Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सुशासनको घण्टी बज्नुपर्छ

१७ मंगलबार , चैत्र २०८२८ घण्टा अगाडि

सुशासनको घण्टी बज्नुपर्छ

बालेन सरकार सकारात्मक बाटोमा लग्यो । आर्थिक क्षेत्र र रोजगारी सिर्जनामा ठूलो चुनौती छ । सुशासनसँग संविधान संशोधनमा आयोगको बहस सुरू भएको छ । संविधान संशाधनमा कुन कुन बुँदा थपिन्छन्, संशोधन हुन्छन् । चीनको सुरक्षा चासो र भारतको स्वार्थ, सबैभन्दा गाह्रोपक्ष नै यही हो । नेपाल फस्ट नीति हुनैपर्छ । प्रो अमेरिकनको आक्षेप छ, टीओवीमा कारवाही खोई भनिदैछ, भारत पर्ख र हेर को स्थितिमा चिलको आँखा लगाइरहेको छ ।
निर्वाचनमा घण्टी बज्यो, परिणाममा घण्टी बज्यो, सत्तामा घण्टी बज्यो, अब परिणाममा घण्टी बज्नुपर्छ । भ्रष्टाचारी, कुशासक, अपराध विरूद्ध घण्टी बज्नुपर्छ, देशको पक्षमा घण्टी बज्नुपर्छ ।
यो जेनजी र जनताको आवाज हो ।
०४६ सालको परिवर्तनमा सुशासनको सपना देखाइयो, कुशासन आयो, कालरात्रि बन्यो । ०६३ को परिवर्तनपछि समानता, विधिको शासन, उज्यालो नेपाल भनियो, बितेको १७ वर्षमा १५ सरकार, कुशासनको योभन्दा ठूलो उदाहरण अरू के हुनसक्ला ?
व्याप्त कुशासनका विरूद्ध भदौ २३ र २४ गते जेनजीले परिवर्तन ल्याए । परिवर्तनलाई जनताले स्वीकार गरे, परिवर्तित युवा नेतृत्वको सरकार बन्यो । नयाँ सरकारले परिवर्तन ल्याउने खाका कोरेर, जनतासँग बाचा र करार गरेर सय सूत्रमा काम पनि थालिसकेको छ ।
युवा नेतृत्वको सरकारले परानो ढर्रा चल्दैन, भ्रष्टाचार सहिदैन, भ्रष्टाचारी बच्दैनन् भन्दै कारवाही थालिसक्यो । जनताले सुशासनको घण्टा बजाउने अवसर नयाँ पुस्तालाई दिएको छ ।
नेपालमा बजेको घण्टीको प्रतिध्वनी विश्वभरि छाएको छ । विश्व नै आश्चर्यचकित दृष्टि लगाइरहेको छ । जनतामा विश्वास झल्किएको छ ।
घण्टी अर्थात देवत्वको जागरण मानिन्छ । देवत्वको जागरण भयो । जनताले घण्टी किन बजाए ? ०४६ पछिका शासकले आत्ममन्थन गरून् । यतिबेला परीक्षा घण्टीवालाहरूको सुरू भएको छ, तिनले सुशासन दिन नसके जनताले पुनः बिद्रोहको शंख फुक्नेछन्, सावधान ।
सय दिन, हनिमून पिरियड । सुशासनको बीज टुसाउँछ कि टुसाउँदैन, सबैले हेर्नैपर्छ । पक्कै पनि कम बोल्ने बालेन र बालेनले जनताको सपना पूरा गर्छ भन्ने घण्टी सभापति रवि लामिछानेको घोषणामा बालेन साह खरो उत्रने विश्वास देशैभरि छ । सत्ता पाएर पनि भ्यागुतोजस्तो उफ्रिएनन् बालेन साह, यही हो उज्यालो बिहानी ।
भदौ २३ र २४ गते ७६ जनाको नरसंहार भयो, हजारौं घाइत भए । संंविधान सकियो, सरकार सकियो, केही पनि बाँकी रहेन । खरानीमा संविधान उभ्याउने र सुशासन दिने, रोजगारी सिर्जना गर्ने, लथालिङ्ग अर्थतन्त्र सम्हाल्ने जरूरी काममा सरकार लागेको छ । पुराना दल र नेताहरूले बहुदलदेखिको ३७ वर्षको उत्तरदायित्व लिएनन् । सत्तालाई भेट्यो कि मादल बजाउने काम गरे । हिजोसम्म जे जति जात्रा, हाटबजार भयो भयो, अब व्यवस्थित गर्ने दायित्व बालेन सरकारको काँधमा आएको छ । घण्टीले दिने सुशासन कस्तो हो ? भ्रष्टाचारको अन्त्य र सेवाभाव, जवाफदेहीता के हो ? सबैतिर प्रतिक्षाको विषय बनेको छ । काइते कानुन बदल्नुछ, घाइते संविधान संशोधन गर्नुछ, राष्ट्रिय र अन्तर्राष्ट्रिनीति तय गर्नुछ । शासन प्रशासनमा हावी तरमारा बर्ग, दलालीतन्त्रको अन्त्य गर्नुछ । सामान्य नागरिकले बाच्नपाउनु, शिक्षा–स्वास्थ्य र रोजगारीको प्रत्याभूत गराउनुछ । हिजोसम्म समाजले किन केही पाएन, भोलिका दिनमा बालेन सरकारले समाजलाई के दिनेछ ? यही हो परिवर्तनमा सोधिने प्रश्न र खोजिने छ उत्तर ।
जनताले अपनत्व नलिए पनि संविधान, सरकार चलिरह्यो । अब त्यस्तो हुनसक्दैन । विकास के हो ? बालेन सरकारले देखाउनुपर्छ । सजगता के हो, बालेन सरकारले सिकाउनुपर्छ । को मन्त्री भयो, को कुन पदमा गयो भन्ने बेकारको जिज्ञासा हो, बालेन सरकारले र रास्वपाले गर्न खोजेको के हो, परिणाम के आयो ? मूल प्रश्न् यही हो र यसैमा बालेन देखिनेछन् । ०४६ सालपछिको ३७ वर्षमा नेतातन्त्रको नाङ्गो स्वरूप जनताले देखिसकेका छन् । किसानदेखि मजदूरको आँखाका आँसु पुछ्नैपर्छ । सिङ्गो मुलुकको, सबै तह र तप्काका जनताको अथाह विश्वास पाएको घण्टी सरकारले सुशासनको घण्टी बजाउनैपर्छ । जेनजीको सपना साकार पार्नैपर्नेछ ।