
काठमाडौं उपत्यकासँगै जोडिएको जिल्ला हो, काभ्रेपलाञ्चोक । काठमाडौंबाट केही घण्टाको यात्रामा काभ्रेपलाञ्चोक पुगिन्छ । विडम्बना, देशको संघीय राजधानीसँगै जोडिएको जिल्लाको अवस्था दयनीय छ । काभ्रेपलाञ्चोकमा दुई निर्वाचन क्षेत्र छ । लाखौंको बसोबास रहेको दुवै क्षेत्रका मतदाताले विकास हुने आशले पटकपटक मतदान गरे ।
आफ्नो प्रतिनिधि चुनेर सदनमा पुर्याए । तर, जनप्रतिनिधिहरु चुनाव जितेपछि जनतामुखी भन्दा पनि आफूमुखी हुँदा जनताले परिवर्तनको महसुश गर्न सकेका छैनन् । आधारभूत आवश्यकताबाटै जनता वञ्चित छन् । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउँदैछ ।
यसपटकको निर्वाचनमा देश र जनताका लागि काम गर्ने प्रतिनिधि चुन्ने काभ्रेका मतदाताहरु बताइरहेका छन् । दर्जनौं उम्मेदवारले उम्मेदवारी दिँदा काम गर्नेचाँहि को हुन सक्छन् ? मतदाता अलमलमा छन् । मतदाताले मौका दिएमा आफूले प्रमाणित गरेर देखाउने काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश थापा बताउँछन् ।
‘ठेकी’ चुनाव चिन्हका थापा जनतालाई निराश गराउने काम कहिल्यै नहुने दाबी गर्छन् । भुम्लु गाउँपालिका–२, सिम्थलीका ३० वर्षीय थापा लामो समयदेखि पत्रकारितामा आबद्ध थिए । जनताका समस्या राम्रोसँग बुझेका उनका अनुसार ती समस्या समाधान नै उनको प्रमुख एजेण्डा हो ।
भन्छन्,’पत्रकारितामा हुँदा जनताको समस्या धेरै उठाइयो । ती समस्या समाधान गर्न र जनताको आवाज सशक्त भएर सरकारको कानमा पुर्याउन मैले उम्मेदवारी दिएको हुँ ।’ देश बनाउने हुटहुटी बोकेर राजनीतिमा आएका तिनै थापासँग गरेको कुराकानीको संक्षिप्त अंशः
पत्रकारिता र राजनीतिलाई एक सिक्काको दुई पाटा भनिन्छ । पत्रकारिताबाट जनताको आवाज उठाइरहनुभएको तपाईँले किन राजनीति रोज्नुभयो ?
तपाईँले भन्नुभएको ठीक हो । पत्रकारिता र राजनीति दुवै सेवा हो । पत्रकारिताबाट मैले लामो समयसम्म जनताको समस्या उठाए । तर, त्यसको सरकारबाट प्रभावकारी रुपमा सुनुवाई भएजस्तो लागेन । जनता हरेक पाइलामा पीडित छन् । तर, सरकार जनताप्रति उत्तरदायी देखिँदैन ।
जनताको पीडा र समस्यालाई सरकारले अनदेखा गरिरहेको छ । पत्रकारिता गर्ने क्रममा मैले एउटा कुरा के बुझे भने पत्रकारले आवाज उठाउँछ, समस्या देखाउँछ । त्यो आवाज सुन्ने र समस्याको समाधान गर्ने सरकारमा बस्नेहरुले हो । तर, सरकार आफ्नो जिम्मेवारीबाट भागेपछि म राजनीतिमा आएको हुँ ।
जनताको समस्या समाधानका लागि मैले आफूबाट हुनसक्ने हरेक प्रयास गर्छु । म ठूला कुरा होइन, काम गरेर जनतालाई प्रमाणित गरेर देखाउनेछु । अहिले राजनीतिप्रति जनताको जुन अविश्वास छ, त्यो आफ्नो काममार्फत हटाउन म लागिरहनेछु । मैले हिजोपनि देश र जनताको आवाज उठाए, भोलिका दिनमा त्यसलाई झन् सशक्त रुपमा निरन्तरता दिनेछु ।
यसपटकको निर्वाचनमा धेरै युवा होमिनुभएको छ । तर, युवाहरुको राजनीति दीर्घकालीन छैन भन्ने आरोप छ । तपाईँ यसलाई कसरी चिर्नुहुन्छ ?
म आफैंपनि युवा हुँ । देश र जनताका लागि केही गर्नुपर्छ भन्ने इच्छाशक्ति र ऊर्जा लिएर म राजनीतिमा होमिएको छु । मसँग काम गर्ने भिजन, क्षमता, दक्षता छ । अहिले मैले राजनीतिमा आफ्नो कदम राखे । अब मेरो यो कदम पछि हट्नेवाला छैन । भदौ २३ र २४ गतेको आन्दोलन पनि राजनीतिमा युवाको सक्रियता हुनैपर्छ भनेर भएको थियो । त्यसपछि राजनीतिमा युवाहरु आउनुभएको छ । त्यसैले युवाहरुको राजनीति दीर्घकालीन छैन भन्नु भ्रम फैलाउनु मात्र भएकोजस्तो लाग्छ ।
काभ्रे–२ मा राजनीतिक दलबाट हेभिवेट उम्मेदवार उठ्नुभएको छ । तपाईँले उहाँहरुलाई हराउन सक्नुहुन्छ ?
मैले मतदाताहरुको कुरा सुन्दा, बुझ्दा उहाँहरुलाई हेभिवेट उम्मेदवार होइन, काम गर्ने उम्मेदवार चाहिएको छ । जसले काम गर्न सक्छ, उसैलाई मतदान गर्ने पक्षमा हुनुहुन्छ, मतदाताहरु । यसपटकको निर्वाचनमा उहाँहरुले पार्टी हेर्नुभएको छैन । आफू जुनसुकै पार्टीको भएतापनि त्यो बिर्सिएर काम गर्नेलाई छान्ने उहाँहरुको भनाइ छ । मलाई उहाँहरुमाथि विश्वास छ ।
मतदाताले तपाईँलाई किन मतदान गरेर जिताउने ?
मतदाताले मतदान गरेर मलाई होइन, आफैंलाई जिताउने हो । आफ्ना समस्या बुझिदिने, दुःखमा साथ दिने, सशक्त आवाज उठाइदिने, विकास गरिदिने उम्मेदवार पाउनु मतदाता आफैं जित्नु हो । यसपटकको निर्वाचन उम्मेदवार होइन, मतदाता जित्ने निर्वाचन हो । मतदाताले सही र इमान्दार नेतृत्व चुनेर आफूलाई जिताउनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।
तपाईँको चुनावी एजेण्डा के छ ?
मैले जति मतदाताको कुरा सुने, त्यसबाट एउटा विषय के प्रष्ट भयो भने उहाँहरुको ठूलो आशा–अपेक्षा केही छैन । गाउँमै बस्ने वातावरण सिर्जना होस्, छोराछोरीलाई विदेश पठाउन नपरोस्, यहीँ रोजगारीको व्यवस्था मिलोस् । संविधानमा लेखेका मिठा धाराहरु वास्तवमै कार्यान्वयन होस् भन्नुहुन्छ, उहाँहरु ।
गाउँ रित्तिँदै गएकोमा उहाँहरु एकदमै चिन्तित हुनुहुन्छ । उहाँहरुले राख्नुभएको दुःखेसोहरु सम्बोधनका लागि मेरो प्रयास निरन्तर जारी रहनेछ । अर्को कुरा, म सांसद निर्वाचित भएमा सरकारले दिने तलब–भत्ता यहीँ क्षेत्रको विकासमा खर्चिनेछु । जनताले आफ्नो सुःखदुःखमा सँधै मलाई पाउनुहुनेछ ।
जनताबाट भागेर होइन, जनतासँगै बसेर मैले आफ्नो जिम्मेवारी पुरा गर्नेछु । कुरा होइन, कामबाट मैले आफूलाई प्रमाणित गरेर देखाउनेछु ।
भनिन्छ, चुनाव लड्न धेरै खर्च लाग्छ । तपाईँले कसरी जुटाइरहनुभएको छ ?
म पेशाले पत्रकार हो । तपाईँपनि पत्रकार नै हुनुहुन्छ, पत्रकारको तलब, सेवासुविधा कस्तो हुन्छ भन्ने जानकारी तपाईँलाई छँदै छ । म पैसा लिएर होइन, आफ्नो बुद्धि, विवेक, क्षमता लिएर मैदानमा उत्रिएको छु । मतदाताले आर्थिक हैसियत होइन, काम गर्ने क्षमता हेरेर मतदान गर्नुहुने हो ।
मसँग अन्य उम्मेदवारजस्तो चुनावमा खर्च गर्न पैसा नभएपनि काम गर्ने क्षमता छ । पढेलेखेको छु, स्पष्ट भिजन छ । राजनीतिमा मैले सबैभन्दा अभाव भिजनको देखेको छुँ । जुन मसँग छ । मतदाताले कुन उम्मेदवारले कति खर्च गर्यो भनेर नभई कतिको क्षमतावान छ ? भनेर उम्मेदवार चुन्ने हो । त्यसैले म ढुक्क छु ।
सबै उम्मेदवार चुनावी प्रचारप्रसारमा केन्द्रित हुनुहुन्छ । तपाईँको प्रचारप्रसार कसरी भइरहेको छ ?
प्रायःजसो उम्मेदवार अहिले घरदैलोमा हुनुहुन्छ । मतदाताको घरदैलोमा पुगेर उहाँहरुले भोट माग्ने काम गरिरहनुभएको छ । तर, मचाँहि मतदाताका समस्या सुन्नमा बढी केन्द्रित छु । उहाँहरुले मलाई समस्यासँगै सुझाव दिइरहनुभएको छ । युवाले आँट गरेकोमा उहाँहरु निकै नै खुशी हुनुहुन्छ । उहाँहरुको सल्लाह, सुझावले मलाई थप हौसला प्रदान गरेको छ ।
निर्वाचित हुनुभएमा संसद्मा तपाईँको भूमिका कस्तो रहनेछ ?
मैले भन्दै आएको छु कि म पदको लोभमा राजनीतिमा आएको होइन । म त देश र जनताको सेवा गर्न राजनीतिमा होमिएको हुँ । मेरो लक्ष्य प्रष्ट छ–जनमुखी कानुन निर्माणमा सक्रियता, जनताको सेवा र समस्या उठान । मलाई निर्वाचित भएपछि मन्त्री पद चाहिएको छैन । देश र जनताको आवाज उठाउने ठाउँ मात्रै चाहिएको हो ।
मतदाताले ममाथि विश्वास गरेर सदनमा पठाउनुभयो भने म प्रतिपक्षमा बसेर उहाँहरुको आवाज उठाइरहनेछु । सदनमा मेरो भौतिक उपस्थिति भएपनि आवाज सँधै उहाँहरुको हुनेछ ।
निर्वाचित भएपछि जनप्रतिनिधिहरु हराउने परिपाटी छ । तपाईँबाट पनि त्यस्तै पो हुने हो कि ?
मबाट कदापि त्यस्तो हुनेछैन । मैले अघि भने नि जनताले सुःख–दुःखमै मलाई आफूसँग पाउनुहुनेछ । चुनावमा भोट माग्न घरदैलो गर्ने र जितेपछि हराउने परिपाटीले जनता निराश हुनुहुन्छ । म त चुनाव जितेपछि पनि घरदैलो गरिरहनेछु, उहाँहरुको समस्या बुझ्न, सुझाव सुन्न ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
म मतदातालाई यति भन्न चाहन्छु कि उहाँहरुले मलाई दिनुभएको मत खेर जान दिने छैन । मबाट उहाँहरुलाई कहिल्यै निराश पार्ने काम हुने छैन । तपाईँले मलाई आफ्नो कुरा जनतामाझ राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद ।


