प्रचण्डलाई राष्ट्रघाती ठहर गर्दै बिप्लवले राजधानीमै युवा लडाका उतारेका छन्। प्रचण्ड सरकारका प्रहरीले प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाउने र मूर्दावाद भन्ने विप्लवका ३० जनालाई पक्राउ त गर्यो तर ३ घण्टा पनि थुन्न सकेन, छाडिदियो।
नाचघरमा केही काठका र केही सक्कली बन्दुक नै बोकेर राज्यविप्लव गर्नसक्ने शक्ति प्रदर्शन गरेका विप्लवले जिल्ला जनसरकारहरुलाई निकै मजबुत पारिसकेका छन्। पूर्वकमाण्डमा ईश्वरी दाहाल, मध्यक्षेत्रमा सन्तोष बुढा र पश्चिम क्षेत्रमा हेमन्तप्रकाश ओलीलाई जिम्मा दिएर संसदको ७ प्रदेशको खाका खारेज गर्दै जनविद्रोहको तैयारी थालेको बताइन्छ। प्रचण्डले बाटो बिराए, अव जनताको पक्षमा उभिने म एक्लै हुँ भन्दै विप्लव संसद र संविधान विरुद्ध राज्य विद्रोह हाँक्न कस्सिएर लागेका छन्।
यद्यपि वैद्यले पनि बाँकी ७ पृष्ठमा प्रचण्डलाई अराष्ट्रिय भनिसके। उनले चुनावमा भाग लिन मोर्चा बनाइसकेका थिए, प्रचण्डको भारत भ्रमणपछि उनको मन बदलिएको बताइन्छ। ठूला दल र संविधानको सात प्रान्तलाई विप्लव माओवादीले तीन प्रान्तमा कायम गरेको छ। राजधानीका विभिन्न गाउँमा समेत जनसरकार गठन गरिसकेको र ५३ जिल्ला जनसरकार गठन गरेर समानान्तर सरकार सञ्चालनमा अग्रसर भइसकेको विप्लव माओवादीले हतियार तत्काल उठाउने निर्णय गरिसकेको छैन तथापि आफ्नो शक्ति सञ्चय गर्न र भिडन्त गर्नैपरे भूमिगत रुपमै तैयार भइसकेको खबर छ।
माओवादी फुटेर टुक्रा टुक्रा भएपछि विप्लव वैद्यसँग पनि चोइटिएर कमजोर बनेको जुन अनुमान गरिएको थियो, स्थिति बेग्लैछ। विप्लवले चन्दा उठाएर पनि युवा लडाकाहरुको पंक्ति तैयार गरेका छन् र जंगलमा सैनिक प्रशिक्षण समेत दिइसकेका छन्। यसकारण पनि विप्लवले भनेजस्तो विद्रोह गर्नसक्ने ताकत छ उनमा। अव उनले प्रधानमन्त्री प्रचण्डलाई नै युद्धमा ललकारी सकेका छन्।


