Advertisement Banner
Advertisement Banner

०९ बुधबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

बालेनको सत्ता ब्याटल सुरू

०९ बुधबार , बैशाख २०८३३ घण्टा अगाडि

बालेनको सत्ता ब्याटल सुरू

बालेनको राजनीतिक ब्याटल सुरू भएको छ । आमनागरिक अत्यधिक आकांक्षा पूरा हुने आशाले हेरिरहेका छन् । अन्तर्राष्ट्रिय जगतमा समेत प्रभावशाली बन्दै गएको बालेन साहलाई प्रतिपक्षीहरू कहाँनेर गल्ती गर्छ र छिर्की लगाएर ढाल्ने, पार्टीसभापतिसँग मतभेद गराएर नैतिकताको धरापमा पार्ने मौकामा छन् । अर्थात् जेनजी सरकार उच्च जोखिम पार गर्ने परीक्षामा छ । सत्ताको शिरमा उक्लेको महिना दिन भएको छैन, बालेन साहका बोल्ड निर्णयहरूले आश्चर्यमा पारेको छ । हो, गृहमन्त्रीले लिनैपर्ने निर्णय तर कानुनको मात्रा नपुगेकोमा केही आलोचना जरूर भएको छ तर जनताले पक्रनुपर्ने र थुन्नुपर्नेलाई पक्रेको थुनेकोमा बिरोध गरेका छैनन्, बरू अदालतले उनीहरूलाई तारेखमा रिहा गरेकोमा अदालतप्रति जनताको गुनासो देखिएको छ । बालेन सरकारले भ्रष्टाचारको अन्त गर्न अनेक भ्रष्टाचारीका फाइल खोल्ने, सम्पत्ति छानबिन गर्न बनाएको आयोग, संविधान बहसपत्र तैयार गर्ने समिति र शासकीय सुधारमा गरेको सय बुँदे कार्यपत्रप्रति जनउत्सुकता ज्यादै छ ।
बालेन साह नेतृत्वको जेनजी सरकारमा युवाहरूको बाहुल्यता प्रयोगमात्र होइन । नेपालको ३७ वर्षको राजनीतिक अपराधको अन्त, शासनमा रूपान्तरण सम्भव छ छैन भन्ने उच्च जोखिमयुक्त परीक्षा पनि हो । यो परीक्षा लिने पनि जनता हुन्, परीक्षण गर्ने पनि जनता हुन् । भदौ २३, २४ मा क्रान्तिकारी जेनजीका गर्जन र उर्जा देखिन्थे, अन्तरिम सरकार, निर्वाचन र निर्वाचनपछिको बहुमतको सरकारमा पनि त्यो गर्जन र उर्जा उर्लेकै देखिन्छ । यो युवा नेतृत्वले गति लियो, जनअपेक्षालाई ठोस परिवर्तनमा रूपान्तरण गरिदियो भने जन विश्वास झन मजबुत हुनेछ, जनताको निराशाले फेरि फेरि बिस्फोट हुनेछैन ।
३७ वर्षको बहुदल र १७ वर्षको लोकतान्त्रिक गणतान्त्रिक शासनमा राजनीतिक अपराध यसरी बढ्यो कि नेपाल व्यापक अस्थिरतामा जेलियो । स्थापित राजनीतिक नेतृत्वको पतन, सामाजिक सञ्जालको परिचालन र नागरिक क्रोधको आगोमा खारिएर जेनजी राजनीति सुरू भएको हो । जेनजीले स्थापित सबै परिवर्तनलाई पर्लक्कै पल्टाएर सत्तामा पुगेको छ । यो २०७२ सालको भूकम्पभन्दा कम थिएन, जसले उलटफेर गरिदिएको थियो ।
भ्रष्टाचार र अपराधीक राजनीतिका विरूद्ध जेनजीको आक्रोश र जेनजीमाथि भ्रष्ट र अनैतिक सत्ताको गोली वर्षाको कारण अत्यासलाग्दो विनाशकारी रक्तपात, आगजनीपछि पुरानो सत्ता केही पनि बाँकी थिएनन् । खरानी थियो र खरानीमा अस्तित्व, अधिकार, समानता, न्याय, विधि, संवैधानिकता र सार्वभौमिकता सहितको नेपालको झण्डा उठाएर जेनजी पुस्ता उदाएका हुन् ।
झट्टहेर्दा सामाजिक सञ्जाल बन्द गर्ने तत्कालीन राज्यसत्ताको मुर्खता मानिए पनि यथार्थमा जड बनेर रहेको अन्धो धृतराष्ट्रको शासन शैली अपनाएको क्रान्तिकारी नामको सत्ताप्रति जनतामा अत्यासलाग्दो गरी बढेको घृणाभाव, अविश्वास कारण थियो । त्यसैको बिस्फोट हो भदौ २३ र २४ का घटनाहरू । राजतन्त्रवादी, हिन्दुवादी, राप्रपा, दुर्गा प्रसाई, केशर विष्टहरूले धेरैपटक आन्दोलन गरेकै हुन् । ती आन्दोलनभन्दा भिन्न, तीव्र र आँधीजस्तो थियो । जेनजीको आँधी रोक्नसक्ने खालको थिएन, सत्तासीनहरू सेनाको सुरक्षामा भाग्नुपरेको थियो । स्मरणीय छ, बंगलादेशमा सन २०२४ मा जुलाई विद्यार्थी आन्दोलनले परिवर्तन ल्यायो । २०२२ मा श्रीलंकामा जनताको आक्रोशबाट शासक भागे, २०२४ मा परिवर्तन ल्याए । गहिरो असन्तुष्टिले स्थिति ज्वालामुखी बिस्फोटझैं हुनेरहेछ । नेपालमा त्योभन्दा भयानक अवस्था थियो ।
जेनजी पुस्ता सत्तामा पुगेका छन् । यो पुस्ताले इतिहासप्रति गौरव, संस्कृति, संस्कार, सभ्यताको जगेर्ना गर्ने मार्ग पछ्याएको छ । जनविश्वास व्यापक छ, युवामा हौसला उच्च छ, छिटै यो जेनजी पुस्ता थाक्छ अथवा कलंकित हुन्छ भनेर सोच्न पनि सकिदैन । चुनौती धेरै छन्, रास्वपा र बालेन साहले त्यो चुनौतीसँग मुकाविला गर्ने निर्णय गरेका छन् ।
अर्थतन्त्र सुधार, रोजगारी सिर्जना गर्नुछ । विदेशीएका युवालाई स्वदेश फर्कने र विदेशी लगानी भित्र्याउने वातावरण बनाउनु छ । बिगतको अँध्यारो फार्न वर्तमान टुकी बन्नुछ, जेनजी पुस्ताले झल्को दिएका छन्, झिल्का देखाएका छन् । युवामा सत्ताको अनुभव छैन, परिवक्वता समयले बनाउने नै छ । मुहान स्वच्छ भएपछि चुहान स्वच्छ हुनेछ, प्रशासनिक दक्षता, रणनीतिक सोच, र अनुशासन विकास हुँदै जानेछ ।  प्रशासनमा सेवाभाव जागृत हुनथालिसकेको छ । विश्वमै नेपालका जेनजी पुस्ता आश्चर्यपूर्ण प्रशंसामा छन् । प्रशंसामा रमाउने होइन, वास्तविक संघर्षमा सफल हुनुपर्नेछ । प्रम बालेन साह कम बोल्छन्, काम गर्छन् । चुनावमा उनले काम मागेका थिए, जनताले काम दिएका छन् । अब परिणाम बालेन सरकारले देखाउनु पर्नेछ । बालेन सरकारलाई जनताले आफ्नै मानेका छन्, यो अपनत्व बैधानिकताको प्रत्याभूति हो ।
भ्रष्टाचारले गालेको र राजनीतिक अपराधले मारेको राष्ट्रलाई जिवन्त पार्नु बालेन सरकार र रास्वपाको पहिलो कर्तव्य हुनुपर्नेछ । जेनजी सरकार प्रयोग वा प्रयोगशाला नबनोस्, आमनागरिकको अपेक्षा यही छ ।