Advertisement Banner
Advertisement Banner

०९ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

लाशमा सास, स्वराजको आश

०७ मंगलबार , माघ २०८२२ दिन अगाडि

लाशमा सास, स्वराजको आश

कांग्रेस लाश र दासहरूको पार्टी होइन, यहाँ कोही ‘बा’ छैन भन्ने कांग्रेस  महामन्त्री गगन थापा पार्टी सभापति बनेका छन् । अब लाशमा सास भर्ने र दासलाई स्वतन्त्र पार्ने जिम्मेवारी गगनकै काँधमा आएको छ । कांग्रेसको महाधिवेशन नामले र कामले नै विशेष हुनपुग्यो । अब देउवा समूहलाई पनि एउटै समूहमा समावेश गर्ने गुरूत्तर दायित्व गगन थापाको हो । एक भएर चुनावमा जाने, भागबण्डाको परम्परा तोड्ने, योग्यताको कदर गर्ने र सुशासन दिनका लागि भ्रष्टाचारको भण्डाफोर गर्ने दायित्व पनि सभापति गगनकै हो । 
नेता बदलियो, नीति बदलिन्छ कि बदलिंदैन अग्नि परीक्षामा छन् सभापति र उपसभापति गगन थापा र विश्वप्रकाश । यतिबेला कांग्रेसभित्र मात्र होइन, कांग्रेसलाई आशाको नजर लगाइरहेकाहरूको प्रश्न छ– व्यक्ति फेरियो, व्यवहार फेरिएला ? कांग्रेसलाई जिवन्त पार्ने र जिउँदाको पार्टी बनाउलान् ? नयाँ नेतृत्वका सामु कांग्रेसलाई इतिहास, संघर्षका बिरासत, प्रजातन्त्रको बिडा उठाउन सक्ने संस्था बनाउनु छ । मूल जरो वीपीको सिद्धान्तलाई पार्टीमा स्थापित गराउनु छ । यही सफलतामा कांग्रेस प्रजातान्त्रिक बन्नेछ ।
कांग्रेस एक नभई पूर्वप्राप्त जनमत स्थिर हुँदैन, बढ्दैन । यसका लागि गुट छैन भन्ने सभापतिको कथन यथार्थ बन्नुपर्छ । कोही ‘बा’ छैन भन्ने मान्यता स्थापित गर्न, अविश्वास, भ्रष्टाचारको आरोप पखाल्नुपर्छ, दिशा देखाउन, अदूरदर्शीतालाई पूर्णविराम लगाउनु पर्छ । आन्तरिक प्रजातान्त्रिक अभ्यास मजबुत बनाउन र निर्णय क्षमतामा अभिवृद्धि गर्नुपर्छ । कांग्रेस जिउँदो भएपछि गन्धेझारझैं बढेको जनअसन्तुष्टि कम हुनसक्छ, यही सफलताले भदौ २३, २४ को जस्तो जेनजीबिद्रोहलाई रोक्नेछ । जेनजीका मागलाई संवोधन गर्नैपर्छ । बिद्रोह स्वीकार्नैपर्छ, सकार्नैपर्छ ।
राजनीति यथास्थितिमा चल्न सक्दैन भन्ने जेनजी हुंकार संवोधनमा कांग्रेसको नेतृत्वको सफलता आँकिनेछ । सत्तास्वार्थ पूरा गर्न कम्युनिष्टको धेरै पछि लाग्यो कांग्रेस । नीति, सिद्धान्त, नैतिकता भुल्यो कांग्रेसले । त्यसमा सचेत भएर गगन थापाले कांग्रेस हाँक्न सके भने परिवर्तनको आभास दिलाउन सक्नेछन् ।