Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेपाललाई जापान बनाउने गफ

१२ बुधबार , आश्विन २०७३१० बर्ष अगाडि

राजनीति गफ भयो। ०४६ सालमा नेपाली कांग्रेसले मेलम्चीको पानी ल्याएर काठमाडौंलाई दिनको ३ पटक धोइदिने गफ गरेको थियो, ०७३ सालमा पनि मेलम्चीको पानी राजाधानी नआउने निश्चित भइसक्यो। ०६३ सालमा जनआन्दोलनकारी दलहरु नेपाललाई सिंगापुर बनाउने गफ गरेका थिए। ०७३ सालको आधा समय गइसक्यो, नेपाल बन्नसक्ने, केको सिंगापुर? नेताहरुको अनुहार कहाँ राजा भोज, कहाँ गंगू तेली भयो। गतहप्ता जापान पुगेका नयाँशक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अर्को सगुफा छाडेका छन्– नेपाललाई जापान जस्तै बनाउने सपना छ। सपना न हो, देख्न छुट छ, जति सपनादेखे पनि हुन्छः डा.भट्टराईले। 
टोकियोको झिलिकमिलिक देखेपछि भवन भट्टको मेजमानी स्वाद चाखे र भने– नेपाललाई जापानजस्तै बनाउनुपर्छ। बाबुरामको निष्कर्ष छ–  न्यायवाद, समृद्धवाद र सत्यबाद बाहेकका अन्य वादले विकास गर्न सम्भव छैन। सम्भव थिएन भने जनआन्दोलन, संविधानसभा र संविधान निर्माण किन गरेको? यी कुनै पनि परिवर्तनले न न्यायवाद, समृद्धवाद, सत्यवाद नै ल्यायो। असत्यमात्र गर्ने बादका पछाडि किन लागेको? कुनैबेला मार्क्सवाद, लेनिनवाद र माओवादका नाउँमा रक्तपातपूर्ण युद्ध नेतृत्वदायी भूमिका निर्वाह गरेका बाबुरामले जापान आएर सत्यको पक्षमा उभिने साहसचाहिं गरे, सत्यवादी काम न हिजो गरे, न आज नै गर्नेछन्। किनभने सत्यको धरातलमा नयाँ शक्तिपार्टी पनि छैन। 
म भोट माग्न होइन, विकासको मोडल हेर्न आएको बताएका बाबुराम नेपाल फर्किसकेका छन्। उनले कस्तो मोडल देखे, कस्तो मोडलको सुझाव नेपाल सरकारलाई दिए, कसैले अत्तोपत्तो पाएको छैन। मनमा राख्ने र आफू सत्तामा नगएसम्म त्यो मोडल नबनाउने हो भने मनको लड्डु घ्यूसँग खाने?