Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

न्यायाधीश प्रधानन्यायाधीशजस्तै भए..

१३ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

रोशन कार्की- प्रधानन्यायाधीश सुशीला कार्कीले ठाडै कानुनव्यवसायीहरुमाथि हमला गरेर भनिन्– पैसाका लागि मरिहत्ते गर्ने? हुने नहुने जे पनि गर्ने? हो, कुनै मुद्दाको एउटै बहसका लागि बारका पूर्वअध्यक्ष रहेका एक व्यक्तिले १० लाखसम्म लिएको घटना चर्चामा आएकै हो। मुद्दाको ठेक्का लिने र पक्षमा फैसला गराइदिनेहरु पनि अदालत परिसरमा भेटिएका हुन्, भेटिन्छन्। जवानीमा परेको मुद्दाको तारेख खेप्दा खेप्दा जीवनको उत्तरार्द्धमा पुगेका कैयौं व्यक्तिहरु न्याय पाइन्छ भनेर अदालतको चउर चहारिरहेका दृश्य जो कसैले जुनसुकै दिन देख्न सकिन्छ। यी सबैको निष्कर्ष के हो भने अदालतमा स्वच्छता गुम्दै गएको छ, न्याय महगो भइरहेको छ, कानुन व्यवसायीले कानुनको मर्यादा उल्लंघन गरिरहेका छन्। अदालतमा भ्रष्टाचार झन झन बढेर गएको छ।

अदालतमा नेपालको झण्डा फरफराइरहेका छ, अदालत चलिरहेको छ, तर अदालत न्याय दिइरहेको छ कि अन्याय बाँडिरहेको छ। हाम्रो अनुरोध छ, प्रधानन्यायाधीश सुशीला कार्कीलाई। अदालतका विशेष विशेष मुद्दाहरुका बारेमा शक्तिशाली अनुगमन टोली बनाइयोस्, मुद्दाका विषयमा कानुन के भन्छ, नजीर के छन्, जनताको अपेक्षा कस्तो छ र न्यायाधीशले कस्तो फैसला सुनाए? यति कुराको विश्लेषण दैनिक हुने हो भने कानुनमाथि कुनै अधिवक्ता अथवा न्यायाधीशले खेलबाड गर्न सक्ने छैनन्। गलत फैसलाको न्यूनिकरण हुँदैजानेछ। हामी किन सम्मानीय प्रधानन्यायाधीशलाई यस्तो आग्रह गरिरहेका छौं भने आजसम्म न्यायमाथि खेलबाड नगर भन्ने कुनै न्यायाधीश भएकै थिएनन्। सबै सुधारका कुरा गर्ने र सुविधामा रमाएर रमाना लिने थिए।

ताजा कुरा के पनि छ भने प्रधानन्यायाधीशले कानुन व्यवसायीहरुमाथि पेशामा भन्दा राजनीतिमा बढी केन्द्रित रहेको आरोप पनि लगाइन्। यथार्थमा यो आरोपभन्दा पनि सत्य हो। कानुन व्यवसायीहरुले पेशामा भन्दा राजनीतिमा बढी केन्द्रित भएका कारण त्यसको असर फैसलामा पर्‍यो भनेर उनीहरुकै सामु भन्नु भनेको अदालतभित्र कतिसम्म बिकृति छ भन्ने संकेत पनि हो।

प्रधानन्यायाधीशले न्याय सम्पादनमा हुने कमजोरी सच्याउन अदालत तैयार छ, तर एक्लो प्रयासले न्याय सम्पादन सफल हुनसक्दैन भन्दै कानुन व्यवसायीहरुले अध्ययनमा ध्यान दिनुपर्ने बताइन्। यही मञ्चबाट सर्वोच्च वारका अध्यक्षले बरिष्ठ अधिवक्ताको उपाधिको आधार खोजे भने नेपाल बारका अध्यक्षले न्यायाधीशहरुलाई बिबादित नहुन आग्रह गरे। सबै न्यायाधीशले प्रधानन्यायाधीशको जस्तै चरित्र देखाउन सके अदालत सफा हुने थियो।