भारतीय राजदूत एकाएक हिमालपारीको जिल्ला मनाङ पुगेका छन्। यो जिल्लाका नार र फुलजस्ता गाविस चीनसँग सीमा जोडिएका छन् र ती गाउँहरुमा रहेका पुराना गुम्बाहरुमा भारतीय अािर्थक सहयोगले पुनर्निर्माण भइरहेका छन्। र, तिनै योजनाको अवलोकन गर्न भनेर भारतीय राजदूत त्यता पुगेका हुन्। कूटनीतिक मर्यादाअनुसार राजदूतले परराष्ट्रसँग सहयोग लिएर जानुपर्नेमा कुनै खबर नै नगरी भ्रमणमा हिडेका छन्।
यद्यपि गृहमन्त्री विमलेन्द्र निधिले जिल्लाका अधिकारीबर्ग, सुरक्षा निकायलाई सुरक्षा गर्न अह्राएका छन् र मनाङका सामाजिक कार्यकर्ता, राजनीतिक र कर्मचारीहरुले राजदूतको खातिरदारी गरेको खबर छ। स्थानीयवासीलाई समेत राजा आएजस्तो गरी राजदूतको जयजयकार गर्न लगाइएको घटना रोचक भनेर त्यसको चर्चा काठमाडोंसम्म आइसकेको छ।
भन्नलाई मौसम अनुकूल भए तिलिचो तालसमेत जाने राजदूतको योजना रहेको भनिए पनि यथार्थमा चीनसँग जोडिएका क्षेत्रमा दलाई लामाका अनुयायीहरुलाई सहयोग गर्ने, फ्रि तिब्बतका लागि वातावरण बनाउने र त्यस क्षेत्रमा रणनीतिक रुपमा भारतीय प्रभावक्षेत्रका रुपमा विकस गर्ने भारतको लक्ष्य रहेको स्रोतहरुले बताएका छन्। यसकारण राजदूतले पुनर्निर्माण हेर्ने भनेर दिल्लीले तोकेका अजयकुमारलाई समेत साथै लिएर गएका छन्।
भूकम्पपछि तत्काल भारतीय सहयोग मिसन काठमाडौं आएको थियो। त्यतिबेला भूकम्पपीडिततिर केही ध्यान दिएर ज्यादातर ध्यान नेपाल चीन सिमानातिर दिएको थियो। भारतको त्यस्तो आपत्तिपूर्ण कार्यको चीनले विरोधसमेत जनाएको स्मरणीय छ।
भारतले भित्री रुपमा गुम्बाहरुमा हतियार थुपारेको आरोप पनि लागेको छ। साथै पहाडका युवा र दलाई लामाका अनुचरहरुलाई विद्रोही तालिम दिएको, आर्थिक सहयोग गरेको भनिन्छ। यद्यपि भारतले त्यो स्वीकारेको छैन तथापि दलाई लामा भारतको धर्मशालामा ५७ वर्षदेखि बसिरहेका छन् र चीनविरुद्ध विद्रोह जगाईरहेका छन्। अहिलेसम्म चीनको केही लछारपाटो लगाउन नसकेका दलाई लामा अझै पनि पश्चिमा शक्तिका साथ लिएर तिब्बत स्वतन्त्र गराउन सकिन्छ कि भन्ने दाउमा लागेका छन्। तर चंख चीनले अव यसरी दक्षिण दक्षिण सहयोग योजना अगाडि सारेको छ कि कुनै पनि हालतमा तिब्बत चीनको अभिन्न अंगबाट अलग हुनसक्ने देखिदैन। पहाडसँग टाउको ठोक्नु र चीनसँग तिब्बत स्वतन्त्र गराउने सपना देख्नु उस्तै उस्तै हुनथालेको छ। चीनले पहिलेको तिब्बतमा अन्य क्षेत्रका जनतासँग सम्बन्ध मजबुत बनाइदिएको छ कि अव विकसित तिब्बत स्वतन्त्र हुने होइन, चीनको मुख्य अंगका रुपमा रहिरहनेछ।
सामरिक र आर्थिक मजबुतीका साथ अघि बढिसकेको चीनलाई प्रभावमा पार्न भारत अझै पनि दुस्साहस गरिरहेकै देखिन्छ। चीनकै क्षेत्रमा भारतीय प्रभाव पार्ने योजना बनाइरहेको छ। यथार्थ के पनि छ भने चीन नेपालमा स्पष्टै देखिने गरी पसिसकेको छ। भारतकै प्रभावमा रहेका मधेसीवीच चीन प्रशंसाको पात्र बनिसकेको छ। मधेस र चीनका जनतावीच नै सम्बन्ध स्थापित भइसकेका दृष्टान्तहरु पनि छन्। अव भारतीय राजदूतले हिमालपारीको जिल्ला पुगेर नेपालमा हस्तक्षेप गर्नसक्ला, चीनको होइन।


