पूर्वराजा भर्खर चितवनदेखि झापासम्मको बसाइँमा जाडो छलेर राजधानी फर्केका छन्। चितवनदेखि झापासम्मै नारा लाग्यो 'राजा आउ देश बचाउ।' देश यहीँ छ, कसले लग्यो र बचाउने? बरु धर्मनिरपेक्षता र गणतन्त्रको बहुला क्रियाकलापले धार्मिक युद्ध गराउने खतरा बढेर गयो, बचाउनु पर्यो भनेको भए राम्रो हुनेथियो कि? फेरि पूर्वराजा चितवन, झापा पुग्दा जनताले घेरे, अनेक प्रकारका भक्तिभावनाहरु देखाए। पूर्वराजा फर्किए, राजतन्त्र जिन्दावाद पनि सकियो। यस्तो राजभक्तिले न गएको हिन्दूधर्म फर्किन्छ, न राजसंस्था। खाली पूर्वराजालाई देखाउनका लागि गरिएको प्रदर्शनले केही हुनेवाला छैन। ढाडमा हाड छ भने पूर्वराजावादीले सडकदेखि संसदसम्म जाम गर्न सक्नुपर्छ। राजधानीमा विश्व छ, राजधानीलाइ ठप्प पारेर आफ्नो पहिचानका लागि लड्नुपर्छ। चाकरीको शैलीमा गरिएको नारावाजी देखावटी मात्र हो। यस्तो हावादारी नारावाजीले क्रिश्चियन र गणतन्त्रवादीलाई छुन पनि सक्दैन। प्रभावकारी, दर्बिलो आन्दोलन बिना लेखिन लागेको संविधानमा राजतन्त्रवाद स्थापित हुनेवाला छैन।
संविधान निर्माण फेरि सुरु हुनलागेको छ। गत माघ ५ गते रातिको 'संविधानसभाभित्रैको तोडफोड काण्ड'पछि पानी बाराबारको स्थितिमा रहेका सत्ता पक्ष र एमाओवादीसहितको उसको मोर्चाका वीचमा 'संवाद' सुरु गरिन लागेको छ। यो पंक्ति लेखुन्जेल प्रधानमन्त्री कोइरालाले लिखित रुपमै वार्तामा आउनका लागि विपक्षी मोर्चालाई आह्वान गर्ने समाचार (आइतवार विहानसम्म) तारन्तार आइरहेको छ। उता प्रश्नावली समितिले पनि विवादित राज्य पुनर्संरचना बाहेकका ६ वटा प्रतिवेदनमा 'असहमति' मै संविधान जारी गर्ने प्रयास फेरि एकपटक सुरु भएको छ। एकथरि समाचारका अनुसार अमेरिकी राजदूत पिटर बोडेले दलहरुका वीचमा सहमतिको (वार्ताको) वातावरण तैयार पार्न मेहनत गरेका छन्। त, यसरी मुलुक पुनः वार्ता र सहमतितिर डोरिन लागेको छ। अव यस्तो अवस्थामा बहुसंख्यक राजतन्त्रवादीहरुको 'धर्म' के हो त? खाली कोठामा बसेर लेखाजोखा गर्ने मात्र हो कि? 'अलि कति धेरै गर्नु परे' साइज साइजका ज्योतिषिहरुकोमा पुग्ने मात्र हो? ...तमासामात्र हेर्ने हो राजतन्त्रवादीहरुले? 'मनी र मसल'को प्रयोगले आएको यो 'भाँडतन्त्र'ले मुलुक रसातलमै पुगिसक्यो तर अहँ, हिजो ठल्ठूला ठाउँहरुबाट पालित पोषितहरु संगठित भएर सडकमा निस्कदैनन् त? यहाँ त गुण्डागर्दीको भरमा आएको यो गणतन्त्रले मुलुक हाँकीसक्यो। तर 'आस्था, विश्वास र ठूलो जनमत अझै बाँकी रहेको भनिएको शाहबंशीय राजतन्त्रका अनुयायीहरु अझै शक्ति प्रदर्शनमा ओर्लदैनन्? किन होला? भाग्यमा छ भनेर डोकामा दुध दोहेर अड्दैन भन्ने यिनलाई कहिले ज्ञान हुने? यहाँ त जसले पैसा खर्च गरेर शक्ति प्रदर्शन गर्नसक्यो, उसैको 'चल्ने' प्रष्ट भइसक्यो। तैपनि एकथरि राजावादी भन्छन्: विश्वजनमत (खासगरी दक्षिणको क्षिमेकी)ले साथ नदिईकन के गर्ने? भारतले उचालेर गद्दीमा पुर्याइदिए लुट्न पाइन्थ्यो भन्ने परजीवी मानसिकता छ राजावादीमा। अव त्यसमा त 'घरेलु जनमत'लाई सडकमा देखाए पो विश्व जनमत पनि खुलस्त हुनसक्छ। कि होइन? यति सामान्य ज्ञान पनि थाहा छैन राजा र हिन्दूवादीलाई? खाली दलहरुका वीचमा भइरहेको द्वन्द्वले राजतन्त्र फर्कन्छ भन्ठान्नु मुर्खता सिवाय केही होइन। यो द्वन्द्व त प्रायोजित हो। आफ्नो भित्री स्वार्थ पूरा हुनासाथ दक्षिणले यिनलाई थचार्छ, यो सत्य हो। यहाँ हिसाव किताव गराएर, मन्दिरमा पूजापाठ गरेर, ज्योतिषिकहाँ चिनाकुण्डली देखाएर, आफ्ना पकडका पत्रपत्रिकाहरुमा लेख, समाचार लेखाएर हिन्दुत्व र राजतन्त्र फर्काउने जमर्को भइरहेको छ। कथित सहयोगीहरु यथार्थमा असहयोग गरिरहेका छन्। ती उपबुज्रुकहरुलाई कसले सम्झाइदेओस् कि जे गरे पनि भीड जम्मा हुनैपर्छ र यदि...फर्काउने हो भने जनता हिन्दुत्व र राजसंस्था चाहियो भनेर एजेन्डाका पक्षमा सडकमा ओर्लनैपर्छ। यसको कुनै अर्को तोड छैन।
ठिक छ, दलहरुका वीचमा अहिलेसम्म तिक्तता बढेको छ। यो तिक्तता सत्ताको भागबण्डा मिल्नासाथ मिठासमा बदलिन बेर लाग्दैन। यिनको तिक्तता सत्ताको भागबण्डामा मिल्ने तिक्तता हो, सैद्धान्तिक होइन। अर्काले मिलाईदिए मिल्ने, जुधाई दिए बाझ्नेहरुको के भर छ र? दलहरु बाझाबाझ गर्दैमा धर्मनिरपेक्षता र गणतन्त्र जान्छ भन्नु गलत ठम्याइ हो। अरु त अरु जनताले बढारिसकेको भनेर राजतन्त्रका विषयमा संविधानसभा र यसको प्रश्नावली समितिले यो 'यो विषय'लाई पूरै नजरअन्दाज गरेको छ। तैपनि राजतन्त्र र हिन्दूवादीहरु तातेका छैनन्। यिनै ठूला दलहरुले सबैभन्दा धेरै जनसंख्या भएको क्षत्री, बाहुनजातिलाई अन्यमा राखे। क्षत्री, बाहुनले त्यसको प्रतिकार गर्न सकेनन्। यिनीहरुभित्र पहिचानको गौरव मरिसकेजस्तो छ। मोहन वैद्यले भनेजस्तो पूर्वराजाको पक्षमा जनसमर्थन देखिन्छ भने राजनीतिक शक्ति मान्नुपर्छ भन्ने निष्कर्षका लागि पनि राजतन्त्रवादीहरुले आफ्नो शक्ति प्रदर्शन सडकमा देखाउनै पर्छ। तैपनि यिनीहरु सडकमा निस्किन लजाइरहेका छन्। राजतन्त्रवादी कोठामै फुइँकी हाँकिरहेका छन्। क्रान्तिकारी पल्टिरहेका छन्। यसकारणले झन झन निराशा छाएको छ जनतामा। अविश्वास बढेको छ जनतामा। राजतन्त्र र हिन्दूवादी पनि ठूलो शक्ति हो भन्ने देखाउनका लागि तुरुन्तै वातावरण नबनाउने हो भने अबेर हुनेछ। एकपटक संविधान घोषणा भयो भने त्यसलाई बदल्न फेरि दुई तिहाई चाहिन्छ, त्यो यस्ता नालायकहरुले कहाँबाट कहिले ल्याउने हुन्?


