Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राजतन्त्र पनि राजनीतिक शक्ति हो, स्विकारौं

०८ शुक्रबार , फाल्गुण २०८२११ घण्टा अगाडि

राजतन्त्र पनि राजनीतिक शक्ति हो, स्विकारौं

दलहरूको स्वार्थन्धताले देशको हालत चिन्ताजनक भइसकेको छ । राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक सबै दृष्टिकोणले शासन प्रशासन लथालिङ्ग भइसकेको छ । यो सबै देखेका र भोगेका पूर्वराजाले संवाद, सहमति र सहकार्यको आह्वान गरिरहेको दशकौं भइसक्यो । पार्टीहरूले कानमा तेल हालेर बस्दा अराजकता बढ्दो छ । आफू सच्चिन र अवस्था सच्याउन पनि नसक्ने, पूर्वराजाको आह्वान पनि अस्वीकार गर्दा स्थिति भयावह बन्दै गइरहेको देखिन्छ ।
लोकप्रियताको हिसावमा पोहर फागुनमा पोखराबाट फर्कदा मात्र होइन, अस्ति फागुन १ गते पूर्वराजा झापाबाट फर्कदा पनि एयरपोर्टदेखि निर्मल महाराजगञ्जसम्म जनताको भीड देखियो । थाम्नै नसक्ने यो भीड लोकप्रियताको आधार हो । यसको अर्थ राजतन्त्र पनि राजनीतिक शक्ति हो । स्वीकारौं । र, बिग्रदो हालत सुधार्न सबै मिलेर अघि बढौं, स्थिरता ल्याऔं ।
पार्टी नेताहरूका भ्रमित पार्ने कुरा धेरै भयो, गलत सावित भइसक्यो । जनताले पत्याउने छैनन् । किनकि जनयुद्ध र जनआन्दोलनपछि ०६३ सालमा जुन परिवर्तन आयो, त्यो परिवर्तन आएको २० वर्ष भइसक्यो । ०७४ र ०७९ मा दुईपल्ट आवधि चुनाव पनि भयो । हिन्दुधर्म फालेर धर्मनिरपेक्षता र संघीय गणतन्त्र पनि लागू गरियो । यी सबै परिवर्तनपछि पनि देश र जनताप्रति जवाफदेही कोही भएनन् । जता हेरे पनि भ्रष्टाचार बढेको छ । गत भदौ २३ र २४ गते गणतान्त्रिक सत्ताले ७६ जना जेनजी पुस्ताको ज्यान लियो । यो घटना राजनीतिक नीति, नैतिकता, सिद्धान्त, विचार सबैको पतन हो । ७६ जना मारिनु, सयौंमाथि अंगभं हुनेगरी दमन गरिनु, कोही जवाफदेही नहुनु । संसारको कुनै व्यवस्था र कुनै राजनीतिक नेतृत्व यतिसम्मको अकर्मण्य हुनैसक्दैन ।
केही समयअघिमात्र श्रीलंकामा यस्तै नेतातन्त्रले लुटतन्त्र चलायो । परिवारवाद र मनपरीवाद चलायो । बाध्य भएर जनताले विद्रोह गरे, नेताहरूलाई ज्यान जोगाउनै धौधौ भएको देखियो । बंगलादेशमा पनि यस्तै भयो ।
जनता जागेपछि नेतातन्त्रले लुक्ने, बाँच्ने मौका पाउन पनि मुस्किल हुनेरहेछ । चुनाव गराएर श्रीलंका तङ्ग्रिन थालेको छ । बंगलादेशमा चुनाव भयो, जनताले परिवर्तन चाहे । फागुन २१ मा नेपालमा पनि चुनाव हुँदैछ, नयाँ नयाँ भनेर लहर चलेको छ । समयको आहट नबुझ्ने र स्वार्थन्ध भएर राजनीति गर्नेको नतिजा दयनीय हुन्छ । दक्षिण एसियाकै त्यो दृष्टान्तबाट नेताहरूले सबक सिकेनन्, अब जनताले सवक सिकाउने अवसर आएको छ । हेरौं, नेपाल जनमानसले कस्तो चुनावी परिणाम देलान्, भ्रष्टहरूको कुन हालत होला । सुशासनको जग बस्ला कि नबस्ला ? 
पञ्चायतलाई खराव भनियो, सबै बिकृतिको जड राजतन्त्र भनेर भ्रम फैलाइयो । आज राष्ट्र असफलताको भीरमा पुगिसकेपछि जेनजी बिद्रोह भयो र सिङ्गो मुलुक जागेको स्थिति छ । खरावी व्यवस्थामा होइन रहेछ, नेतृत्व अपराधमा मुछिन थालेपछि देशले महगो मूल्य चुकाउनु पर्नेरहेछ, जनताले कष्ट र छटपटीमा बाँच्नुपर्ने रहेछ । यसकारण गणतन्त्र र स्थापित नेता देशका लागि सराप सावित भइसकेका छन् ।
३७ वर्षको बहुदल र २० वर्षको लोकतान्त्रिक गणतन्त्र हाँकेका कुनै पनि नेता विश्वासयोग्य रहेनन् । यतिमात्र होइन, राज्यव्यवस्था नै संलग्न भएको नागरिक निर्यात गर्ने अपराधी यिनै हुन् र यिनलाई दण्ड दिनुपर्छ भनेर जनता चिच्याउन थालेका छन् । स्वार्थका लागि फौजदारी अभियोगमा समेत माफी दिने कार्य गरे यी नेताहरूले । आफ्ना गल्ती कमजोरी लुकाउन हरेक गणतान्त्रिक नेताले भ्रम छरिरहे– राजतन्त्रले देश कंगाल पारेको थियो, गणतन्त्रमा विकास र समृद्धि ल्यायो । यो कस्तो समृद्धि हो, ३ करोड जनसंख्यामा ८० लाख युवा रोजीरोटीका लागि विदेशीनुपर्छ ।
यस्त नेतृत्वले देश कसरी शान्ति, समृद्धि र सुशासनयुक्त हुन्छ ? सबैलाई थाहा छ, राजतन्त्रका बेलामा ५ हजार विदेशीएका थिए, वैदेशिक ऋण अरवमा थियो । आज ३२ खर्ब बैदेशिक ऋण पुगेको छ । १२ कक्षा पढ्ने हरेक विद्यार्थीको सपना छ, विदेश जाने । अध्ययन गर्ने, करियर बनाउने, कमाउने र घरपरिवार पाल्ने । यस्तो गणतन्त्रलाई सफल भन्ने यी कस्ता नेता हुन् ? राजतन्त्र पनि राजनीतिक शक्ति हो, यो शक्तिलाई किनारा लगाएर स्थिरता, शान्ति र समृद्धि सम्भव नै छैन, सबैमा चेतना भया ।