Advertisement Banner
Advertisement Banner

०८ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

किस्तीमा राखेर कसैले दिंदैन

०८ मंगलबार , बैशाख २०८३४ घण्टा अगाडि

किस्तीमा राखेर कसैले दिंदैन

राजतन्त्रवादी हौसिने र हिस्सिने निरन्तरता १७ वर्ष पुरानै हो । पूर्वपश्चिम राजमार्गको नाम पुनः महेन्द्र राजमार्ग गर्ने र राज्यसञ्जालका कार्यालयमा नेपाल निर्माताको तस्वीर राख्ने बालेन सरकारले निर्णय गरेपछि अहिले फेरि राजतन्त्रवादीहरू हौसिएको देखिन्छ । अनेक कारण छन्, बालेन साहले राजसंस्था पुनस्र्थापित गर्ने निर्णय गर्छन्, संघीयता खारेज गराउँछन् भन्ने विश्वास भएर नै फागुन २१ को निर्वाचनमा राजतन्त्र र हिन्दुवादीहरूले घण्टीमा मत खन्याइदिएका थिए । राजतन्त्रविरोधीहरूले प्रम बालेन साहलाई खिसिट्यूरी गर्न थालिसकेका छन् । यसकारण जिज्ञासा धेरैको छ– बालेन साह र रास्वपाले राजतन्त्र पुनस्र्थापना गर्ला त ? यो प्रश्नमा दुई धार छन्, दुई मत देखिन्छन् ।
एकथरि भन्छन्– यो त स्टण्टमात्रै हो । राजतन्त्रको लोकप्रियता देखेर र बुझेर ती सबैको सद्भाव र समर्थन बटुल्न बालेन साहले आफ्नो इतिहास, संस्कृति, संस्कारप्रतिको मान्यतालाई बल दिन स्टण्टमात्र गरेका हुन् । अर्को पक्ष छ, जसले बालेन साह र रास्वपमा भएका अधिकांश नेता कार्यकर्ता, सांसदहरू राजसंस्थावादी भएकाले अब हुने संविधान संशोधनमा राजसंस्थालाई कुनै न कुनै स्थान दिन्ेछन् । यसैवीच अझ केहीले तबालेन साहको टिमले जसरी कामकार्वाही अगाडि बढाएका छन्, ती सबै राजापक्षीय काम कारवाही हुन् भने दावी गरिरहेका देखिन्छन् ।
यसैवीच नयाँवर्ष २०८३ को शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले दिएको भिडियो सन्देशमा वर्तमान सरकारको जुन तरिकाले प्रशंसा गरिएको छ, त्यो देखेर सुनेर पढेर राजा र बालेनको कुरा मिलेको अर्थ लगाउनेहरू धेरै छन् । जेहोस््, राजतन्त्रवादीहरू उत्साहित छन् । यो उत्साहभित्रको प्रश्न हो, संविधान संशोधनमा राजालाई के कस्तो स्थानमा पुर्नस्थापना गराउने प्रयास होला ? चुनावमा राजतन्त्रको कुनै मुद्दा थिएन, तथापि परिवर्तन जनताले र जेनजी पुस्ताले खोजेकै थिए, त्यो परिवर्तनमा राजतन्त्रवादीले साथ दिए, रास्वपाले जित्यो, बालेन प्रधानमन्त्री बने । प्रम बालेनले संविधान संशोधनका लागि बहसपत्र तैयार गर्ने समिति गठन गरेर छलफल अघि बढाएका छन् । सुझाव जनतासँग पनि मागिएला । स्मरणीय के पनि छ भने गत चैत १५ गते राप्रपाको आन्दोलनमा राजाकै संलग्नता छ भनेर मेयरका रूपमा बालेन साहले फोहर भयो भन्दै चिट काटेका थिए । तिनै बालेन साह विश्वका प्रभावशाली सय जनामा रहेका छन् र ती प्रधानमन्त्री बालेन साहले अधिकांश जनताको माग रहेको अभिभावकीय भूमिकामा राजालाई रोज्लान् त ?
ताजा संसदको घटनाक्रम, राप्रपालाई उपसभामुखमा रास्वपाले समर्थन गर्ने कुरा अघि बढेको थियो । अन्त्यमा बालेन साहले श्रम संस्कृति पार्टीकी कान्छी सांसद रूवीलाई रोजे । कारण राप्रपाकी उमेदवार नेताकी श्रीमती भएकै कारण बालेनले समर्थन नगर्ने निधो गरेका थिए । जेनजी सरकारले नेपोटिजम मन पराउने कुरा थिएन, राप्रपाले अलग महिला उमेदवार चयन गर्न सकेन । तथापि राजतन्त्रको सिद्धान्त बोकेको राप्रपाले विरोध ग¥यो, सहकार्य तोडेको चाहिं छैन । तर उपसभामुख पाएको श्रम संस्कृति पार्टीले राजतन्त्रप्रति लचकता देखाएको देखिन्न ।
हिजो प्रमुख पार्टी कांग्रेसभित्र अधिकांश कांग्रेसी सांसदले राजतन्त्र चाहियो भनेर हस्ताक्षर अभियान चलाउँदा पनि तत्कालीन सभापति शेरबहादुर देउवाले कानमा तेल हालेनन् । २०७२ मा संविधानलाई अन्तिम रूप दिंदा जनताले राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा सुझाव दिएका थिए, तत्कालीन सभामुख र गणतन्त्रवादीहरूले जनतामाथि घात गरेकै हुन् । यसपटक संविधान संशोधन गर्दा जनतासँग सुझाव मागिनुपर्छ र जनताको सुझावलाई बालेन सरकारले अस्वीकार गर्नसक्ने स्थिति हुनेछैन । जनतासँग होइन, पार्टी र विज्ञसँगमात्र सुझाव लिनुपर्छ भनेर गणतन्त्रवादीले अहिलेदेखि नै षडयन्त्र सुरू गरिसकेका छन् । अब हेर्नुछ, जनताको विश्वासको मतबाट ऐतिहासिक जित हासिल गरेर सत्तामा पुगेका बालेन र रास्वपाले जनताको सुझाव लिन्छन्, लिंदैनन्, जनसुझावअनुसार संविधान संशोधन गर्छन् गर्दैनन् । राजतन्त्र र हिन्दुराष्ट्र यही विन्दुमा टक्क अडिएको अवस्था छ । यद्यपि रास्वपा र बालेन सरकारले संविधानमा जनमत संग्रहको प्रावधानलाई पनि सम्झेका छन् । यो चाहिं सकारात्मक संकेतका रूपमा विश्लेषकहरूले लिएका छन् ।
राजतन्त्रवादी र हिन्दुवादी कोठे आन्दोलनकारी हुन् । सडकमा ताते भने पनि केही घण्टाका लागि तात्छन्, चर्का नारा लगाउँछन् र कोठा कोठा पस्छन् । भिषण आन्दोलन गर्ने ताकत यो खेमामा छैन । भएको भए देशव्यापी अभिनन्दन र स्वागत गर्नसक्ने जनता कडा आन्दोलन गर्न सक्दैनन् । ९४ प्रतिशत ॐकार परिवार भएको हिन्दुहरू संगठन गर्नै सक्दैनन् । राप्रपा, केशर विष्ट, दुर्गाप्रसाईजस्ता राजतन्त्रवादीहरू राजतन्त्र ल्याउनुभन्दा बढी राजाको हुर्मत लिन अग्रसर छन् । यिनको विधि व्यवहार र चरित्र अवसरवादी भन्दा बढी केही छैन । आन्दोलन जेनजी पुस्ताले गरे, अभिभावक तिनले खोज्नेहो, परिवर्तन तिनले ल्याए, सुशासन तिनले दिने हो । शान्ति र समुन्नति अब नयाँ पुस्ताले ल्याउने हो । शक्तिको स्रोत नयाँ पुस्ता रहेछ भन्ने प्रष्ट भइसक्यो । नयाँ पुस्ताले चाहे भने जब्बर बनेर ३७ वर्षदेखि सत्तामा हालिमुहाली गरेर बसेकाहरू भागम् भाग हुनेरहेछन् भन्ने सबैले देखिसके । मुलुक बचाउनु छ, मुलुक बनाउनु छ, ढलेको मुलुकलाई उठाउनु छ । यो सबै भार नयाँ पुस्तामा छ, किस्तीमा राखेर कसैले दिंदैन, खोसेर लिने र गर्ने हो ।