Advertisement Banner
Advertisement Banner

१४ सोमबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

Image

विदेश पुगेको सत्ता सिंहदरवार फर्केकै हो त ?

राजन कार्की

१३ आइतबार , बैशाख २०८३२१ घण्टा अगाडि

विदेश पुगेको सत्ता सिंहदरवार फर्केकै हो त ?

प्रधानमन्त्री बालेन साहले सातै प्रदेशका प्रमुखहरूसँग संवाद गरिसकेका छन् । सबै दलका सांसद, समानुपातिक सांसदहरूसँग पनि छलफल भइसकेको छ । विदेशी कूटनीतिज्ञहरूसँग पनि सामुहिक छलफल गरेर कुरा सुनेको र सरकारका प्राथमिकता जानकारी गराइसकेका छन् । अर्थात् प्रधानमन्त्री बालेन साहले देश बुझे, जेनजी पुस्ताबाट त उनी आफै आएका र जेनजी आन्दोलन आफैले देखेकाले अब उनले तत्काल गर्नुपर्ने काम, शासकीय सुधारका कामलाई तीब्र गतिमा बढाउनु पर्नेछ ।
बालेन सरकारले तकाल गर्नुपर्ने केही कामहरू छन्, प्राथमिकता दिनुपर्छ । 

पहिलो सुशासन र भ्रष्टाचार नियन्त्रण-
मुहान स्वच्छ भयो भने चुहान स्वच्छ हुनेछ । प्रधानमन्त्री स्वच्छ र नैतिकवान भइदिएपछि प्रशासन स्वतः स्वच्छ र नैतिकवान हुनेछ । 
भ्रष्टाचार विरोधी महाअभियानः 
भ्रष्टाचार विरोधी अभियानका लागि छानबिन समिति बनाइसकेका छन् । प्रतिषोध नदेखिने गरी दल–केन्द्रित दोहन, लाइसेन्स राज र बिचौलियाको प्रभुत्व अन्त्य गर्न बालेन सरकारले कडा कदम चाल्नैपर्नेछ । नबोली नबोली कामबाट बोल्ने बालेनको शैली यतिबेला विश्वभरि नै चर्चाको विषय बनेको छ । बालेनको सफलतामा जेनजी पुस्ताको सफलता पनि निहित रहेको देखिन्छ ।
डिजिटल सेवा विस्तारः
नागरिकता, पासपोर्ट, लाइसेन्सजस्ता सेवाग्राहीले तत्काल खोजेका सेवामा सुधार आउन थालिसकेको छ । सिंहदरावरदेखि पालिका तहसम्म सरकारी सेवाहरूलाई सर्वसाधारणले सहजै प्रयोग गर्नसक्ने गरी डिजिटलाइजेशन अनिवार्य गर्नु बालेन सरकारको चुनौती हो । यसले पारदर्शिता र दक्षता बढाउँछ । राज्य जनपयोगी छ, सरकार मेरो भन्ने भावना बढाउँछ ।
आर्थिक पुनरूत्थानः
रोजगारी सिर्जना र उत्पादन नबढाएसम्म निर्यात हुनसक्दैछ । परजीवीपन हटाउन सके आर्थिक पुनरूत्थान हुनेछ । हिमाल, पहाडको उत्पादन तराई, सहरसम्म पु¥याउने संरचना निर्माणमा ध्यान दिनु जरूरी छ ।
रोजगारी सिर्जनाः 
हुन त सरकार प्राविधिकहरू खटाएर बन्द रहेका उद्योगधन्दा खोल्ने र विदेशी लगानी भित्र्याएर उत्पादन र रोजगारी बृद्धि गर्ने काम थालिसकेको छ । न्यून प्रतिव्यक्ति आय र युवाहरूको बेरोजगारीलाई सम्बोधन गर्न उद्योग, कृषि र पर्यटनमा लगानी बढाउनु, भित्र्याउनु छ । रोजगारी सिर्जना महत्वपूर्ण हो ।
बजेट प्राथमिकताः प्रदेश  भार भयो भन्ने जनधारणा छ । प्रभावहीन छ भने संविधान संशोधन गरेर पालिकाहरूलाई शक्तिशाली बनाएर प्रदेशमा खर्च हुने खर्वौं रकम पालिका मार्फत लगाउन सके वाहवाही हुनेछ । 
गुणस्तरीय स्वास्थ्य सेवाः महँगो र कमजोर स्वास्थ्य प्रणालीलाई सुधार गर्दै सर्वसाधारणलाई सस्तो र गुणस्तरीय उपचार उपलब्ध गराउन जरूरी छ । कतै अभाव, कतै फालाफाल, हिमाल पहाडमा सिटामोलसम्म नपुग्ने स्थितिमा सुधार गर्नु सरकारको कर्तव्य हो ।
निशुल्क शिक्षाः
सकभर माष्टर तहसम्म निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्छ । शिक्षामा राजनीतिकरण रोकेर प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिँदा रोजगारी र उत्पादनशीलता बढ्ने देखिन्छ ।
राष्ट्रिय सहमति निर्माणः सबै दलहरूसँग सहमतीय राजनीतिको सुरूआत भएको सन्देश बालेन सरकारले दिइसकेको छ । सत्ता र विपक्षी दलहरूको नीति समेटिएको साझा दस्तावेज तयार पारिएको छ । यसलाई कार्यान्वयन गर्दै राजनीतिक स्थिरता र दीर्घकालीन विकास सुनिश्चित गर्नुपर्नेछ । बालेन सरकारका लागि धेरै सकारात्मक अवसर छ । गल्ती गर्ने छुट छैन ।
राजनीतिक प्रतिरोधः 
विपक्षी दल वा पुरानो संरचनाबाट सुधारमा अवरोध हुनसक्छ । तर विपक्षीहरूमा जनादेशका सामु ह्वात्तै बिरोध गर्ने नैतिक साहस देखिदैन ।
बालेन सरकारबाट जनताले तत्काल देख्ने परिवर्तन चाहिरहेका छन् । भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, स्वास्थ्य–शिक्षा सुधार र साझा राष्ट्रिय प्रतिवद्धताको कार्यान्वयन नै उनको नेतृत्वको विश्वसनीयता र दीर्घकालीन सफलताको आधार हो भन्नेमा शंका छैन । यसैका लागि जनताले विश्वास गरे, रवि लामिछाने र बालेन साहको रास्वपा जोडीले चुनावमा लहर ल्याए । जनताले राजनीतिक परिवर्तन दिए । परिवर्तन दिने जनताले खोजेजस्तो परिवर्तन पाउलान् कि हात लाग्यो शून्य होला ?
०४६ र ०६३ को परिवर्तनमा पनि जनताले राजनीतिक परिवर्तन दिएका थिए, जनताले खोजेजस्तो परिवर्तन पाएनन् । रास्वपाको उदय भएको छ, यो नेतृत्व परिवर्तन हो, जेनजी पुस्तामा नेतृत्व पुगेको हो । यो परिवर्तित नेतृत्वले शासनमा असफलता, भ्रष्टाचार र संस्थागत जडताबाट प्रताडित जनताले आफ्ना आशा र अपेक्षाको पूर्ति हुने चाहना राखेका छन् । जनचाहनामा ठेस लाग्यो भने जनताको भरोसा टुट्नेछ ।
रास्वपा सत्तामा पुगेको छ, सक्षम शासन देखाउनु छ । यतिबेला नेपालीले विचार खोजेका छैनन्, शासन प्रशासनमा परिवर्तन चाहेका छन् । जनताले अपनत्व लिनसक्ने परिवर्तन खोजेका छन् ।
बालेन प्रधानमन्त्री बनेपछि सय दिनदेखि नै परिवर्तन दिने देखाउने गरी काम गरिरहेको देखिन्छ । शासनमा सुधार, सेवाग्राहीले सुलभ सेवा, भ्रष्टाचारको अन्त गर्नेगरी बालेन सरकार अघि बढेको छ । नेपाल फस्ट नीति घोषणा गरेको बालेन सरकारले ५ वर्षपछिको नेपालको चित्र देखाउने भनेको छ । अब देखिनुपर्छ विदेशबाट फर्किएका युवाको सीप, साधन, स्रोतमा आत्मनिर्भरताका उद्यमहरू, समानता र सक्षमताको कदर, नेपोटिजमको अन्त, दण्ड र पुरस्कारको स्थापित मान्यता, डिजिटल शासन, पूर्वाधार र अन्य निर्माणका अध्यायहरू, खासगरी गुमेको वैदेशिक विश्वासको पुनस्र्थापना र राष्ट्रियताप्रतिको गहिरो आत्मविश्वास । भ्रष्टाचारको अन्त भयो भने त्यही विन्दुबाट सुशासनको जग र जरा देखिनेछ, समृद्धिको घाम झुल्किनेछ । परिवर्तन भयो भन्न सकिनेछ ।
निर्वाचनमा परिवर्तन चाहिएको थियो, जनताको मौन बिद्रोहले परिणाम दिएको छ । कुनै पनि नेता वा पार्टीले विश्वास नै नगरेको आँधी आयो, रास्वपाले स्थिर सरकार दिने जनादेश पायो । अब पालो रास्वपाको हो, जसले जनताको जनादेशको अन्तर्निहित मर्म बुझ्नुपर्छ, जनआकांक्षाको परिपूर्ति गर्न कम्मर कसेर लाग्नुपर्छ । समय कम छ, असक्षमता देखियो भने जनताको मन फेरि निराश हुनसक्छ । जनतालाई हौस्याउने काम बालेन सरकारले गर्नैपर्छ ।
डेलिभरि पहिलो सर्त हो बालेन सरकारका लागि । दक्ष सार्वजनिक सेवा, पारदर्शी प्रशासन, भरपर्दो पूर्वाधार, र गाउँ, नगरपालिकाहरूमा आर्थिक अवसर जनताका चाहना हुन् । संक्षेपमा भन्नुपर्दा, देशभित्रै गरिखाने वातावरण जनताका माग हुन् । यसैका लागि जेनजी विद्रोह भयो, पुरानो सत्ताले नोज डाइभ ग¥यो, जेनजीको शासनको सुरूआत भयो । राजनीतिक परिवर्तनको नयाँ अध्याय सुरू भएको छ । यो अध्यायको मूल्याङ्कन आगामी सयदिनबाट नै सुरू हुनेछ । अहिले विपक्षीहरू पनि बालेन सरकार र रास्वपाले कहाँ कहाँ गल्ती गर्नेछ भनेर हेरिरहेका छन् । आलोचना हुने निर्णयहरूमा जब्बर भएर बालेन सरकार चल्नुपर्नेछ ।
कहिले बहुदल भनेर, कहिले लोकतन्त्र गणतन्त्र भनेर तीन ठूला दल र तिनको वरिपरि घुम्ने साना दलहरूले समेत देश र जनतालाई लुट्नुसम्म लुटेका छन् । ३७ वर्षदेखि तीन प्रमुख दल नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी (हाल नेकपा) आलोपालो, गठबन्धन गरेर सरकार चलाइआएका थिए । फागुन २१ को चुनावमा यो बिरासतको अन्त भएको छ । पञ्चायत थियो, त्यसलाई २०४६ सालमा मिल्काउन यी तिनै दलहरूले भूमिका खेलेका थिए । त्यसपछि भ्रष्टाचार र अनैतिकताका कारण दलीय कालरात्रि सावित हुनपुग्यो । २०६३ सालमा पनि राजनीतिक दलहरूले नै राजतन्त्र किनारा लगाउन भूमिका खेले, लोकतान्त्रिक गणतन्त्र ल्याए । तर यो अवधिमा पनि भ्रष्टाचार, कुशासन, नेपोटिजम र अनैतिकताको निरन्तरता रोकिएन । जनता साह्रै निराश हुनपुगे । विदेशी विश्वास सकियो, विदेशीले फ्रडहरूको देश भनेर खुलेआम भन्न थाले । बिगत १७ वर्षको लोकतान्त्रिक गणतन्त्रमा झन बढी कुशासन हुनपुग्यो, भ्रष्टाचार र नीतिहीनताले सीमा नाघ्यो । पार्टीहरूका सिद्धान्त सकियो, नेताहरूले नैतिक चरित्र गुमाए । फ्रडको कलंक भिरे ।
२०६५ साल जेठ १५ गते अवैध तरिकाले राजतन्त्र फालियो, २०७२ मा संविधान जारी गर्दा धार्मिक स्वतन्त्रताका ठाउँमा जालझेल गरेर जनताको सुझाल लत्याइयो, धर्मनिरपेक्षता शव्द लेखेर संविधान जारी गरियो । यो मुद्दा झन झन पेचिलो बन्दै गएको थियो । एकातिर दलीय अराजकता, अपराधिक राजनीति, अर्कोतिर राजनीतिक मुद्दाहरूलाई संवोधन गरिएन, जनतामा आक्रोश बढ्दै गएको थियो । जनतालाई दमन गरेरै शासन चलाउन पल्केका स्थापित दलहरूविरूद्ध गत भदौ २३ र २४ मा जेनजी आन्दोलन, विद्रोहको ज्वालामुखी फुट्यो । लोकतन्त्र र गणतन्त्र खरानी हुनपुग्यो, संविधान समाप्त भयो । त्यसपछि अन्तरिम सरकार बन्यो र चुनाव गरायो, चुनाव शान्तिपूर्ण भयो, तर परिणामले स्थापित दलहरूलाई बढा¥यो । राजनीतिक परिवर्तन आयो ।
रास्वपाको विजय र बालेन साहको उदय स्थापित दलहरूविरूद्धको मौन जनविद्रोह हो । परिवर्तनको खोज हो । राजनीतिक रूपमा नयाँ सिद्धान्त जनताले खोजेका होइनन्, जनमुखी शासन हुनुपर्छ भन्ने पक्षमा उभिएका हुन् । जम्माजम्मी १९ मिनेट भाषण गरेका बालेन साहले चुनाव जिते, रास्वपाले चुनाव जित्यो । सरकारमा गयो । सरकारमा पुगेपछि पनि प्रधानमन्त्री बालेन साह बोलेका छैनन् । बालेन भाषणमा होइन, काममा विश्वास गर्ने व्यक्तिका रूपमा देखिएका छन् ।
बालेन साह र रास्वपा सुधारका पक्षमा घण्टी बजाए, बजाइरहेका छन् । जनतालाई यो घण्टीको आवाज साह्रै मनमोहक लागेको छ । जनअपेक्षाअनुसार काम गर्न सके जनताको आकर्षण घट्ने छैन । काम गर्ने नीतिको स्थिरता, अनुशासित राजनीतिक नेतृत्व र संस्थागत सुदृढिकरण रास्वपा र बालेन साहको प्रमुख चुनौति हो ।
रास्वपाले जनताले खोजेका विषयहरू समावेश गरेर जनतासँग करार गरेका छन्, बाचापत्र सार्वजनिक गरेका छन् । सय दिन शासकीय सुधार गर्ने भनेका छन् । संविधान सुधार गर्न बहस सुरू भइसकेको छ । बन्द उद्योग खोल्ने, उत्पादनशील लगानी बढाउने, वैदेशिक लगानी आकर्षित गर्ने, संक्रमणकालीन न्याय सम्पादनदेखि सहकारी पीडित, मिटरव्याज पीडित, हिंसा, हत्या बलात्कार पीडितहरूलाई न्याय दिनु सर्वाधिक महत्वका विषय हुन् । यसकारण जनतामा प्रश्न उठेको छ, रास्वपाको घण्टीको लहरले परिवर्तन त ल्यायो, जनतालाई परिवर्तनको आत्मानुभूति गराउन सक्ला ?
जनता साह्रै निराश थिए्, बालेन सरकारले जनतामा आशा जगाउनु पर्नेछ । विश्वास दिलाउनु पर्नेछ । जनताले खोजेको परिवर्तन त्यही आशाको दियो बल्नु हो । दियो बाल्नु छ ।
यतिबेला स्थापित तीन दल नेपाली कांग्रेस, एमाले र नेकपा (माओवादी) म्याद नाघेको ओखतीजस्तो हालतमा पुगेका छन् । यी तिनै पार्टीभित्र नेतृत्व पुस्तान्तरणको मुद्दा बहसमा छन् । पुस्तान्तरण नहुँदा ती पार्टीका कार्यकर्ताले समेत आफ्ना पार्टी र नेताका अगाडि साखुल्ले पल्टिए, निर्वाचनका दिन घण्टीमा मत हाले, मत दिन उक्साएका अनेक घटना छन् । यो कुरा ती पार्टीले बुझेनन् र नेतृत्व परिवर्तन गर्दै नैतिक र सैद्धान्तिक रूपमा संगठन बिस्तारमा ध्यान दिन सकेनन् भने ८ दशकसम्म पुराना दलहरू ५ वर्षपछिको चुनावमा पनि पुछारतिरै देखिने छन् ।
आर्थिक क्षेत्र सुधारका लागि रास्वपाले नियामक सुधारमार्फत वृद्धि तीव्र पार्ने, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि, प्रति व्यक्ति आय ४३ हजार भन्दा माथि पु¥याउने र पाँच वर्षभित्र राष्ट्रिय अर्थतन्त्रलाई ४१०० अर्बमा पु¥याउने लक्ष्य किटान गरेको छ । यसका लागि व्यवसाय गर्न चाहनेलाई सुलभता, कानुन लचकता, झण्झट झमेलाको अन्त गर्ने र सहकारीदेखि फाइनान्ससम्म कडा निगरानी गरिने नीति अवलम्बन गर्ने भनेको छ । यो नीतिले उत्पादन र निर्यातमा बृद्धि हुनेछ भने यातायात, उर्जा विकास आदि चौतर्फी क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ । यही नीतिभित्र रोजगारीको बृद्धि समेत समेटिएको छ ।
संसदबाटै सत्तारूड दलका सभापतिले शिर झुकाएर दलितसँग माफी मागेका छन् । सरकारले पनि मागी माग्नेछ । अर्थात न्यायपूर्ण समाजको लागि रास्वपा र बालेन सरकार प्रतिवद्ध देखिएको छ । यहीँबाट शासन सुधारको पाइला चलेको बुझ्न सकिन्छ । विश्व बैंकको ग्रेसूचीबाट हट्न सम्पत्ति शुद्धीकरणका निर्णय भइसकेको देखिन्छ । न्याय, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सरकारले विशेष योजनाहरू लागू गर्ने निर्णय गर्दैछ । अब सेटिङ र पार्टीकरणको अन्त सुनिश्चित हुँदैछ । विधिको शासनको आधार बालेन सरकारले महत्व दिएको देखिन्छ ।
रास्वपाको सिद्धान्त जनादेशको संवोधन हुनपुगेको छ । शासनमा सुधारको प्रदर्शन बालेन सरकारको प्राथमिकता देखिन्छ । राजनीतिक संस्कृतिले नयाँ मोड लिन लागेको छ । यो मोड जनताको पक्षमा होला त ? यही सवालको जवाफमा रास्वपा र बालेन साहको सफलता वा असफलता मापन हुनेछ । पुराना दलहरूलाई ३७ वर्ष दिने जनताले आफूलाई पनि ५ वर्ष देलान् भनेर बालेन वा रास्वपाले नसोचे हुन्छ । जेनजी पुस्ता आक्रामक छ, यो पुस्ताले रोजेजस्तो, खोजेजस्तो अवसर पाएनन्, विधिको शासन देखेनन्, उही पुरानै नेपोटिजम हुनथाल्यो भने छिटै अर्को परिवर्तनको आगो बल्न बेर लाग्नेछैन ।
 रास्वपा र बालेनलाई चेतना भया ।