Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

कांग्रेसमा को?

०३ सोमबार , आश्विन २०७३९ बर्ष अगाडि

डा.विनिता– 
कांग्रेस र कोइराला भनेको एकैजस्तो देखिने स्थितिले पल्टा खाएको छ। कांग्रेसभित्र यति कमजोर बनेका थिएनन् कोइराला। आज कांग्रेसभित्र व्यक्तिगत टकराव, गुट, उपगुट र अनेकता हावी हुनपुगेको छ। कांग्रेस पार्टीभन्दा पनि सिद्धान्तहीन र लक्ष्यहीन भीड लाग्न थालेको छ। हुन त भवानीपुरको भीडबाटै जन्मेको हो नेपाली कांग्रेस। वीपीले एउटा निश्चित सिद्धान्त खडा गरेर चलाए, जीपीले त्यसलाई मटियामेट पारिदिए। सुशीलले के गर्नसक्थे र? उनको अवसानपछि कांग्रेस सिद्धान्तहीन कम्युनष्टिको पुच्छर पार्टी हो कि भन्ने स्थितिमा पुगेको छ। नेपाली कांग्रेसको स्थापनाकालदेखिको कोइराला बंशको हालीमुहाली सुशील कोइरालाको निधनसँगै समाप्त भएको हो त? यो प्रश्न यतिखेर विश्लेषण हुनथालेको छ। यद्यपि राजनीतिमा छन्– वीपी पुत्र सशांक कोइराला, गिरिजापुत्री सुजाता कोइराला र नोनापुत्र शेखर । नेपाली कांग्रेस हाँक्नसक्ने हाइट यी तिनै नेतामा विकास भइसकेको छैन। सुशील कोइराला सशांकलाई अघि बढाउने सुरुमा थिए, आफै बितेर गए। महाधिवेशनमा सशांक कोइरालाले महासचिवमा बिजयी भएका छन्। पहिलोपल्ट शेरबहादुर देउवा सभापति बनेका छन्। देउवाले कोइराला परिवारबाट कसैलाई नेतृत्व तहसम्म पुग्न देलान् भनेर विश्वास गर्न सकिदैन। 
तथापि सुजाता बिस्तारै सुस्ताउँदै र छायाँमा पर्दै गएकी छिन्। सुजाताले कांग्रेसभित्र कोइरालावादको बिरासत धान्न सक्ने देखिदैन। शेखर कोइराला आफ्ना सहयोगी भए पनि अहिले नै किनारामा पारिसकेको देखिन्छ। रह्यो सशांक कोइरालाको सवाल। सशांक बढी पियक्कड भएकाले केही समय अघि झण्डै बितेनन्। अहिले उनको स्वास्थ्य त ठिक छ तर कांग्रेसमा कोइरालावादको बिरासत हाँक्ने हैसियतयुक्त राजनीतिक स्वास्थ्य विकास भइसकेको देखिदैन। के त्यसो भए कांग्रेसभित्र कोइरालावाद समाप्त भएकै हो त? 
यो यथार्थ मान्न अझै कांग्रेसभित्रका वीपीवादीहरुको अहं तैयार देखिदैन। वीपीवादको विरासत बिलिन भइसकेको छ। र, सशांक, शेखर र सुजाता यी तीन स वीच कुनै तालमेल छैन। आपसमा तनाव छ, इर्षा र द्वेष छ। यहीकारण पनि कांग्रेसभित्र कोइरालावाद क्षयरोगीजस्तो कमजोर बनेर गएको छ। कांग्रेसभित्र कोइरालावादको नेतृत्व अन्यत्रै चिप्लिदै छ। तीन स लाई चेत छैन। वीपीको बिरासत लिन वीपीको सिद्धान्त बोक्नुपर्छ। सुजातामा बालहठ बाँकी नै छ, शेखर घाट घाटका पानी पिउने आदतले मजबुर छन्। अलिकति गुणहरु सशांकमा छन्। सशांकले बेला बेलामा वीपीका सिद्धान्त बोल्छन् तर व्यवहारमा उतार्न सकेका छैनन्। कुशल नेतृत्व दिन पार्टी र व्यक्ति स्वार्थ र अनुकूल कुरा मात्र बोल्ने बानी त्याग्न नसक्नु सशांकका कमजोरी हुन्। 
नेपाल हिन्दूराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट बनाउन कम्युनिष्ट र विदेशीको दबाब मान्नु कांग्रेसको ठूलो गल्ती हो। जुन देशमा ९५ प्रतिशत ऊँकार धर्म मान्ने बस्छन्, त्यस्तो देश कसरी मुसाइ र इसाइकरणको दबदबामा चल्न सक्छ? यति सामान्य ज्ञान पनि नराख्ने कांग्रेसको तत्कालीन नेतृत्वले जातजातिवीच द्वन्द्वको बिजोरोपण गर्ने कम्युनिष्ट रणनीतिमा ल्याप्चे ठोक्नु पनि गलत निर्णय थियो। तर, ती नेताहरु बितिसके। नयाँपुस्ता आएको छ। यो पुस्तामा तीन स छन्। सशांक नेतृत्वका लागि बढी सम्भाबित व्यक्तित्व हुन्। कोइरालावादीहरुले सशांकको हात बलिाये पार्ने हो भने वीपीवाद ब्यूँझिन सक्छ।