Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपाल सौन्दर्य, पीडा र अनुत्तरित रहस्य

१० आइतबार , फाल्गुण २०८२१२ घण्टा अगाडि

नेपाल सौन्दर्य, पीडा र अनुत्तरित रहस्य

जब म एक्लै बस्दा आफनो मुलुक र जनता बारे बिचार गर्न थाल्छु मेरो मनमा थरी थरीका कुरा आउछ । उच्च उच्च हरिया डाँडाकाडा, पहाड, पर्वत, त्यस्तै उच्च उच्च अनगिन्ति हिमश्रृंङ्खलाहरु, साधारणतः सूर्य उदाउने बितिक्कै सदा जस्तै उज्यालो रमाइलो आकाश, न अति गर्मी न अति जाडोको मौसम, बिना कुलो नहर पनि कतिपय उब्जाउको जमीन साथै मनमुघ्द गर्ने काठ र ढुङ्गाका कलाकृतिपूर्ण ऐतिहासिक मठ, मान्दिर, दरबारहरु देख्दा मलाई ( अनौठो ) अनौथो र आनन्द लाग्छ । तर जव देख्छु म बहुसंख्यक जनताको असहय गरीबीता, गाँसबास, कपास, औषधोपचार र राम्रो शिक्षा दीक्षाको समस्या, जताततै अब्यवस्था, अत्याचार, भ्रष्टाचार, थिचोमिचो र पहुँचवालाको मात्र बोलवाला र सुख, सुबिधा, मलाई अनि दिक्क दिकदार, दुःख पीडा लाग्छ । जब मुलुकको केही दशकको इतिहास फर्केर हेर्छु, सम्झिन्छु बा पढछु मलाई लाग्छ यो देश यस्तै भई हिडेको छ । चलेको छ । म जस्तै खुशी र पीडा मनमा राखी सबैले यहाँ जीवन विताएका छ्न् । यस्तै यस्तै बिचार गर्दागर्दै मेरी प्रिय श्रीमती शान्ति मिश्र, मेरा वाबु आमा, दाजु, भाउजु, दिदी, भिना, बन्धुबान्धब, इष्टमित्र, साथीभाइ कतिपय अर्कै लोक गइसकेका छन् । केही समय र वर्ष पछि म पनि यस्तै गरी यो मुलुकबाट बिदा लिन्छु । हाम्रो जीवन यो मुलुकमा यस्तै गरी सिद्धिन्छ ।

धेरै कुराको सन्दर्भमा विचार गरिदा मलाई हाम्रो मुलुक र मुलुकवासी एक किसिमले रहस्यमय पनि लाग्दछ । अरु एशिया र युरोपका कतिपय मुलुकको तुलनामा हाम्रो बिकासको गति अति कम, अब्यवस्था र अत्याचार अति बढी, सरकार सदा आफ्नै दल र समूह स्वार्थमा केन्द्रीत तर जनता अति सहनशील र अन्याय र अत्याचार सहन अति निपूण देखिन्छन् । यो पनि एक किसिमको रहस्य नै हो ।

देशको लागि प्राप्त सहयोग रकम देश र जनताको कल्याणको लागि प्रयोग नगरी आफू, आफनै परिवार, आफ्नै समूह, दलको लागि भ्रष्टाचार र दुरूपयोग गर्ने कुनै पनि मुलुक र सो मुलुकको सरकारलाई कुनै पनि किसिमले समर्थन र सहयोग नगर्ने सवै सहयोगी मुलुकहरूको एक किसिमको घोषित नीति देखिन्छ । नेपालमा असह्य अनगिन्ति भ्रष्टाचार भइरहेको कुरा ट्रान्सपरेन्सी इण्टरनेशनल जस्तो संस्थाले औल्याए पनि बा भूटानी शरणार्थी भ्रष्टाचार काण्ड जस्तो थरी थरीका धेरै धेरै भ्रष्टाचार काण्डहरू हाम्रै पत्रपत्रिका, अखवारहरूले बाहिर ल्याएपनि यो मुलुकको कुनै पनि भ्रष्ट सरकारले पनि उस्तै सहयोग पाइरहेको हामी सबैलाई अनुभव छ । यसमा सुधारको लागि कुनै पनि मुलुकको सभ्य सरकारले दबाव दिएको देखिन्दैन । यो पनि यो मुलुकको रहस्यनै हो । यसको कारण के होला ? बुझ्न सजिलो छैन ।

२०८२ भाद्र १५ गते अगाडि सम्म हाम्रो मुलुकमा झण्डै झण्डै दुईतिहाईको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस पार्टीको सरकार थियो । गत २०८२ भाद्र २३ र २४ का दिन जिन्दगीमा धेरैले सोचे भन्दा धेरै बढी अकस्मात अकल्पित अनौठो आन्दोलन भयो । अब्यवस्था, अन्याय, अत्याचार, भ्रष्टाचार, प्रजातन्त्र नभई दलीयतन्त्र र दलीय तानासाही बिरुद्ध मात्र होइन षड्यत्रपूर्ण तरिकाले जनइच्छा बिरुद्ध मुलुकमा लादिएको सम्विधान र व्यवस्था बिरुद्ध यो बिद्रोह भएको भन्ने धेरैले सम्झे । मुलुकमा ७५ जना भन्दा बढि सहीद भएको, मुलुक र जन कल्याणको लागि हुनैनहुने सिंहदरवार, सभागृह, न्यायालय लगायत सरकारी कार्यालय भवनहरु र अन्य निजी भवनहरु समेत जली जलाई नच्ट ( नष्ट ) भएको भएपनि यसबाट  ठूलो परिवर्तन आई मुलुकमा जनकल्याणकारी व्यवस्था मुलुकमा स्थापना हुन जाने आशा धेरैमा हुन गयो ।

 तर हाल मुलुकमा देखिएको परिस्थिति हेर्दा यो विद्रोह कस्ले गराएँ ? कसले गरे ? यसको पछाडि को को थिए ? यसको उद्देश्य र अभिप्राय के के थिएँ ? यो मुलुक र जनताको भलाइको लागि भएको होकि ? मुलुक र जनताको कुभलो लागि भएको ? भन्ने समेत अस्पष्ट र रहस्यपूर्ण हुन गएको देखिन्छ । हाम्रो इतिहासको कोतपर्व, भण्डारखाल पर्व र राजा वीरेन्द्र र राज परिवारको हत्या काण्ड भन्दा यो रहस्यमय  हुनगएको म महसूस गर्छु । यी सबै कुराहरु र अन्य कतिपय यस्तै घटनाहरू सम्झिदा हाम्रो मुलुक एक अकल्पित रहस्यमय मुलुक नै हो कि ? भन्ने मलाई लाग्छ । यसैले यी सबै रहस्यको सन्दर्भमा आगामी चुनाबमा पनि यहाँका जनताले सबभन्दा भ्रष्ट, अब्यवस्थाको नाइके दलाल लाईनै सत्तामा पु¥याए भने अनौठो मान्नु पर्दैन ।
narayanshanti70@gmail.com