Advertisement Banner
Advertisement Banner

०८ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

माल्दाइलाई अन्तिम चिठी

०८ मंगलबार , बैशाख २०८३४ घण्टा अगाडि

माल्दाइलाई अन्तिम चिठी

माल्दाइ !
धेरै समयपछि
आज फेरि तपाईंलाई
चिठी लेख्न मन लाग्यो
मनको वह तपाईं सामू
पोख्न मन लाग्यो ।
माइतीको सम्झनाले
यसैयसै मन एकतमास भएको बेला
माइतीको तिर्सनाले
मन त्यसैत्यसै ओइलाएको बेला
तपाईं सामू पोखिएर
छताछुल्ल हुन खोज्दै छु;
मनका वेदना, पीडा र चाहनाहरू
सबैसबै रित्याएर
हलुङ्गो हुन खोज्दै छु; माल्दाइ !
भन्ने ले त जे पनि भनिदिन्छन् माल्दाइ !
सुन्नै छ भनी सबै सुनी दिन्छु
तपाईंकी चेली भनेर
मलाई समेत होच्याए
गिज्याए र जिल्याए पनि
त्यसो त के नै नयाँ कुरा पनि हो र? 
ओरालो लागेको मृगलाई
पाठोले पनि लखेट्यो त 
के नै नयाँ भयो र !
हिजो तपाईको प्रचण्ड तेजमा रापिनेहरू
बलेको आगोमा हात सेकाउनेहरू
तपाईंको नाउँमा 
जिन्दावाद गर्नेहरूले नै पनि
तिनै हातहरू उचालेर
तपाईंलाई नै
धारे हात पनि लाए माल्दाइ !
मूर्दावादको नारा पनि घन्काए माल्दाइ !
तपाईंका पाउमा दाम राखेर दर्शन गर्नेहरू
तपाईंको नाउँसँग जोडिएर 
शिर ठाडो पार्नेहरू
तपाईंकै शिरको मोल तोकेर
तपाईंको अस्तित्व नामेट पार्न 
खोजेको पनि देखियो, माल्दाइ !
समाचार सुन्दै छु
समाचार हेर्दै छु
माइतीको हाल बेहाल छ
तपाईंको घर लथालिङ्ग छ
मेरो माइती भताभुङ्ग छ ।
माल्दाइ ! भन्न त उसो हुन्न कि
रिसानी माफ रहोस माल्दाइ !
सानो मान्छेको ठूलो कुरा पनि
नभन्दिनु होला माल्दाइ !
हिजो तपाईंले नै पनि
हाम्रो घर राम्ररी सम्हाल्नु भएन
पितापूर्खाको नासो
जोगाउन सक्नु भएन ।
मैले नै पनि कति निहोरा गरें
अनुनय गरें, विनय गरें
तर अहँ ! तपाईंले पटक्कै सुन्नु भएन
विद्वतजनलाई पाखा पार्नु भो
मुर्ख र बन्दुकेहरू बटुलेर 
काखमा राख्नु भो
अयोग्यहरूका घेराभित्र बसेर
उनकै सल्लाहमा आँखा चिम्लेर लाग्नु भो
चाहिंदो नचाहिंदो जे पनि
गर्नु भो, गराउनु भो
निदानसेख घरै छोडेर
बचेरालाई विल्लिवाठ पारेर
निमुखा निर्धालाई विचल्लिमा छोडेर
तपाई त बनिबास लाग्नु भो माल्दाइ !
माल्दाइ ! तपाईं त जानु भो
उमेर भएकै थियो, जंगल पाउनु भो
तनावको जीवनबाट उन्मुक्त भएर
अमनचैनको जीवन विताउन पाउनु भा’छ
कन्दमूल खानु भा’छ, भजन जप्नु भा’छ
तर छहारी नै काटिएपछि
के हाल भो होला आश्रितको ?
तपाईंलाई केही थाहा छ ?
भैगो माल्दाइ !
अब बितेको कुरा पनि कति गरूँ म ? 
अहिले कै कुरा गर्छु र मनभित्रका अटेशमटेश पोख्छु
माल्दाइ !
हिंजो आज त ब्वाँसा र चितुवाहरू
मनुवाको खोल ओडेर
शहरभरि पसेका छन्
दाम्लो र गोठ पनि नभएका
आडम्बरी रक्तपिपासु
तिनै जनावरहरू
महलमा बसाईं सरेका छन्
विशाल अट्टालिकाका पटाङ्गिनीबाट
कङ्कलाशब्द गरेर एकनास
अहिले उनीहरू नै
शान्तिगीत गाँउदै छन्
अनि निरीह परेवाहरूको हाल
आज पनि उस्तै छ माल्दाइ !
ती बबुरा परेवाहरू
तपाईंको पालामा पनि
निरीह, निर्धा र सँधै त्रसित थिए
अहिले पनि उनीहरू
उत्तिकै डराएका छन्,
कोही भोकै छन्, कोही नाङ्गै छन्
छेपारा र पिपलपातेहरू
अवसरको फाइदा उठाउनमा
व्यस्त छन्, मस्त छन्
तागतिला स्वाभिमानिहरू
उतर्सिएर बाहिरिएका छन्
निर्धा, निमूखा र लुलाहरू
लाचार भएर,
शिर निहुरियाएर
अधमरो बाँचेका छन्; माल्दाइ !
माल्दाइ !
रक्सी उही हो
बोतल फेरिएका छन्
हिँजो एउटाले मोज गरेको
देख्न नसक्नेहरू नै
आज अनेकौं भएर पनि
मोजै गर्दैछन्
मेरो माइतीको ढिकुटी
रित्याउने खेल खेल्दै
प्रतिस्पर्धाको पराकाष्ठा नाघेर
नाच्दैछन् र रमाउँदै छन् ।
माल्दाइ !
भरखरै पटाक्षेप भएको छ
दृष्य फेरिने तरखरमा छ ।
तपाईं नै महान भन्ने आवाज
गुञ्जिन थालेको छ
अब तपाईं नै आउनु पर्छ
तपाईंले नै हाम्रो घर सम्हाल्नु पर्छ
भन्दैछन् ! भन्दैछन् ! भन्दैछन् !
अर्कातिर दसै औंला घिउमा डुबाउनेहरू
सन्तान दरसन्तानको बन्दोबस्त गर्नेहरू
हुन्न हुन्न र हुँदै हुन्न भन्दै छन्
उनीहरू पाखा पारिने खेल
खेल्नै हुन्न पनि भन्दैछन् ।
छिमेकीको चाला पनि
उहिलेकै जस्तै नै हो माल्दाइ !
उनको खेल सँधै झैं
बुझिनसक्नु छ
अथवा बुझेरै पनि
के नै हुन्छ र माल्दाइ ! 
ठूलो माछा सानो माछो खेलाइरहन्छ
रहर परूञ्जेल खेलाउला
भोक जागे मौका परे
क्वाप्लक्कै खाइ देला
कसले भन्न सक्छ र !
माल्दाइ !
विरालाले मुसाको अस्तित्व जोगाइदिएको
इतिहास कतै लेखिएको छ र ? 
सानो माछोको अस्मिता
ठूलो माछाले जोगाएको घटना पनि
पोखरीमा कहिल्यै घटेको छ र ? 
थकित छु माल्दाइ !
गलित छु माल्दाइ !
विगत र वर्तमानको प्रताडनाले
जिर्णसिर्ण भइसकेकी छु; माल्दाइ !
यसबेला पनि
मेरो माइती जोगियोस्
म सँधै माइत भनी आउन पाऊँ
स्वाभिमानले उचालिएको शिर बोकेर
मेरो माइतमा
सँधैसँधै रमाउन पाऊँ !
कल्पँदै छु माल्दाइ !
तपाईं फर्केर मेरो माइती सिंगारे
माल्दाइ !
मेरो मरणान्त भावनालाई
संजीवनीको लेप लाग्ने छ
मेरो खुशीको सीमा फैलिने छ
मेरो उमङ्गले आकाश छुने छ ।
तर माल्दाइ !
हिंजोको कथा पनि मैले विर्सेको छैन
तपाईकै जिम्माको
मेरो माइतीघर पनि
हामीले चाहेजस्तो, हामीले भनेजस्तो
कहिल्यै भएन
हुनै पर्ने पनि केही भएन
त्यसैले आज फेरि
तपाईं आउनु होला
मेरो माइतीघर सम्हाल्नु होला
मलाई आशा लागेको छ
तर विश्वास जागेको छैन
म भर पर्नै सकेकी पनि छैन ।
माल्दाइ !
मर्नु भन्दा बौलाउनु नीको भने झैं
परिवर्तनका लागि परिवर्तन मात्रै
अबका परेवाले थेग्न सक्ने छैनन् माल्दाइ !
त्यसैले माल्दाइ !
हिंजो जे भयो सो भयो
परेवाको छातिमा टिल्पिलाएको
तपाईंको मायाँको झिल्को
विन्ति छ डडेलो नबनोस् माल्दाइ !
मायाँको डडेलोले त
मनै डडाउँछ
युगौंयुगसम्मको मायाको बिउसमेत
डडाउँछ सखाप पार्छ माल्दाइ !
त्यसैले सावधान माल्दाइ !
पाइला गनेर आउनुहोस
पाइला चालेर आउनुहोस
पाइला दह्रोसँग
जमिनमा टेक्न सक्नुहुन्छ भने
आउनुहोस माल्दाई !
मैले नभनी नहुने कुरा
धेरै छन् माल्दाइ !
अहिले तपाईंलाई नभनेर
पछि पछुतोमा पर्न पनि
म चाहन्न माल्दाइ !
त्यसैले माल्दाइ !
तपाईं आउनु पर्छ, आउनु होस् 
मेरो माइतीघर सम्हाल्नु पर्छ
सम्हाल्नु होस्
तर हिजो
तपाईलाई घेरेर बस्ने ब्वाँसाहरू
घरै नास्न सुरिएर लागिपरेका
भुसको धुँवामा सल्केका झुम्राहरू
जस्तोसुकै बलियो काठ पनि
धुलो पार्ने धमिराहरू
सबैसबै
पन्साउने गरी आउनु होस्
साँचो अर्थमा मेरो माइतीघर
सुन्दर, शान्त, विशाल बनाउने गरी
निरीह परेवालाई स्वतन्त्र आकाशमा
निर्विघ्न उडान भर्न दिने गरी
पुस्तौंपुस्तासम्म तपाईंको गाथा
स्वर्णाक्षरमा कुँदाउने गरी
आउनुहोस् माल्दाइ; स्वागत छ ।
आउनुहोस माल्दाइ !
विवेकका आँखा उघारेर आउनुहोस्
हामी सबैलाई सँधैभरि
माया गर्न सक्नुहुन्छ भने
मेरो माइतीको स्वाभिमान
सगरमाथाभन्दा उँचो पार्न
र मेरो माइतीको अस्तित्व
युगयुगसम्म अक्षुण्ण 
राख्न सक्नु हुन्छ भने
माल्दाइ ! तपाईं आउनु होस्
सुस्वागतम् ! सुस्वागतम् !! सुस्वागतम् !!!

© इन्दिरा प्रसाई