
मुलुकको भताभुङ्ग स्थिति, अब्यवस्था, दुराबस्थाले हाम्रो देशमा रोजगारी मिल्न नसकेको कारण शिक्षित, आशिक्षित सबै खालका मुलुकको झण्डै झण्डै एक तिहाइ जस्तो जनसंख्या रोजगारीकै सिलसिलामा आफनो पाखुरा, सीप, शिक्षा, ज्ञान अरूकै लागि प्रयोग गर्न बिदेश पलायन भएको दुखद् स्थिति सर्बविदित छ । यिनीहरूकै कमाइबाट पठाइएको रकमको कारण पनि देश एनकेन चल्न सकेको र परिवार चल्न सकेको भन्ने यो मुलुकमा चर्चा हुनेगरेको पनि सबैलाई थाहा छ । अर्काको लात, बात्, हप्काई, दप्काई, हेला वा मान अपमान सव सही अर्काको देशमा जीवन विताउनु कम गाह्रो हुँदैन भन्ने कुरा भोग्नेलाई बढी थाहा हुन्छ । कुरा जस्तो भएपनि लाखौलाख जनता बिदेशमा रहन बाध्य छन् ।
धेरै वर्ष विदेश रहन पर्दा त्यहाँको नागरिकता लिइ बस्दा जीवन बढी सहज हुने कारण यसमध्य कतिपयले कारणवस नचाही नचाही, मन नपरी, मन नपरी पनि आफ्नो देशको नागरिकता त्यागी बिदेशको नागरिकता लिई बिदेशमा बस्ने पनि छन् । अरूको नागरिकता लिएपनि नलिएपनि अर्काको देशमा बस्नेलाई बिदेशीनै सम्झिने कुरा भोग्नेलाई मात्र होइन, नभोग्ने तर बिचारबान ब्यक्तिलाई पनि साधारणतः थाहा हुन्छ । यदि यो कुरा थाहा नभएपनि हाम्रै देशमा नागरिकता लिई वसेका अमेरिकन वा युरोपियनलाई हामी नेपाली सम्झिन्छौ कि बिदेशी एक छिन शुद्ध मनले बिचार गरे स्पष्ट हुन्छ । नढाँटी भन्दा भन्नै पर्छ–मान्छेको रूपरङग, आकृति, भाषाले छुट्याई उनीहरूलाई हामी साधारणतः विदेशीनै सम्झिन्छौ । नागरिकता पत्र मात्रको आधारमा नागरिक सम्झिनु कुरा बेग्लै हो । ठीक यस्तै हो हामी नेपालीको पनि बिदेशमा । हुन पनि मान्छेको दिलको राष्ट्रियता नागरिकता पत्रले साधारणतः फेरिँदैन ।
कुरा यस्तो भएपनि बिदेशको नागरिकता लिएको वा स्थायी बसोवास सुविधा (पीआर) लिएको कारण मात्रले देशको माया त्यागेको अर्थ लगाउने नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्वमन्त्री लाल बाबु पण्डित मार्काका महानुभावहरू पनि यस मुलुकमा छन् । तर पनि तात्कालिन सवै दलहरूको सहमतीमा मुलुकमा हाल रहेको संविधानमा बिदेशी मुलुकको नागरिकता प्राप्त गरेको ब्यक्तिलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्रदानगर्ने कुरा उल्लेख भएको र २०८० असोज ३० गतेदेखि नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता प्रदान गरिआएको छ ।
तर यो नागरिकता कही नभएको जात्रा हाडीगाउँमा भन्ने नेपाली उखान जस्तो भएको एउटा कुरा म यहाँ लेख्न चाहन्छु ।
घटना एउटा आफन्तको हो । जागिरे कामको सिलसिलामा ३५÷३६ बर्ष देखि ऊ बिदेशी मुलुकमा छ । उसित बिदेशी मुलुकको स्थायी बसोवास कार्ड (पीआर) छ । उसित नेपाली नागरिकता र नेपाली पासपोर्ट छ । फुर्सद फुर्सदमा उ नेपाल आउने गथ्र्थो र गर्छ र परिवारसित जीवन बिताउँछ । उसको नेपालमा बचत र मुद्धती बैङ्क खाता छ । सो खातामा राम्रै रकम छ । गैर आवासीय नेपाली नागरिकता दिने समाचारवाट खुशी भई उसले गतसाल नेपालको पुरानो नेपाली नागरिकता त्यागी बिदेशी मुलुकको नागरिकता लियो । साथ साथै नेपालआई गैर आबासीय नागरिकता पनि लियो । बिदेश फक्र्यो ।
यसै बिचमा नेपालको बैङ्कमा रहेको उसको मुद्दती खाताको म्याद सकियो । मुद्दती नवीकरण गर्न बैङ्कले उसको गैर आवासीय नेपाली परिचय पत्र माग्यो । यो परिचय पत्र उसित छैन । उसले कहिल्यै लिएको थिएन । लिनु पर्ने अवस्था पनि उसको थिएन । उसले गैर आवासीय नेपाली नागरिकताको फोटो प्रति बैङ्कलाई उपलब्ध गरायो । तर बैङ्कले यो नागरिकतालाई मान्यता दिई काम गर्न नसकिने कुरा जनाइ उसको रकम बैङ्कमा फ्रोजन भएको अर्थात चलाउन नसकिने स्थितिमा रहेको जानकारी दियो ।
we request you to please provide your NRN card so that we can reactivate your account, we do have your NRN citizenship however, we will require your NRN card to keep the account activated . (बैङ्कले लेखेको पत्रको अंश)
यसबाट हाल सरकारले दिएको गैर आबासीय नेपाली नागरिकता साबिक रहेको बैङ्क खातासम्म नवीकरण गर्नको निमित पनि काम नलाग्ने र गैर आवासीय नेपाली परिचय पत्र जतिको पनि महत्व नभएको स्पष्ट छ । यो नागरिकतामा बिश्वास् र गर्ब गर्दा उ आफ्नो नेपालमा रहेको बैङ्क खाता नवीकरण गर्न नसक्ने र भएको रकम अरू परिवारलाई दिन पनि नसक्ने अवस्थामा परेको छ ।
नागरिकता जस्तो महत्वपूर्ण कागत यसरी विना अर्थको हुन पर्ने कुनै कारण जरूर पनि देखिन्दैन । यसैले कार्यान्वयनमा यस्तो अवस्था किन हुनगयो ? बुझिन्दैन । संविधान प्रदत्त गैर आवासीय अधिकार गैरआवासिय नागरिकलाई प्रयोग गर्न दिने हो भने यो समस्या समाधानको लागि के गर्नु पर्ने गर्नको निमित वर्तमान सरकारको ध्यान अबिलम्ब जान पर्ने देखिन्छ । कुरा यो होइन र यो नागरिकताको कुनै मुल्य वा अर्थ छैन भने यस्तो नागरिकता दिइरहनुको पनि कुनै अर्थ हुँदैन ।
narayanshanti70@gmail .com


