Ganesh bdr dhungana- एमाओवादी पार्टीले संविधानसभाको निर्वाचनलाई जनमत संग्रहलाई माथ गर्ने धाँधली भनेको थियो। त्यही माओवादी आत्मसमर्पणवादी बन्यो र निरन्तर रुपमा सत्ताको करिडरको फन्को लगाइरहेको छ। अरु त अरु, माओवादीसमेत भारतको मृगचक्रमा फसेको छ। नेपालको गणतन्त्रले दोलखा भीमसेनको समेत पसिना छुट्यो, अव जनताले बुझिसकेका छन् कि गणतन्त्रको आवरणमा नेतातन्त्रको चक्रव्यूह चलेको छ।
धर्मनिरपेक्षता र गणतन्त्र यी दुबै घटनाक्रम भनेको ठूलो रहस्य र चटक हो। देखिन्छन् हाम्रा नेताहरु, पर्दा पछाडि रिमोट चलाउने अर्कैछ। यहीकारण न गणतन्त्र संस्थागत हुनसक्यो, न जनताले नै आत्मसात गर्नसके। जनताको जीवनपद्धति, जीवनशैली बन्न नसकेको कुनै पनि राजनीतिक पद्धति स्थापित हुनै सक्दैन।
नागरिक भय र दैवी संकेतहरु गणतन्त्रका पक्षमा देखिदैनन्। नेपालमा जुन परिवर्तन भयो, यसको व्याकफोर्स भनेको दिल्ली नै हो र जो शासक बनिरहेका छन्, दिल्लीकै ब्याकफोर्समा बनेका छन्। सार्वभौम संसद भन्ने कुरा व्यवहारमा गलत सावित भइरहेको छ। सबै क्रियाकर्म राष्ट्रघाती नै देखिइरहेका छन्।
गणतन्त्र नाटकमञ्चनजस्तो देखिएको छ। राजनीतिक दलका नेताहरुलाई जे भूमिका मिलेको छ, बखुवी निभाइरहेका छन्। जनताका प्रतिनिधिले जनताको होइन, अरुकै जिम्मेवारी निर्वाह गरिरहेका छन्। जनमत यति कमजोर हुनसक्दैन। नेताहरु एकदोस्राप्रति यति कडा आरोप लगाइरहेका छन् कि भुटान होइन, १९७५ को सिक्किमको घटना दोहोरिनेसम्मको त्रासदी छ मन मनमा।
जनताको मनबाञ्छित संविधान किन बनिरहेको छैन? लोकतन्त्रका निर्णायक शक्ति जनता हुन् भने जनताको अपेक्षालाई उपेक्षा गर्ने बोर्नभिटाको ताकत यी नेताहरुलाई कहाँबाट प्राप्त भइरहेको छ? जनताले बुझिसके, जनताले हस्तक्षेपमात्र नगरेका हुन्। जुन दिन जनता निस्कनेछन्, त्यसदिन जे पनि हुनसक्छ।


