट नेतृत्वको परिणाम र नयाँ नेतृत्वको आश्वासन

राजनीति शास्त्रले राजनीति भन्ने शब्दलाई जुनसुके शब्द बाक्य प्रयोग गरी परिभाषा गरेपनि साधारण र सबैले बुझने किसिमले भनिदा राज्य, सरकार र शासन प्रणाली सम्बन्धी कामकाज, क्रियाकलापलाई राजनीतिभन्दा फरक  नपर्ला । कम शब्दमा भनिदा राज्यको शासन् प्रशाशन सम्बन्धी नीतिलाई राजनीति  पनि भन्न सकिन्छ । यसैले मुलुक, सरकार र राजनीतिलाई अलग्याउन मिल्दैन । मुलुक र राजनीति अभिन्न भई सदा टाँसिएर रहेका हुन्छन् । यसैले जहाँ राजनीति शुद्ध, पवित्र राम्रो हुन्छ, त्यहाँ जरूर पनि मुलुकको अवस्था राम्रो हुन्छ । जहाँ राजनीति खराव हुन्छ, त्यहाँ मुलुकको अवस्था पनि खराव हुन्छ । तर राम्रो राजनीति राजनीतिज्ञहरूको इमान्दारिता, कर्तब्यपरायणता, निष्ठा, देशप्रेम, निस्वार्थ, सेवाभाव, सक्रियता, ज्ञान र अनुभवमा भरपर्छ । जहाँ राजनीतिज्ञ र तिनका पिछलग्गुहरु बेइमान्, स्वार्थी, नैतिकहिन, जनतामारा, देशद्रोही हुन्छन्, त्यहाँ बेइमानी, छलकपट, झूट, धोकेबाजीको नामनै राजनीति हुन जान्छ ।
प्रजातन्त्र र गणतन्त्रको दुई शब्दको भूमरीमा मुलुक र जनतालाई अलमल्याई दलतन्त्र, नेतातन्त्र, आफू र आफन्ततन्त्र, अनि मनपरीतन्त्र चलाई देश लुट्ने हाम्रा राजनीतिज्ञहरुले बेइमानी र बदमासीको नामनै राजनीति भन्ने अर्थ मुलुकमा स्थापन गरिसकेकोले हाम्रो देशको अवस्था राम्रो छैन । नीति नियम तर्जुमा देखि अड्डा अफिस सञ्चालन सम्म सबैतिर भताभुङ्ग पारेको स्थिति छ । पद र शक्तिमा रहेका राजनीतिज्ञहरूसँगकै सम्बन्ध, सम्पर्क र घनिष्टताले देशमा रहेका हुल्याहा, चोर, डाका, लुटाहा अपहरणकर्ताहरूले पनि पुलिस भन्दा वलिया भई देशमा हैकम चलाइरहेका छन् । यी राजनीतिज्ञहरुसँगैको मित्रता र घनिष्टताले इमान नभएका ब्यापारी, उद्योगपतिहरुले पनि देश र जनतालाई लुटिरहेका छन् । यी राजनीतिज्ञहरुकै आशिर्वादले यिनका पिछलग्गुहरु र सरकारी उच्च पदाधिकारीहरूले विना डरभर नक्कली भुटानी शरणार्थी काण्ड जस्तो थरी थरीका दर्जनौं भ्रष्टाचार काण्डहरू मुलुकमा घटाएका छन् ।
यिनीहरूकै शक्तिको रापताप पाई अड्डा अफिसमा सानादेखि माथिल्लो तहसम्मका राष्ट्रसेवकहरुले मालपोत, नापी, यातायात, वडा कार्यालय सबतिर घुसबिना काम नहुने स्थिति बनाइराखेका छन् । यिनीहरूकै मिलोमतो र मित्रताले सहकारी सञ्चालकहरुले बिभिन्न जालझेल बुनी जनता ठगेका छन् । यिनीहरुकै स्वार्थी नीति नियमले गर्दा मुलुकमा शिक्षा र स्वास्थ्य सेवा समेत ब्यापार, उद्योगधन्दा जस्तो नाफा मुलक हुन गई जनता मारमा परेका छन् । यिनीहरुकै फोहरी खेलले गर्दा शैक्षिक संस्था, अस्पताल, बैङ्क, अनुसन्धान केन्द, कलकारखाना सवतिर राजनीति घुसेका छन् । यिनीहरुकै गलत सोचाइ र समर्थनले गर्दा बिदेशी धर्म प्रचारकहरुको रकम, पैसाको शक्तिको दवाव र प्रभाबले हाम्रो धर्म, संस्कार, संस्कृति, इतिहास मेटाउन खोजिरहेका छन् । यस्ता कुराहरु अनगिन्ति छन् । लेखेर, बोलेर साध्य छैन । यसरी हाम्रो मुलुकको समस्या केलाइ हेर्दा यसको समस्या समाधान गर्न कम गाह्रो देखिन्दैन । जस्तोसुकै बुद्धिमान, सामथ्र्यवान, बलवानवाट पनि समाधान गर्न नसकिने समस्या भन्नलाई “इन्द्रको बावु गजेन्द्र आएपनि हुँदैन’ भन्ने एउटा नेपाली भनाइ छ । हो  ! यहाँको स्थिति यस्तै बनाएको छ ।
बल्लबल्ल दशकौंको अनुभववाट आफनो दुःख, पीडा, शोषण दमन्, अन्याय अत्याचार यहाँका जनतालाई बोध हुन गएको, यसको निराकरणको लागि जनता अग्रसर भएको अर्थात जनता सचेत र जागरुक हुन गएको कारण अकल्पित किसिमले ती ठग दल र नेताहरूलाई यसपालीको आमचुनावमा  जनताले शक्तिको सिंहासनबाट तल झारिदिए । यसैको परिणाम स्वरूप मुलुकको बेथिति हटाई, सुब्यवस्था बसाली देश  र जनताको सर्वोक्तम हितको लागि मुलुकलाई द्रूतगतिले बिकास पथमा लम्काउने कठिन तर महान जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको बालेन्द्र शाह सरकारको काँध माथि परेको छ । यो सरकार इन्द्रको बाबु गजेन्द्र मात्र होइन, महा गजेन्द्र भई अग्रसर भइरहेको पनि आभास हुन्छ ।
पद र शक्ति गुमाई तिलमिलाएका दल र यिनका पिछलग्गुहरुले आफूले दशकौंसम्म प्रजातन्त्रको नाममा दलतन्त्र र नेतातन्त्र चलाएकोमा पछुताई सुघ्रिनुको सट्टा अझै बर्तमान सरकारको सही कामलाई पनि गलत सावित गरी बाधा पुर¥याउन लागिपरेको भान हुन्छ । शैक्षिक संस्थालाई दलजस्तो थरी थरीका बिद्यार्थी संघ सगठनमा प्राध्यापक संघ, संगठनबाट अलग राखी शैक्षिक बातावरण कायम गर्ने कुरा मुलुक र जनताको हित हुने कुरा निर्विवाद छ । त्यस्तै अड्डा अफिसलाई दुषित राजनैतिक कर्मचारी संघ सगठनबाट अलग राख्नु उतिकै हितकर छ । नेता र दलको मुखपत्र हुने अखबार, पत्रपत्रिका, वा प्रचार प्रसार गर्ने संस्थालाई विज्ञापन दिने नाममा सरकारी रकम अनाहक खर्च नगरी सरकारी सञ्चार माध्यमवाट सरकारी सूचना प्रवाह गर्नु जनहितको लागि उतिकै फायदाजनक र सुविधाजनक छ । त्यस्तै कानून आफनो हातमा लिई नदी किनारको जग्गा कब्जा र वसोबास गरी बागमती सभ्यता बिनाश, नदी प्रदूषण, शहरी बातावरण बिनाश मात्र होइन, आफ्नै जीउधन् वाढीको खतरामा राख्ने केही सुकुम्बासी तर धेरै हुकुमबासीलाई नदी किनारबाट हटाई वागमती सभ्यता कायम गर्नु कुनैपनि हालतमा गलत काम होइन । जनहित र देशहित चाहने कसैले विरोध गर्न पर्ने यो बिषयनै जरूर होइन । तर अझै प्रजातन्त्र, मानवअधिकार, नागरिक अधिकार, संघ संगठन खोल्ने र सुकुमबासी अधिकारको गलत ब्याख्या गरी ती दल र नेताका अनुयायीहरू यी सवै राम्रा नीति र कामकुराको विरोधमा उत्रिरहेकाछन् । कुनै पनि संघ, संगठन सीमित संख्या र समूहको लागि भन्दा देश र बहुसंख्यक जनताको हितमा हुनपर्ने कुरा बिर्सी प्रजातान्त्रिक हक अधिकारको कुरा गरी अझै जनतालाई मूर्ख बनाउन खोजिरहेकाछन् ।
देशको बिकास र जनताको कल्याण चाहने हो भने कुनै पनि दल र दलका कार्यकर्ताहरूले अन्तस्करणलाई साक्षी राखी जुनसुकै दल सरकारमा रहेपनि ठीकलाई ठीक, बेठिकलाई बेठिक; सहीलाई सही, असहीलाई असही भन्ने संस्कारको बिकास गर्नै पर्दछ । अन्यथा यो देश कहिल्यै ठीक वाटोमा लाग्न सक्तैन । गलत नेता र राजनीतिज्ञहरूको अन्धा भक्तभई तिनीहरूकै नोकर, चाकर, दास हुने संस्कार नेपाली जनताले नछोडेसम्म देश उभो लाग्न सक्तैन ।
     narayanshanti70@gmail.com
लेखक परिचयः एक वरिष्ठ  नागरिक, त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयका निवृत पदाधिकारी, पूर्व प्रमुख, नेपाली र अंग्रेजी  भाषामा लेखिएका केही पुस्तक र असंख्य निस्पक्ष लेखहरुका लेखक ।