
पछिल्लो प्रचण्डको अभिव्यक्ति ‘घण्टी बज्दैमा केही हुन्न, विदेशी लगानी छ ।’ चीनका प्रतिनिधिसँग भेटपछिको यो अभिव्यक्तिलाई विश्लेषकहरुले अर्थपूर्ण मानेका छन् । स्वयम् माओवादी जनयुद्ध विदेशी लगानीमा भएको नबुझ्नेहरुलाई यो कुरा सत्य लाग्नसक्छ । नेपाली राजनीतिमा धेरै भ्रमहरु उदाङ्गिन थालेका छन् ।
एमालेलाई एकतावद्ध हुन आह्वान गरेका प्रचण्ड–माधव नेपालले चीनका दूतलाई भेट्नासाथ एकाएक हौसिन थालेका छन् । २०भन्दा बढी पार्टीलाई मिलाएर चुनावमा होमिएका प्रचण्ड–माधव आफ्नै पार्टीले बहुमत ल्याउने र सरकार बनाउने दावी गर्न थालेका छन् । डाइनामिक लिडरमा गनिएका तर चितवनबाट गोरखा हुँदै यो चुनावमा रूकुम पुगेका प्रचण्डले भनेका छन्– देश अझै संकटमा छ, दुर्घटना अझै टरिसकेको छैन, नेकपाले सरकार बनायो भने मात्र देशमा शान्ति र समृद्धि आउँछ । प्रचण्डकै शब्दमा ‘बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्छ । देशलाई अर्को खाल्टोमा जान नदिन हामीले जिम्मेवारी लिएका छौँ । त्यसैले वामपन्थी र राष्ट्रवादी शक्तिहरूलाई एकतामा ल्याएका छौँ ।’
प्रचण्डको दावी छ– जेनजी पुस्ताले पनि आफ्नो एजेन्डा पूरा गर्न सक्ने पार्टी नेकपा नै रहेको बुझिसकेको छ । देशभक्तहरू एकजुट होऊँ ।


