Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

हात्तीका पाइलाको डोवमा सबैका पाईला अट्छन् : स्वयम्भूनाथ कार्की -

१० सोमबार , आश्विन २०७३१० बर्ष अगाडि

अन्तरिम गणतन्त्रको दशकमा लगातार नेपालको राष्ट्रियता माथि प्रहार भयो। डि एफ आई डी जस्ता संस्थाहरु खुलेरै नेपाल र नेपालीको जनजीवनको अर्को परिभाषा गर्न लागे। प्रत्यक्ष अप्रत्यक्ष रुपमा युरोपियन युनियन, संयुक्त राज्य अमेरिका, भारत जस्ता मुलुकहरुका संस्थाहरुको नयाँ नेपालको नारा घन्काउन लगानी भयो। फलाना र ढिकानाको सहयोगमा सञ्चालित भनेर आउने कार्यक्रमहरुको बाढी नै लाग्यो। एफएम, टिभीहरुमा डिएफआईडी वा अन्य अन्तरराष्ट्रिय गैर सरकारी संस्थाको सहयोगमा निर्मित भनेर चलाईएका कार्यक्रमहरु सम्झनामा छँदैछन।

इतिहास संग साईनो नै नभएका जर्मनका चिकित्सकले नेपालको लुकाईएको इतिहास लेखे। प्रायोजित रुपमा त्यो कितापका अंशहरु नेपालभर प्रचार गरिए। नेपाली भाषालाई अत्याचारी भाषा भनियो , राज्यको उपस्थितिमा राष्ट्रिय झण्डा, पोशाक र टोपी जलाएर विरोध गरियो। नेपालको नाम नै परिवर्तन गर्नुपर्ने प्रस्ताव समेत संविधानसभामा उठ्यो। उठेको मात्र होईन अग्रगामीहरुले त्यसमाथि छलफल पनि उचित देखे। जातजाती र सांप्रदायिकताको भावनाको पक्षपोषण गर्न सत्ताधारी नै लागे। 'जातिय, क्षेत्रिय, लिङ्गिय ' वाक्यांश हरेक भाषणको अभिन्न अंग बन्यो। वर्तमानमा पनि फाट्टफुट्ट यो सुन्न पाईन्छ। \u000aप्रायोजित बुद्धिजीवि, राजनीतिकर्मीहरु कहिल्यै पराधिन नभएको नेपालको गौरव चिथोर्न लागे 'नेपाल हमेशा अर्धउपनिवेश थियो' भनेर। यो विस्तारवादीहरुले नेपाली जनतालाई दिएको मन्द बिष हो , जसको असर विस्तारै बढ्दैछ। यसै श्रृखलामा मुलुकमा व्याप्त अराजकता भन्दा त भारतमा विलय भएको राम्रो भन्नेहरु पनि सल्वलाउन थाले। यो लगातार सुनाएर मानसिकरुपमा भारतिय दासत्वलाई विकल्प बनाउने कुत्सित प्रयत्न हो। मोदीको नेपाल भ्रमणलाई स्वागत गर्ने बहानामा राजालाई मात्र प्राप्त हुने पारंपारिक चलन सुम्पिने कुचेष्टा भयो। मोदीको हुने भनिएको जनकपुर भ्रमण स्थगित हुँदा जे मञ्चन भयो त्यो भारत कै कुनै प्रान्तमा पनि सहज संभव थिएन। 
यस्तो वेलामा जनताको मनमा निभ्नलागेको राष्ट्रियताको दियो जोगायो पाखा लगाईएका राजाको देशाटनले। जहाँजहाँ उनको भ्रमण भयो त्यहाँ साम्प्रदायिक भावना त्यागेर नेपालीले स्वागत गरे। जातिय्क क्षेत्रिय, लिङ्गिग पहिचान हैन केवल नेपाली पहिचान बोकेर जनता लामबद्ध भए। दकर्ने पानीले जनतालाई रोकेन, टन्टलापुर घामले बाधा दिन सकेन, राज्यका अनेकौ प्रयत्नले जनताको भेल रोक्न सकेन। राष्ट्रिय झण्डा त्यहाँ सगौरव उठ्यो, चिथोरिएको राष्ट्र प्रतिको आस्थाले मलहम पायो। विस्तारै जनताले विकल्प भारतिय दासत्व हैन राजसंस्थामा देख्न थाल्यो र नारा लाग्न थाल्यो 'राजा आउ, देश बचाउ'। 
यो नारा हिजो राजाको वरिपरि झुम्मिएर गुलियो चाट्नेहरुले लगाएको थिएन , राजा प्राण भन्दा प्यारो भन्ने तर संकटको समयमा लुक्ने चाटुकारहरुले पनि लगाएको थिएन। त्यस्ता मध्ये धेरै त अहिले पनि आफ्नो टाउको बचाउन मिल्ने किसिमको शव्दावली प्रयोग गर्दैछन। कतै पुनःर्स्थापना भै हाल्यो भने आफ्नो पहिलेको गुलियोमा पुग्ने र भएन भने पनि म त मन विरोधमा थिए भनेर नयाँ नेपालमा दुनो सोझ्याउने भाषा प्रयोग गर्दैछन। सत्ताले हड्डी पा्कल्ने वित्तिकै त्यसमा झुम्मिन तम्तैयार भएर बसेका छन। 'चीनी पनि र पापा पनि' लोभ गरेर दुवै तर्फ साखुल्ले हुनेहरुमा यो नारा लगाउने ह्याउ पनि छैन। 
नेपाल राष्ट्र तीन तत्वको मिलनले बनेको थियो, भुगोल, जनता र राजसंस्था। त्यसैले राजसंस्थालाई एकताको प्रतिक मानिएको थियो। गणतन्त्रको दशकमा सबैको मुखमा नेपाल विखण्डनमा जाने खतरा छ भन्ने कुरा आउदैछ। राजसंस्थालाई एकताको प्रतिक नमान्नेहरु पनि नेपालको अस्तित्वमा खतरा देख्दैछन। पृथ्वीनारायण शाहदेखी राजा पाखा लगाउदाको वेलासम्म यो खतरा देख्नु त के कल्पना पनि गरिएको थिएन। कुरो सिधा छ साम, दान। दण्ड,भेद जस्तो नीति आवश्यक हुन्छ त्यही गरेर राजसंस्थाले नेपालको रक्षा गरेको थियो , नेपालीलाई एक सुत्रमा बाँधेको थियो। त्यसैले राजसंस्थाको अस्तित्व नकार्ने वित्तिकै राष्ट्रको अतित्व खतारामा परेको छ। 
हात्तीको पाईलाको डोवमा सबैको पाईला अटाउछ। सबैको पाइला अट्ने ठाँउ बनाउनु पर्दा सबैको पाइलाको नाप लिन पर्दैन। त्यस्तै नेपालले अहिले भोग्दै गरेका सबै विसंगतिहरुको अलग अलग हल आवश्यक छैन। केवल राजसंस्थाको पुनःर्स्थापना नै प्रयाप्त छ। केवल एक यही हलले सबै समस्याको हल हुन्छ। किनभने राजसंस्था सबैको हो, मुलुकको हो र यसले जनतामा विभाजन हैन एकता कायम गर्छ। यो मेरो दलको, यो तेरो दलको भनेर गरिने भागवण्डा नै नेपालको सबै समस्याको जड हो। जव एकता हुन्छ, सही पात्रले सही स्थान पाउँछ सबै समस्या क्रमिकरुपमा हल हुँदै जान्छ। र समस्याको हल जनताको एकताको वलले हुन्छ।