
परिवर्तनको लहरलाई रोक्न र बालेनलाई छिर्की लगाएर लडाउन एमालेका अध्यक्ष केपी ओलीले नयाँ धराप थापे– सार्वजनिक बहस गरौं ।
भावी प्रधानमन्त्रीका दावा गर्नेहरूवीच सार्वजनिक बहस गर्ने तुरूप फालेर एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन साहको मतदाता आकर्षणलाई समाप्त पार्ने चाल चलेको गन्ध आएको छ । ओलीको यही चाललाई नेपाली कांग्रेसका गगन उचाल्ने काँधका रूपमा रहेका विश्वप्रकाश शर्माले पनि टुँडिखेलमा सार्वजनिक बहस हुनुपर्ने विषयको उठान गरेका छन् ।
विश्लेषकहरू एमाले र कांग्रेसको सात्तो गएको अर्थमा हेर्दै स्वच्छ र स्वतन्त्र चुनाव बिथोल्न ओलीले सार्वजनिक बहस गरौं भन्ने नाममा धराप थापेको हुनसक्ने अनुमान गरेका छन् । यो प्रस्ताव आफैमा राम्रो हो तर बालेन र मधेसी समुदायमाथि हेट स्पिच दिइसकेपछि राखेको यो प्रस्ताव असल नियतले नआएको देखिन्छ ।
बालेन साहले स्टाटसमा जवाफ दिए–
– आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकैछ, हुन पनि नेताहरूको घर कता कता छन्, तपाईहरूलाई नै थाहा थियो ।
– तपाईहरूे आफै २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिं कहिले स्वीकार्ने हो ?
– त्यसपछि अरू कुरा गरौँला ।
– ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।
बालेन साहले यसरी अमेरिकी स्टाइलमा भावी प्रधानमन्त्रीका दावेदारवीच सार्वजनिक बहस गरौं भन्ने कांग्रेस, एमालेको प्रस्ताव अस्वीकार गरिदिएका छन् । ओलीले बहस गरौं भनेपछि बालेनले प्रश्न तेस्र्याएका छन्– ‘आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? अनि कुरा गरौला ।
केपी ओलीको सार्वजनिक बहसको लागि तैयार छु भन्ने भनाइले रास्वपाको र खासगरी बालेन साहको देशव्यापी रूपमा उर्लिएको क्रेजसँग तर्सिएको बुझ्न सकिन्छ । तर हत्यारासम्मको आरोप प्रत्यारोपले चुनाव अघि नै हिंसाको जोखिम बढाएको छ ।
ओलीले हेट स्पिच दिनुसम्म दिएपछि र जेनजी आन्दोलनमा मारिएका बालबालिकाप्रति जिम्मेवारी नलिएर गैह्रजिम्मेवार बनेपछि एकाएक भावी प्रधानमन्त्री घोषित भएकाहरूवीच सार्वजनिक बहसको कुरा किन उठाए ? बालेनलाई बोल्न ओलीले नै बाध्य पारेका हुन् । ओलीको बहस प्रस्ताव अघि ‘देश जलाउने र देश बनाउने’ ‘गुइँठा बाल्ने, फोहरी’ ‘भदौ २४ को विध्वंशको जिम्मेवार’ भनेर बालेनमाथि असभ्य, असंदीय कित्ताकाँट गरेका थिए । चुनावलाई देश बनाउने र जलाउनेवीचको प्रतिस्पर्धा भन्दै बालेनलाई जलाउने कित्तामा राखेको बुझ्न सकिन्छ । उनवै बालेनसँग सार्वजनिक बहसको प्रस्ताव गर्नु यसकारण पनि राजनीतिक चातुर्यता हो । पूर्वप्रम भइसकेका खारिएका भनिएका केपी ओलीले उम्मेदवारी दर्ता गराउनु पूर्व कान्तिपुरसँग भनेको रेकर्ड छ– दमक धनुषाजस्तो दुरावस्थामा छैन । गुइँठा बाल्ने कल्चरबाट आएको मान्छेले झापामा गुइँठा बाल्न सिकाउने कि के गर्ने हो ? ओलीले यसरी बालेनको व्यक्तिगत सामथ्र्य र निष्ठामाथि प्रश्न उठाए, मधेसी समुदायको संस्कृति र भावनामा चोट पु¥याए । ओलीजस्ता पाका नेताले मधेशलाई अपमान गरेको मधेशी कसैलाई पाच्य भएको छैन । यसकारण पनि ओलीले राखेको पश्चिमा सभ्य प्रचलनअनुसारको सार्वजनिक बहस बालेनले अस्वीकार गरेको हुनुपर्छ ।
बालेन काठमाडौंको मेयर हुँदा ओली प्रधानमन्त्री थिए । प्रम ओलीले बालेनलाई पाइला पाइलामा खेदे, काममा बाधा हाले । आफ्ना एसम्यान प्रशासकीय अधिकृत थोपरेर के के न गरेको देखाएका थिए । अहिले बालेन तिनै केपी ओलीसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्न सुर्रिएका छन् । यसलाई भनिन्छ, जिते हस्तिनापुरको राज, हारे चपरीमुनीको बास । बालेनले जिते विश्व समाचार, बालेनलाई काम गरेर जेनजी पुस्ताको एजेण्डा पूरा गर्ने अवसर, ओलीले चुनाव हार्नु भनेको उनको राजनीतिक जीवनको अन्त्य ।
बालेनले हिरो जसरी परिवर्तनको बाहक मै हुँ भन्ने शैलीमा झापा ५ प्रवेश गरे, पाथीभरामाताको दर्शन गरेर रास्वपाभित्रको केहीको धार्मिक अनास्थालाई पनि चिरेका छन् र पूर्वको प्रचार सकेर पश्चिमतिर हान्निएका छन् । बालेन प्रधानमन्त्री बन्न रास्वपाका देशैभरिका उमेदवार जिताउन अग्रसर भएका छन् ।
हुन त बालेनलाई अन्तरिम सरकारकै अफर थियो, यही चुनावमा उनी सुरक्षित अनेक क्षेत्रमा उठ्न सक्थे, उनले झापा ५ मा गएर ओलीलाई नै हराएर प्रधानमन्त्री बन्ने निर्णय गर्नु परिवर्तनका लागि उच्च राजनीतिक साहस गर्नुपर्छ भन्ने सन्देश पनि हो । बालेनले माघ ५ मा जनकपुरबाट चुनाव प्रचार सुरू गरे र मधेशको छौंरा (मधेशको छोरा) देशको प्रधानमन्त्री बन्न लागेको छ भनेर मत मागे । बालेनलाई निचा देखाउनकै लागि ओलीका दाहिने हात मानिएका महेश बस्नेतले लुसिफर पछि केको बच्चालाई छाउरा (कुकुर) भनिन्छ भनेर अपमान गरेर बोले । जसको प्रतिरक्षामा एमाले अध्यक्षले सार्वजनिक बहसको प्रस्ताव गरेको अर्थमा पनि हेरिएको छ । यो अभिव्यक्तिले एमालेप्रति मधेशमा आपत्ति र आलोचना ह्वात्तै बढेको छ । यद्यपि एमालेका मधेश इन्चार्ज रघुवीर महासेठले बस्नेतलाई क्षमायाचना नै गर्न लगाए ।
भोजपुरी र मैथैली भाषीमाथि एमालेले गरेको हेट स्पिचबाट मधेशमा बढेको आक्रोस शान्त भइसकेको छैन । आलोचना गरेकै पात्रलाई वाकपटुताबाट परास्त गर्न बालेनसँग बहस गर्न तैयार हुनु ओलीको राजनीतिक चतुरतामात्र हो । यद्यपि ओली चुनाव भन्दा संसद पुनस्र्थापित होस् भन्ने चाहन्छन् । कांग्रेसका सभापति शेरबहादुर कि गगन भन्ने मुद्दा पनि अदालतमै छ ।
विश्लेषक भन्छन्– चर्को कुरा गरेर उत्तेजित पार्ने र आफ्नो पक्षमा माहोल ढाल्न खोज्नु ओलीको शैली हो, जुन जेनजी आन्दोलनपछि बासी भइसकेको छ ।
यतिबेला चुनावी वातावरण बनाउनु सबै पार्टीको जिम्मेवारी हो । बुद्धिजीवी, प्रेसले पनि वातावरण संग्ल्याउन लाग्नुपर्ने जिम्मेवारी छ । निर्वाचन आयोग र सरकारले नेताहरूको विषालु र बिझ्ने असंदीय भाषामा खबरदारी गर्नुपर्छ । नेपाल अमेरिका वा बेलायत होइन, जहाँ बहसबाट राष्ट्रपतिको छवि देखिन्छ । नेपालमा शिक्षा र चेतना बिकसित समाजको स्तरमा पुगिसकेको छैन, त्यस्तो माँग किन ?


