Advertisement Banner
Advertisement Banner

१३ सोमबार, माघ २०८२9th January 2026, 2:05:00 am

Image

विश्वको बदलिँदो शक्ति–खेलले नेपालमाथि मडारिँदो खतरा

प्रेमसागर पौडेल

१३ सोमबार , माघ २०८२३ घण्टा अगाडि

विश्वको बदलिँदो शक्ति–खेलले नेपालमाथि मडारिँदो खतरा

विश्व आज अजीब चरणमा छ। द्वन्द्वको ताप झन् बढ्दो छ। सीमामा ट्यांक कम देखिन्छन्, तर समाजभित्र तनाव बाक्लिँदै गएको छ।

विश्वका शक्ति राष्ट्रहरू प्रत्यक्ष भिडन्तभन्दा पर सरेका छन्। उनीहरू अब भूगोल जित्नुभन्दा पहिले परिस्थिति बनाउने काम गर्छन्, समाजलाई अस्थिर बनाउने, विश्वास कमजोर पार्ने, र राज्यलाई आफ्नै नागरिकसँग टकरावको अवस्थामा पुर्‍याउने। यो रणनीतिमा न ध्वंस चाहिन्छ, न घोषणा। केवल निरन्तर दबाब, अनिश्चितता र डर पर्याप्त हुन्छ। यही मोडल अहिले संसारका धेरै देशमा देखिन थालेको छ, र दुर्भाग्यवश नेपाल पनि यसबाट अलग छैन।

नेपाल कुनै औपचारिक युद्धमा छैन। तर शान्ति पनि पूर्ण छैन। सतहमा हेर्दा लोकतन्त्र चलिरहेको छ, चुनाव भइरहेका छन्, सरकार फेरिइरहेका छन्। तर भित्री तहमा हेर्दा समाज ध्रुवीकृत, अविश्वासी र आक्रोशित हुँदै गएको छ। यही अवस्था कुनै पनि मुलुकलाई अस्थिर बनाउने सबैभन्दा उपयुक्त जमिन हो। इतिहास साक्षी छ, बाह्य हस्तक्षेप सधैँ कमजोर, विभाजित र अन्योलग्रस्त समाजमै सफल हुन्छ।

आज विश्वभर देखिएको साझा प्रवृत्ति के हो भने, राज्य र नागरिकबीचको सम्बन्ध कमजोर पारिँदैछ। नागरिक राज्यप्रति शंकालु छन्, राज्य नागरिकप्रति असुरक्षित। यो दूरी बढ्दै जाँदा राष्ट्रको आधार हल्लिन थाल्छ। नेपालमा पनि पछिल्ला वर्षहरूमा यही दूरी तीव्र रूपमा बढेको देखिन्छ। राज्यका संस्थामाथि अविश्वास, नेतृत्वप्रति निरन्तर आक्रोश, र असहमतिको भाषालाई शत्रुतामा रूपान्तरण गर्ने प्रवृत्ति, यी सबै अस्थिरताको पूर्वसंकेत हुन्।

चुनाव, जुन लोकतन्त्रको उत्सव हुनुपर्ने हो, अहिले द्वन्द्वको अभ्यास जस्तो बन्दै गएको छ। विचार र नीतिको प्रतिस्पर्धा घट्दै गएको छस त्यसको सट्टा आरोप, चरित्रहत्या र भावनात्मक ध्रुवीकरण बढ्दै गएको छ। चुनाव जित्नु भनेको अब सहमति बनाउनु होइन, अर्को पक्षलाई पूर्ण रूपमा हराउनु जस्तो बुझिन थालेको छ। यही मानसिकता युद्धको हो, जहाँ लक्ष्य जित मात्र हुन्छ, क्षति कति भयो भन्ने हिसाब हुँदैन।

नेपालको सन्दर्भमा यो प्रवृत्ति झन खतरनाक छ, किनकि यहाँ सामाजिक बनावट आफैँ संवेदनशील छ। जात, क्षेत्र, वर्ग, पुस्ता र विचारका रेखाहरू पहिल्यै छन्। जब राजनीति ती रेखाहरूमा खेल्न थाल्छ, समाज चिरिन्छ। यो चिरा बाहिरबाट सिर्जना गरिएको हुनै पर्दैनस आन्तरिक प्रतिस्पर्धा नै पर्याप्त हुन्छ। बाह्य शक्तिहरू त केवल त्यो चिरामा औँला हाल्छन्।

विश्वपरिस्थितिले नेपाललाई अझ संवेदनशील बनाएको छ। ठूला शक्ति राष्ट्रहरूबीचको तनाव, आपूर्ति सञ्जालको अस्थिरता, आर्थिक दबाब र सुरक्षा चासो, यी सबैले साना मुलुकलाई रणनीतिक रूपमा कमजोर बनाउँछन्। यस्तो अवस्थामा आन्तरिक एकता नै सबैभन्दा ठूलो ढाल हो। तर जब आन्तरिक राजनीति नै विभाजनको इन्धन बन्छ, तब देश नचाहँदा नचाहँदै द्वन्द्वतर्फ उन्मुख हुन्छ।

अझ चिन्ताजनक कुरा के हो भने, अहिलेको अस्थिरता कुनै एक घटनाबाट होइन, निरन्तर थोरै–थोरै गरेर निर्माण हुँदैछ। आज कडा भाषा, भोलि सामाजिक बहिष्कार, पर्सि संस्थामाथि अविश्वास, यी सबै साना देखिने तर गहिरो असर पार्ने प्रक्रियाहरू हुन्। युद्ध पनि यस्तै सुरु हुन्छ, अचानक होइन, क्रमशः। जब मानिसले अर्को विचार सुन्नै नचाहने अवस्था बनाउँछन्, जब संवादको ठाउँ घृणाले लिन्छ, तब बन्दुक उठ्नुअघि नै समाज हारिसकेको हुन्छ।

नेपालले यसअघि सशस्त्र द्वन्द्व भोगेको छ। त्यसको मूल्य हामीले ज्यान, समय र सम्भावनाले चुकायौँ। त्यसैले आज देखिन थालेका संकेतहरूलाई सामान्य राजनीतिक झगडा भनेर बेवास्ता गर्नु आत्मघाती हुनेछ। अहिले देखिएको अस्थिरता हतियार विहीन द्वन्द्व हो, जसले समाजलाई थकित बनाउँछ, नागरिकलाई निराश बनाउँछ, र राष्ट्रलाई दिशाहीन।

देशभक्तिको अर्थ यहीँबाट स्पष्ट हुन्छ। देशभक्ति कुनै दल, कुनै नेता वा कुनै विचारको अन्धसमर्थन होइन। देशभक्ति भनेको राष्ट्रलाई द्वन्द्वबाट जोगाउने चेतना हो। जब चुनावी प्रतिस्पर्धा द्वन्द्वको अभ्यास बन्न थाल्छ, तब देशभक्ति भनेको संयम अपनाउनु हो, शब्दमा, व्यवहारमा र निर्णयमा।

नेपालले आज युद्ध रोजेको छैन। तर युद्धतर्फ जाने बाटो रोजिँदैछ कि छैन भन्ने प्रश्न गम्भीर छ। त्यो बाटो सधैँ बाहिरबाट देखिँदैन । प्रायः भित्रैबाट सुरु हुन्छ, अविश्वासबाट, ध्रुवीकरणबाट, र असहिष्णुताबाट। यदि यही क्रम जारी रह्यो भने, नेपाल कुनै औपचारिक युद्धमा नफसे पनि स्थायी अस्थिरताको बन्दी बन्न सक्छ।

यसको विकल्प अझै बाँकी छ। विकल्प भनेको संवाद पुनर्जीवित गर्नु हो, असहमतिको अधिकारलाई सम्मान गर्नु हो, र चुनावलाई युद्ध होइन, समाधान खोज्ने प्रक्रिया बनाउनु हो। विश्व जति अस्थिर हुँदै जान्छ, नेपालले त्यति नै संयमित हुनुपर्ने बेला हो। किनकि साना मुलुकहरू बन्दुकले होइन, एकताले बाँच्ने गर्छन्।

युद्ध आज आकाशबाट खस्दैनस समाजभित्र पलाउँछ। त्यसलाई रोक्ने जिम्मेवारी कुनै एक निकायको होइन, सम्पूर्ण नागरिकको हो। नेपाल सुरक्षित रहन चाहन्छ भने, सबैभन्दा पहिले आफ्नो समाजलाई द्वन्द्वको अभ्यासबाट मुक्त गर्नुपर्छ। यही आजको सबैभन्दा ठूलो राष्ट्रधर्म हो।