Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

व्यवस्था नफेरि अवस्था सुधार - शङ्का र आशा

१७ मंगलबार , चैत्र २०८२८ घण्टा अगाडि

व्यवस्था नफेरि अवस्था सुधार - शङ्का र आशा

मुलुकमा राम्रो बा नराम्रो जुनसुकै राजनैतिक ब्यवस्था रहेपनि मुलुकको मुख्य शासक अर्थात सरकार प्रमुख इमान्दार, नेतिकवान्, बुद्धिमान, ज्ञानी, प्रबुद्ध, जेहेन्दार, देशप्रेमी, निस्वार्थी, देश र जनताप्रति बफादार रहे भने सो ब्यक्तिले जरूर पनि देशको उत्थान र जनताको कल्याणको लागि उल्लेखनीय, स्मरणीय काम गर्न सक्छन् । गर्छन् । राजा महेन्द्रले देश र जनताको लागि गरेका बिकास निर्माणका काम र उपलब्धीहरूनै यस सन्दर्भमा दृष्टान्तको रूपमा राख्न सकिन्छ । यसै सन्दर्भमा नेपालमा २०४७ यता बहुदलको आगमन पछि आफूले चाहेको ब्यवस्था र आफूले चाहेजति शक्ति र अधिकार पाएर पनि आफू, आफन्त र आफना आसेपासेहरूको हित कल्याण गर्ने बाहेक देश र जनताको हित र कल्याण आफ्नो प्राथमिकताबाट पन्छाई प्रजातन्त्रको सट्टा दलीय तानाशाहीतन्त्र र नेतातन्त्र चलाएको ३ दशक भन्दा बढी अवधिको हाम्रो इतिहास पनि यसै सन्दर्भमा दृष्टान्तको रूपमा राख्न सकिन्छ । यस प्रसङ्गमा बिचार गरिदा ब्यवस्थाभन्दा ब्यवस्था चलाउने ब्यक्ति राम्रो र निष्ठाबान् हुनुपर्ने देखिन्छ । ब्यवस्था पनि राम्रो र ब्यवस्था चलाउने प्रमुख ब्यक्ति पनि राम्रो भएको खण्डमा सुनमा सुगन्ध भने जस्तै सबै कुरा राम्रै राम्रो जरूर हुनसक्ला ।
मुलुकको मुख्य शासक खराब, स्वार्थी, भ्रष्टाचारी, नैतिकहीन, गफी, हावादारी, लुटाहा, हुल्याहा, छली, कपटी, जाली परयो भने त्यस्ताले ब्यवस्था र बिधि पनि सोही अनुरूपको वनाई मुलुक र जनता दोहन गर्ने कुरा जरूर हुनजान्छ । यसको दृष्टान्त पनि हाम्रै २०४७ साल यताको बहुदलको इतिहास यथेष्ट हुन्छ । हाम्रा मुलुकका बहुदलीय शासकहरूले थरी थरीका प्रजातान्त्रिक अधिकार र मानव अधिकार सहितको संविधान र ब्यवस्था त मुलुकलाई दिए । तर संवैधानिक आयोग, न्यायिक आयोग, अधिकार दुरूपयोग अनुसन्धान आयोग, न्यायालय, शिक्षालय, औषद्यालय, मन्त्रालय, विभाग वा अन्य कार्यालयहरू सबैतिर आफनो हात र नियन्त्रणको व्यवस्था र बिधि बसाली आफूले जे जस्तो भ्रष्टाचार गरेपनि हुने र आफू बाहिरकालाई जेजस्तो अन्याय गरेपनि हुने ब्यवस्था वसालेको कुरा सबैलाई स्पष्ट छ । तिनीहरू आफैले, आफनो क्रियाकलापले देशमा भ्रष्टाचार र कुव्यवस्थापनाको अभ्यास र स्थापना गर्ने क्षेत्रमा आफूहरू जिम्मेवार व्यक्ति भएको प्रमाणित गरेका छन् ।
यसैकारण मुलुकमा भ्रष्टाचारको कसैको फाइल खोलेपनि हुने, नखोलेपनि हुने, लुकाएपनि हुने, दवाएपनि हुने, कसैलाई मुद्दा लगाएपनि हुने, नलगाएपनि हुने, लगाइसकेको मुद्दा फिर्ता लिएपनि हुने आदि भइआएको कुरा सबैलाई थाहा छ । हुँदा हुँदा राष्ट्रप्रति र प्रधानमन्त्री एकै दलको भएपनि हुने र मुलुक र जनताको कुरामा तिमी र म मिलेपछि कसले के गर्न सक्छ भन्ने जस्तो गरेपनि हुने भइआएको सन्दर्भमा कतिपय अध्यादेश मिलोमतोमा जारी भएको भन्ने समेत आवाज सुन्नमा आएको पनि छ ।. यस अवधिमा यहाँ भएका गरेका अनेक थरीका अनियमितता, भ्रष्टाचार, बेइमानी; बदमासी, दमन्, शोषण, लूट आदि विरूद्ध नै मुलुकमा भाद्र २३ रÞ २४ गतेको देशव्यापी विशाल पीडादायी, क्षतिपूर्ण हावाहुरी, सुनामी जस्तो आन्दोलन भएको हो भन्नुमा अत्युक्ति हुँदैन । यस पछिको सुशीला कार्कीको सरकारबाट संविधान, ऐन कानून सुधार, ब्यवस्था सुधार वा अन्य नीति निर्णयवाट मुलुकमा सुब्यवस्था र सुशासन स्थापना गर्नको निमित आवश्यक जन अपेक्षित कुनै स्मरणीय काम त हुन सकेन । तर यसै सरकारले गराएको आम चुनाववाट अकल्पित किसिमले बिफरले आफ्नो मुखारबिन्दु र आकृति बिग्रेका जस्तै आफनै कुकर्म र कुशासनले गन्हाएका सबै दलहरूलाई रछ्यानमा मिल्काई राष्ट्रिय स्वतन्त्र पार्टी बिशाल मतले बिजयी पार्टी बनी उदाएकोछ । यो पार्टी उही पार्टी हो जून पार्टीले ब्यवस्था नफेरि पनि अवस्था फेर्न सकिने धारणा राख्छ ।
साधारणतः बिचार गरिदा हानिकारक व्यवस्था र बिधि नफेरि जस्तो सुकै राम्रो शासक भएपनि अवस्था फेर्न गाह्रो हुने देखिन्छ । गोरेटो बाटोमा पनि साइकल गुडाउन त सकिन्छ तर सोही वाटोमा ठूलो ढुङ्गा रहेको छ भने सो नपन्छाई साइकल चलाउन सकिन्दैन । त्यस्तै मोटरकार, ट्रकको लागि सोही अनुरूपकै चौडाइको सड़क चाहिन्छ भने हवाइजहाजको लागि हवाइमैदाननै चाहिन्छ । म बुद्धिमान, म साहसी, म गर्छु भन्दैमा सानो चोकमा राखी हवाइजहाज उडाउन सकिन्दैन । एक किसिमले व्यवस्था नफेरि अवस्था फेर्ने कुरा त्यस्तै हो । विश्वविद्यालय क्याम्पस, कलेजहरूमा पार्टी सञ्चालित थरी थरीका नामका बिद्यार्थी संघ र संगठनहरू सञ्चालन हुने व्यवस्था गरी  बा सो संस्थाहरूमा पार्टीका खुखार मुखियाहरूलाई उपकुलपति, रेक्टर, रजिष्ट्रार बनाई शैक्षिक संस्थाहरूमा भइरहेको राजनीतिकरण बन्दहुँदैन । त्यस्तै अड्डा अफिस, बैङ्क, विभाग, मन्त्रालय, प्रतिष्ठान आदि कुनैपनि ठाउँमा कर्मचारी संघ र संगठनका नाममा राजनैतिक कर्मचारी संगठनहरू रहेसम्म अड्डा अफिसमा सुशासन र अनुशासन बसाल्न सजिलो हुँदैन । ठूल ठूला शासकीय स्वरूप फेर्न पर्ने कुरा त बेग्लै छ । राष्ट्रपति र प्रधानमन्त्री उहीं एकै दलको हुने बा गठवन्धन् र मिलोमतोले हुने भनेको धामी पनि उहीं बोक्सी पनि उहीं, सजाय दिने पनि उहीं न्याय दिने पनि उहीं जस्तै भएको कुरा सर्व बिदित छ ।
ब्यवस्था फेरेर होस् बा नफेरि मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गरी मुलुकको दूतगतिले बिकास गरी जनताको अवस्था सुधार गर्ने महान जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको शिरमा परेको छ । यो पार्टी र यसका उर्जावान् नेता, कार्यकर्ताहरूले पहिले सत्तामा रही हालीमुहाली गरेका पार्टीहरूले जस्तै आफू र आफना समूहको लागि मात्र दलतन्त्र र नेतातन्त्र जरूर चलाउने छैनन् भन्ने आशा सबैमा पलाएको छ । साथै जरूर मेयर बालेन शाहले असिमित बाधा अडचन्, दबाव प्रभावको कुनै पर्वाह नगरी काठमाडौंको मुहार फेर्ने काममा लागी उपलब्धी प्रदर्शन गरे जस्तै अब प्रधानमन्त्री बालेन शाह र उहाँको समूहले आफनो समयावधि भित्रै सबैमा प्रभाव पर्ने किसिमले देशको मुहार फेर्ने काम गर्नु हुने आशा पनि जनमानसमा छ । म उहाँको सफलताको कामना गर्छु ।
यदि अबको सरकारले मुलुकको ठोस विकास र जनताको कल्याणको लागि  जनताले स्पष्ट देख्ने र अनुभव गर्ने किसिमले अर्थपूर्ण सुधार ल्याउन सकेन भने, त्यो राष्ट्रका लागि गम्भीर दुःखद, त्रासदी दुर्भाग्य हुनेछ । हाम्रा जनताले  धेरै झूठ्ठा, अधुरा वाचाहरू भोगी र सही सकेका छन् । देश अहिले एक निर्णायक मोडमा उभिएको छ, जहाँ जन अपेक्षा, आशा र भरोसालाई कुनै पनि उपाय र कामले पुरा गर्नैपर्छ । म पवित्र दिलले प्रार्थना गर्छु कि यो अवसर अब मुलुकले नगुमाओस् । मुलुकमा प्रजातन्त्रको एक सक्कली सूर्य उदाओस् ।
narayanshanti70@gmail.com