
प्रम बालेनको सत्तानीति र कूटनीतिमा सुधार, सर्वत्र चर्चामा छ । प्रधानमन्त्रीको बेडरूमसम्म पुग्ने विचौलिया, सांसद, कूटनीतिज्ञहरू हिस्स हुनपुगेका छन् । प्रम बालेनले निवासमा सांसदलाई समेत आउन रोक लगाइदिएका छन् । विहानै ८ बजे नै मन्त्रालय पुग्ने र राज्यका काम गर्ने उनको प्रकृयाले वाहवाही पाएको छ ।
नातावाद भन्ने मन्त्रीलाई १३ दिनमै हुत्याइदिए । उनको ंसंकेत छ, कुनै पनि मन्त्रीले नातावाद नभनुन्, स्वार्थ नहेरून् । बहुमतको सरकारले हुने विरूवाको चिल्लोपातको संकेत देखाएको छ । जहिले भो उही भ्रष्टाचारी नेतालाई जिताउने जनता दोषी हुन् भनिन्थ्यो, यसपल्ट जनताले सही निर्णय दिएका छन् । चुनावका समयमा मेची, महाकाली पुगेर प्रम बालेन साहले जुन आशा जगाएका थिए, ती पूरा गर्ने परीक्षा सुरू भएको छ । बालेन साहले जुनसुकै पार्टीका हुन्, क्षेत्र क्षेत्रका जनप्रतिनिधिसँग अन्तरकृया गरेका छन्, चाहिएको के हो, बुझेका छन् ।
यसैवीच गत चैत २६ गते प्रम बालेन साहले १६ जना विदेशी राजदूतहरूलाई कार्यालयमा सामुहिक भेट गरे, परिचय आदान प्रदान गर्दै नेपाल सरकारको अपेक्षा सुनाएका छन् । आपसी विश्वास जगाउने ‘भियाना प्रोटोकल’ जगाउने महत्वपूर्ण सन्देश थियो यो । बालेनको चमत्कारिक उदय विश्वचर्चित थियो, नेपालमा रहेका कूटनीतिज्ञहरू पनि भेटेर डाइनामिक लिडर हुने बालेन भन्दैछन् ।
प्रशासनमा सुधार, संवैधानिक निकायहरूमा सुधार र मित्रराष्ट्रहरूसँगको सम्बन्धमा सुधार, प्रम बालेनको प्राथमिकतामा परेको छ । अनुशासन र इमानदारिता बालेन सरकारको कसी बनेको छ । यही कसीमा राजनीतिक नियुक्ती पाएका राजदूतहरू फिर्ता बोलाइएका छन् । अब हुने नियुक्ती योग्यताका आधारमा हुने सन्देश हो यो ।
नेपालमाथि फ्रडको आरोप छ । ग्रेसूचीमा नेपाल परेको छ । नेपालको वायुयान युरोपमा उड्न पाउँदैन । विश्वसमुदायले पत्याउन छाडेको छ । नेपाल मजदूर उत्पादन गर्ने र मानव बेचबिखन गर्नेसम्मको राष्ट्र बन्नपुगेको छ । यी सबै अपमानका बुँदाहरूलाई प्रम बालेनले सच्याउन सुरू गरेका छन् । जेनजी सरकारमा अनुभव छैन, उत्साह र हौसला छ । उनीहरू परिपक्व बन्दैजाने आशा छ ।
ओली र लेखक गिरफ्तारी र अदालतले छोड्न दिएका आदेशबाट बालेन सरकारले धेरै कुरा सिकेको हुनुपर्छ । ललिता निवास जग्गाप्रकरणदेखि गिरिबन्धु, वाइडबडी खरिदलगायतका अनेक फाइल खुलेका छन्, अनुसन्धान हुँदैछन् । पूर्व प्रम देउवा दम्पतीमाथि रेडकर्नर नोटिस जारी हुँदैछ । प्रतिषोध नहोस्, कानुनतः भ्रष्टाचारको अनुसन्धान र कारवाही हुनैपर्छ, जनताको अपेक्षा हो यो ।
जनताबाट पुराना दलहरू जो ३७ वर्षदेखि सत्ताको चलखेलमा थिए, तिनीहरू जनताबाट अस्वीकृत हुनुको कारण भ्रष्टाचारी र नेपोटिजमवादी भएर हो । २०६३ देखि नै राजसंस्थाप्रति निषेध र प्रतिषोध साधियो, राजनीतिक शक्ति मानिएन, जसको प्रतिफल पुराना दलहरू निर्वाचनबाट सन्निपात लागेजस्तो हुनपुगे । बालेन सरकारले फरक मतलाई सम्मान गरोस्, जनअपेक्षा नबिर्सियोस् । प्रजातन्त्रको विकल्प छैन, खोजिनु पनि हुन्न । तर राजतन्त्रात्मक प्रजातन्त्र माटो र हावापानी सुहाउँदे हुनेछ । यसतिर रास्वपाले ध्यान दिनैपर्छ ।
२०४६ सालपछिका नेता र पार्टीको पदचिन्ह दलदल हो । यस्तो दलदल रास्वपाका लागि बर्जित हुनुपर्छ । राष्ट्रियता र प्रजातन्त्र भन्दाभन्दै कांग्रेस कम्युनिष्टको पछि लाग्यो र भ्रष्टाचारको दलदलमा हात्ती भासिएझैं भासिन पुग्यो । कम्युनिष्ट त भासिनु नै थियो, किनकि कम्युनिष्टहरूले राजनीतिलाई व्यापार बनाएका छन् । रास्वपा राजनीतिक मूलधार बन्नुमा पुराना पार्टी जनविरोधी हुनु हो, रास्वपाले जनताको मुद्दा बोक्दा जनताले विश्वास गरेका हुन् । प्रजातन्त्रको शक्ति जनविश्वास हो । जनता राष्ट्र हुन्, अन्तिम निर्णय जनताकै हुनेगर्छ । जनता जनार्दन मानिन्छ ।
बहुमतका सरकारहरू बिबादमा टुक्रिने गरेका छन् । यस्तो खबर सुन्नु नपरोस् । ५ वर्षपछिको चुनावमा जनताले मूल्यांकन गर्नेछन् । मुख्य कुरा हिजोका नेताहरूले बिदेशी हस्तक्षेपको पक्षधर भए, आज किनारामा पुगे । त्यस्तो नियतिबाट बालेन सरकार र रास्वपाले शिक्षा लेओस् । विपक्षीहरू त रास्वपामा बिबाद होस्, टुक्रियोस् भन्ने नै हुन्छ, बालेन र रविले फुकी फुकी कदम चाल्नुपर्ने देखिन्छ ।
एउटा उदाहरण ः बालेन र रविका लागि
मुगल साम्राज्य कालमा हुमायु सम्राट् थिए ! एकदिन शिकारबाट फर्कने क्रममा नदी तर्दा उनी नदीमा डुबे ! एउटा माझीले उनलाई बचायो ! खुशी भएका सम्राट् हुमायुले माझीलाई के माग्छस माग भने , माझिले एकदिन सम्राट् हुन पाउँ भनेर माग्यो ! हुमायुले मागेजस्तै माझीलाई एकदिनका लागि सम्राट् बन्ने बक्सिस दिए ! माझी सम्राट् बस्ने गद्दीमा बस्यो ! उसलाई के गरूँ, के गरूँ भएर छालाको टक चलाउन आदेश दियो । त्यो टक २४ घण्टा चल्यो ! यसबाट के देखिन्छ भने औकात भन्दा माथिको जिम्मेवारी दिइयो भने यस्तै उटपट्याङ काम मात्र गर्छ ! हाम्रो लोकतन्त्र त्यही माझीको तालमा चल्दै आयो ३७ वर्षसम्म !
मगध साम्राज्यका दम्भी नेतृत्वमा रहेका महानन्द प्रवृत्तिलाई परास्त गर्नसक्ने चन्द्रगुप्त मौर्यको जस्तो साहसी र चाणक्यको जस्तो चातुर्य वर्तमान नेपालको आवश्यकता हो, त्यस्तो योग्यताको प्रतिक्षा थियो, नेपालले पाएकै हो त ?


