
तिब्बती बौद्ध धर्मगुरू जोनाङ ग्याल्त्साब रिन्पोछे १० दिनका लागि नेपाल आएको, बौद्धमा प्रवचन दिएको, अन्य आपत्तिजनक कृयाकलापमा संलग्न भएको भन्दै राजनीतिक र कूटनीतिक बृत्तमा नेपालबाट चीनविरोधी गतिविधि बढेको भनेर तातेको छ । चिनियाँ दूतावासले कूटनीतिक जोल्ट दिएको छ । रिम्पोछेको नेपाल आगमनलाई लिएर चीन निकट र चीन अध्ययन केन्द्रले नेपालको एकचीन नीतिमाथि प्रहार भएको र नेपालमा थप राजनीतिक संकट घनिभूत हुनसक्ने भनेका छन् ।
डोल्पा समाजका अध्यक्ष टासी फोन्चो गुरूङको निम्तोमा दलाई लामाका विश्वासपात्र मानिने धर्मगुरू रिम्पोछे १८ माघमा सुरू हुने १० दिने प्रवचनमा सहभागी हुन माघ १५ गते नेपाल आएका थिए । उनलाई नेपाल सरकारले उच्च सुरक्षा र राजकीय सम्मान, सत्कार दिएको थियो । किन दियो ? चीन र चीनपक्षीहरूको प्रश्न यही हो । चीनको प्रतिनिधि नेपाल आयो र चिनियाँ दूतावासले पनि परराष्ट्र मन्त्रालयमा चासो राख्यो । तथापि नेपाल सरकारले चुप्पी तोडेको छैन । डोल्पा समाजले गुरूले प्रवचन दिनु सामान्य कुरा हो भन्दै प्रवचन सकिएपछि मात्र रिम्पोछे फर्कनुहुने जानकारी दिएको छ ।
विभिन्न पार्टीहरूका अनुसार धर्मगुरू रिम्पोछेको नेपाल भ्रमण अस्वभाविक हो । चीनसँग बिबाद बढाउन पश्चिमाको चाल हो भनेर टिप्पणी गरेका छन् । माओवादी प्रचण्डका सहयोगी झलनाथ खनाल र पूर्व माओवादी हालका एमाले नेता रामबहादुर थापाले ‘संवेदनशील मामिला’ भनेर कडा बिरोध प्रकट गरेका छन् । यो घटनाले राजनीतिक र नेपाल चीन सम्बन्धमा गम्भीर असर गर्ने बताएका छन् ।
चीनपक्षीय नेता, मिडियाहरूले लेखेका छन्– यो घटनाले चीन उत्तेजित भएको छ, चिनियाँ विद्वानले नेपालको नीतिको विरोधमा लेखेका छन्, नेपालले माफी माग्ने कि परिणाम भोग्न तैयार हुने भनेर चीनका राष्ट्रपतिको हवाला दिंदै नेपाललाई थर्काएको सुनिन्छ ।
१९७० मा जन्मेका जोनांग ग्याल्तसाव रिम्पोछेको असली नाम तुल्कु चोकी नाङ्पा रिम्पोछे हो, उनी १९९३ देखि भारतमा बस्ने गरेका छन् । उनी भारतको गान्देन गुम्बा विश्वविद्यालयबाट शिक्षित र दलाई लामाबाट दीक्षित गुरू हुन् । अहिले दलाई लामा बसेको धर्मशालास्थित कालचक्र केन्द्रमा प्रवचन दिन्छन्, यूरोप, अमेरिका, ताइवानमा प्रवचन दिन गइरहन्छन् र अहिले नेपाल आएका हुन् ।
गत भदौ २३, २४ को जेनजी आन्दोलनमा टीओवीको ज्याकेटधारी तिबेतियन देखिएका थिए । भदौ २७ गते सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेपछि पहिलो र ऐतिहासिक बधाई भारतको धर्मशालाबाट दलाई लामाले पठाएका थिए । दलाई लामाका विश्वास पात्र गुरू प्रवचन दिने नाममा आएका हुन् । यसकारण रिम्पोछेको नेपाल भ्रमणले राजनीतिक र कूटनीतिक बृत्तमा हलचल ल्याएको छ ।
नेपाल सरकारले माघ १ गते मन्त्रिस्तरीय निर्णयमार्फत बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्ष पदमा समिति गठन आदेश २०७५ विपरित बोन धर्मका गेशे निमा कुन्क्याप रोकाय उर्फ (प्जभलउय ल्थष्mब प्गलपजथबदय) लाई नियुक्त गरेपछि चीनपक्ष सशंकित नेपाल बौद्ध महासंघले बिरोध जनायो र केही दिनमै यिनैलाई स्वीकार गर्ने सहमति हुनलागेको प्रकरणमा लेनदेनको कुरा चुहियो । बौद्ध महासंघको नैतिक हैसियत, विश्वसनीयता विपरितको यो घटनाले बौद्ध समुदाय स्तब्ध भएको सुनिन्छ । अहिले बौद्ध समुदायमा दलाई लामासँगै उच्च धार्मिक अध्ययन गरेका डोल्पाका खेन्पो कुन्ख्याप ५ करोड खर्च गरेर पदासीन भएको चर्चा व्यापक छ । कुन्ख्यापमाथि तिब्बतबाट भगाएर ल्याइएका तिब्बतीलाई धर्मशालासम्म पुर्याउने, मानवअधिकार लगायतका कभरमा डोल्पाबाट चीनको तिब्बतको सिमावर्ती क्षेत्रमा जासुसी गर्न जानेलाई बन्दोबस्त मिलाउने, बाटो देखाउने र पश्चिमासँग गठजोडमा सक्रिय रहेको थप आरोप पनि लाग्ने गरेको छ । तष्दभततष्mभक।लभत मा जनवरी १५ मा यो समाचारले प्रमुखता पाएपछि यो नियुक्त अन्तर्राष्ट्रियकरण भइसकेको छ ।
एकचीन नीति र तिब्बतको विषय चीनका लागि प्रमुख सुरक्षाचासो हो भने नेपालका लागि सन्तुलन राख्नैपर्ने महत्व पनि हो । तिब्बती शरणार्थी समस्या, धार्मिक आस्था र संस्थाका निर्णयहरूले चीनलाई अप्ठेरोमा पार्ने खालको भएपछि अन्तरिम सरकार चीनविरोधी कृयाकलापमा लागेको देखिन्छ । नेपाल सरकारका निर्णयमा पश्चिमाको प्रभाव देखिनु र नेपाल चीन सम्बन्ध धुमिल पार्न खोज्ने विदेशीको स्वार्थ पूरा होला, नेपाललाई कूटनीतिक र अन्य सम्बन्ध कमजोर बाहेक केही हुनेछैन ।
नेपाल असंलग्न, पञ्चशीलमा आधारित सन्तुलित विदेशनीति अपनाउने राष्ट्र हो । यस प्रकारका नीतिनिर्णयले नेपालको द्वैधचरित्र र विश्वसनीयतामा प्रहार गरेको छ । उत्तरतिर चीन र दक्षिणतिर भारतवीचको भूराजनीतिको संवेदनशीलतामा चुक हुनु भनेको चुकचुकाउनु पर्ने स्थितिको कारण बन्नपुगेको छ । नेपाल सरकारबाह्यशक्तिको लहैलहैमा यसैगरी गर्नु भनेको चौतर्फी संकट निम्त्याउनु हो ।
आवरणमा तिब्बती बौद्ध गुरू जोनाङ ग्याल्त्साब रिन्पोछेको काठमाडौं, चितवनमा आध्यात्मिक कार्यक्रम गरिएको छ । विश्व शान्ति पूजामा र विभिन्न गुम्बामा २२औँ विश्व शान्ति पूजा तथा साङ्गे मेलाको वाङ (अभिषेक) मा सहभागी हुनेछन् । उनी भारतको हिमाचल प्रदेशस्थित पालपुङ लुङ्रिग जाम्पाल लिङ उच्च तिब्बती बौद्ध विद्यालयका प्रमुख हुन् । आज फेब्रुअरी १० मा कोपन ननरी गुम्बामा क्याब्जे खेन रिन्पोछे गेशे थुप्तेन छोएनीबाट तारा दीक्षा प्रदान गरिनेछ । शुभ चमत्कार महिना (छोत्रुल दावा) को अवसरमा पाल थुब्तेन शेद्रुब लिंग मठमा कांग्युर डाक्ड्रोक पठन र १० करोड शाक्यमुनि मन्त्र संचय (मुनी डंग ड्रुब) कार्यक्रम भइरहेको छ । तर भित्र दलाई लामाको चीनविरोधी गतिविधि के के भइरहेको छ, यसबारे धेरैले रहस्यमय भनिरहेको सुनिन्छ ।
(नोट ः १४ औँ दलाई लामाको उत्तराधिकारी छनोटको विषय पेचिलो बन्दै गएको छ । सन् १९५९ मा चीनले तिब्बतलाई पूर्ण नियन्त्रणमा लिएपछि २४ वर्षीय तिब्बती बौद्ध धार्मिक नेता दलाई लामा भागेर भारत पुगेका थिए, भारतमै छन् । उनले भारतबाटै निर्वासित सरकार चलाएका छन् । गुरिल्ला युद्धबाट तिब्बतमा दलाई लामाको सत्ता स्थापना हुनसकेन । डेढलाख तिब्बती शरणार्थीहरूका साथ दलाई लामा फ्रि तिब्बतको बिद्रोहमा छन् ।) –१


